२ असार २०८२, सोमवार

मुलुकमा राष्ट्रिय नेतृत्व गर्ने अभिभावकको खाँचो छ ः महामन्त्री शर्मा

२ असार २०८२, सोमवार
Image

झापा, २ असार । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुकमा राष्ट्रिय नेतृत्व गर्ने राम्रो अभिभावकको खाँचो भएको औंल्याउनुभएको छ ।

धुलाबारी खानेपानी उपभोक्ता समितिको थप नयाँ ओभरहेड टेंकी निर्माणको आज शिलान्यस कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले मुलुकमा सबै समस्याको समाधान गर्ने नेतृत्वको जरुरी भएको बताउनुभएको हो । 

उहाँले प्रत्येक चुनावले नयाँ सरकार बनाउने तर प्रधानमन्त्री चाहिँ पुरानै व्यक्ति हुने परिपाटीले नागरिकमा गुनासो र असन्तुष्टि बढिरहेको बताउनुभयो । “यो दल, ऊ दल, यो गुट र ऊ गुटको होइन सिंगो राष्ट्रको अभिभावकको जरुरी छ” उहाँले भन्नुभयो, “अब त्यसको हल हामी गर्छौं ।” महामन्त्री शर्माले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहालले २०८३ सालपछि अभिभावकीय भूमिका निर्वाह गर्ने गरी अवधारणा बनाउन आवश्यक रहेको बताउनुभयो । 

उहाँले स्वर्गीय टंकप्रसाद भट्टराईले दान दिनुभएको जग्गामा बन्न लागेको खानेपानीको टेंकीले मेचीनगर ९, १०, ११, १४ र वडा नं १५ का केही भागहरुमा समेत खानेपानी वितरण गर्न सहज हुने बताउनुभयो । झापा क्षेत्र नं. १ मा मात्रै करिब रु. एक अर्बको बजेटमा विभिन्न खानेपानीका योजनाहरु सञ्चालन भईरहेका उहाँको भनाई छ ।

मेचीनगर नगरपालिका–९ मा रु.१० करोड ४० लाख ९९ हजार ६४७ को लागतमा निर्माण हुने खानेपानी टेंकीको उहाँले शिलान्यस गर्नुभएको हो । दुई कठ्ठा १० धुर खानेपानी समितिले खरिद गरेको त्यति नै क्षेत्रफलको जग्गा भट्टराईले दान दिएपछि  पाँच कठ्ठा जमिनमा चार लाख ५० हजार लिटर पानी क्षमताको ओभरहेड टेंकी र सुरक्षा गार्डबस्ने घर सहितको संरचनाको निर्माण हुन लागेको छ । वि.संं. २०८४ मंसिर ११ गते सम्पन्न गरिसक्नु पर्नेगरी ठेक्का लागेको धुलाबारी खानेपानी उपभोक्ता समितिका अध्यक्ष धनकाजी खत्रीले बताउनुभयो । 

कार्यक्रममा प्रदेश सांसद गोपाल तामाङ, मेचीनगरका प्रमुख गोपालचन्द्र बुढाथोकी, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय झापाका प्रमुख विकास काफ्ले, जग्गा दाता स्वर्गीय टंक प्रसाद भट्टराईका बुवा पशुपति भट्टराईलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।