झापा, ३० साउन । जंगली हात्तीको आक्रमणमा गम्भीर घाइते दमक नगरपालिका वडा नं. १ की ४७ वर्षीया सुनिता राईको आज उपचारको क्रममा मृत्यु भएको छ ।
दमकमा सामान्य होटल व्यवसाय सञ्चालन गर्दै आउनु भएकी सुनिता राईलाई साउन ११ गते विहान ‘मर्निङ वाक’मा हिँडेका बेला एउटा जंगली हात्तीले सुँढले बेरेर लछारपछार पारेको थियो । घाइते अवस्थामा उहाँको उद्धार गरिएको थियो ।
उपचारकै क्रममा १९ दिनपछि आज उहाँको विराटनगरको न्यूरो अस्पतालमा मृत्यु भएको प्रहरीेले जनाएको छ । हात्तीको आक्रममा परी उहाँको टाउको, हात, खुट्टा लगायत शरीरका विभिन्न अंगमा गम्भीर चोटपटक लागेको थियो ।
उहाँसँगै ‘मर्निङ वाक’मा हिँड्नु भएको उहाँकी बहिनी ४२ वर्षीया कविता राई समेत हात्तीको आक्रमणमा घाइते हुनु भएको थियो ।
झापामा ‘मर्निङ वाक’मा हिँडेको बेला, जंगलमा घाँस दाउरा खोज्न गउका बेला, जंगल छिचोल्ने सडकमा यात्रा गर्दा र जंगलमा निगुरो तथा च्याउ लिन जाँदा सर्वसाधारण व्यक्तिहरु जंगली हात्तीको आक्रमणमा पर्ने गरेका छन् ।
डिभिजन बन कार्यालय झापाका अनुसार आर्थिक वर्ष २०८१/८२ मा छ जना सर्वसाधारणको मृत्यु र सात जना घाइते भएको कार्यालयका प्रमुख भरतबावु श्रेष्ठले जानकारी दिनुभयो ।