झापा, १९ साउन । फेसबुकको टिप्पणीबाट उपप्रमुख र वडाध्यक्षबीच सुरु भएको विवादले राजनीतिक तनाव बढिरहेका बेला विर्तामोडका नगरप्रमुख पवित्रा महतरा प्रसाई र उपप्रमुख नगेन्द्र संग्रौला काठमाडौ जानु भएको छ ।
नगरपालिकाको कार्यवाहक नगरप्रमुखको जिम्मेवारी भने वडाध्यक्ष अग्निप्रसाद पाण्डेलाई दिइएको छ ।
उपप्रमुख नगेन्द्र संग्रौलाले फेसबुकमा मानमर्दन हुनेगरी टिप्पणी गरेको भन्दै वडा नं. ८ का अध्यक्ष अजय कार्की सम्बद्ध दल राप्रपाले नगरपालिका कार्यालय अगाडि केही दिनयता दिनहुँ विरोध प्रदर्शन गरिरहेको छ ।
यस विषयमा नगरको एमाले एकातिर छ भने राप्रपा, रास्वपा र माओबादी केन्द्रले उपप्रमुख संग्रौलाविरुद्ध आन्दोलनको मोर्चाबन्दी कसेका छन् ।
विवाद साम्य हुने कुनै उपाय ननिस्किएको बेला नगरप्रमुख पवित्रा महतरा प्रसाई आज वडा नं. १ का वडाध्यक्ष पाण्डेलाई कार्यवाहक जिम्मेवारी दिएर काठमाडौं जानु भएको हो ।
‘कार्यक्रम कार्यान्वयन सम्बन्धी अभिमुखीकरण तालिममा सहभागी हुन’ नगरप्रमुख प्रसाई काठमाडौं जानु भएको जनाइएको छ । उहाँ फर्केर नआउँदासम्मका लागि पाण्डेले कार्यवाहक भएर नगरपालिका हाँक्नु हुनेछ ।
नगरको उपप्रमुख संग्रौलाले आफू काठमाडौंमै रहेको जानकारी आजै सामाजिक सञ्जालमार्फत दिनु भएको छ । उहाँले नगरबासीलाई कुनै अप्ठेरो परेमा आफुलाई जुनसुकै बेला सम्पर्क गर्न आह्वान गर्दै आफ्नो मोवाइल चौबीसै घण्टा खुल्ला रहने बताउनु भएको छ ।
‘म सडकको वार्षिक समीक्षा गोष्ठी कार्यक्रममा काठमाडौं आएको छु,’ फेसबुकमा संग्रौलाले लेख्नु भएको छ–‘नगरपालिकाभित्र कुनै इमर्जेन्सी काम परे मलाई सम्पर्क गर्नुहुन नगरबासीहरुमा हार्दिक अनुरोध छ ।’
दल भिड्दै, नेताहरु रमिते
फेसबुकको टिप्पणीले नगरपालिकाको दैनिकी बिथोलिने अवस्था आएपछि वार्ताबाट समस्याको समाधान खोज्नु पर्नेमा दलहरु भिड्ने र नेताहरु रमिते देखिएका छन् ।
उपप्रमुख संग्रौला सम्बद्ध दल नेकपा एमालेको विर्तामोड नगर कमिटिले हालै विज्ञप्ति निकालेर उपप्रमुखमाथि वडाध्यक्ष कार्कीको नेतृत्वमा हुलहुज्जत भएकोमा आपत्ति जनाएको थियो ।
अध्यक्ष सुवास भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा उपप्रमुख संग्रौलालाई समेत पदीय मर्यादामा बस्न र सामाजिक सञ्जालमा अनावश्यक टिकाटिप्पणी नगर्न आग्रह गरिएको थियो । फेसबुकमा कतिपय अमर्यादित टिप्पणी गर्ने संग्रौलाको गतिविधिलाई स्वयम् एमाले पंक्तिभित्रै पनि रुचाइएको छैन ।
विवादको अर्को पक्ष राप्रपा भने कार्यकर्ता उतारेर नगरपालिकामा दिनहुँ आन्दोलन गर्नमै रमाइरहेको छ । विवादलाई चर्काएर राजनीति गर्न चाहने मनसुवा राखेको राप्रपाले आफ्नो पार्टीका कार्यकर्ता एवम् वडाध्यक्ष कार्कीले नगरपालिकाभित्रै समूह लगेर उपप्रमुखमाथि हुलहुज्जत गरेको घटना अशोभनीय थियो भन्न सकेको छैन ।
विर्तामोडको फेसबुक प्रकरणलाई एउटा सहमतिको विन्दुमा टुंग्याउन सम्बद्ध दलका जिल्ला र केन्द्रीय नेताहरु समेत लागेको देखिदैन । राप्रपाका केन्द्रीय अध्यक्ष केही दिनयता झापामै हुुनुहुन्छ । उहाँले सहमति निकाल्न कुनै प्रयास गरेको पाइएको छैन ।
नगरपालिकाले उपप्रमुख र वडाध्यक्षबीच समझदारी बनाउन कार्यपालिकाको बैठक डाक्दा वडाध्यक्ष अनुपस्थित रहेको जनाएको छ । कार्यपालिका बैठकमै नजाने र सडकबाट समाधान खोज्ने वडाध्यक्ष कार्कीको कार्यशैलीमाथि पनि प्रश्न उठेको छ ।