२५ साउन २०८२, शनिवार

भद्रपुरमा सुरु भयो किताब विक्री अभियान, महावीरले गरे नगरप्रमुखको प्रशंसा

२४ साउन २०८२, शुक्रवार
Image

झापा, २३ साउन । वैज्ञानिक डा. महावीर पुन आत्मकथा (किताब) ‘महावीर पुन ः सम्झना, सपना र अविरल यात्रा’ विक्री अभियानको क्रममा आज भद्रपुर पुग्नु भएको छ ।

विर्तामोडमा १९ दिन किताब बेचेर उहाँ शुक्रवारदेखि भद्रपुर लाग्नु भएको हो । 

किताब विक्रीबाट आएको रकम उहाँले आविष्कार केन्द्र र वीरगञ्ज कृषि औजार कारखानामा खर्च गर्दै आउनु भएको छ ।

भद्रपुरको एयरपोर्ट होटलबाट उहाँले भद्रपुरको किताब यात्रा सुरु गर्नु भएको छ । दिउँसो उहाँलाई भद्रपुर नगरपालिकाले भब्य स्वागत र सम्मान गरेको छ ।

आजै उहाँ भद्रपुरको आठ स्थानमा किताब विक्री अभियानको क्रममा पुग्नुहुने भद्रपुरको अभियानमा सम्बद्ध प्रतिष्ठित व्यवसायी दिपेश ढकालले बताउनुभयो ।

भद्रपुर पुग्दै गर्दा वैज्ञानिक पुनले भद्रपुर नगरपालिकाको प्रशंसा गर्नु भएको छ । उहाँले फेसबुकमा लेख्नु भएको छ– ‘भद्रपुर नगरपालिका झापाको सूचना उर्दी हेर्नुहोस् । कोहि पालिका प्रमुख यस्ता सहयोगी छन् । कोहि कोहि पालिका प्रमुखहरु जिउँदै स्वर्गमा पुर्याई दिउँ जस्ता हाँडी घोप्टे पनि देखियो ।’

भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलद्वारा हस्ताक्षरित सूचनाको उहाँले प्रशंसा गर्नु भएको हो । सूचनामा नगरपालिकाद्वारा पुनको सम्मान र पुस्तक विक्रीका लागि आज आयोजित कार्यक्रममा उपस्थित भइदिन जनप्रतिनिधि, कर्मचारी, संघसंस्था र बुद्धिजीवीलाई आग्रह गरिएको थियो ।

उहाँको भद्रपुरमा आयोजित विक्रीको पहिलो कार्यक्रम भब्य रुपमा सम्पन्न भएको थियो । एयरपोर्ट होटलमा भएको कार्यक्रममा नगरप्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, वडाध्यक्ष मनोज सुब्बा, प्रतिष्ठित व्यवसायी दिपेश ढकाल, व्यवसायी टिकाराज ढकाल, पूर्व नगरप्रमुख जीवन कुमार श्रेष्ठ, अग्रज पत्रकार गोपाल गिरी लगायतको उपस्थिति रहेको थियो ।