झापा, ३० साउन । श्रीकृष्ण जन्माष्टमीको अवसरमा धुलावारीस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा शनिवार साँझ विगतमा झैं महाआरती उत्सव हुने भएको छ ।
श्री १०८ महाराज मंगलदास महाराजको प्रेरणाले वि.सं. २०२५ मा स्थापना भएको यस मन्दिरमा बिगत दुई दशकदेखि जन्माष्टमी पर्वमा महाआरती उत्सव हुँदै आएको मन्दिरका अध्यक्ष जीवन सापकोटाले बताउनुभयो ।
साँझ ५ः३० बजे हुने आरती ७ बजे समापन हुने र उक्त अवसरमा मेचीनगर, भद्रपुर, विर्तामोड र अर्जुनधाराका नगरप्रमुखहरु मुख्यकर्ता रहने मन्दिरका सचिव गोकुल खड्काले जानकारी दिनुभयो ।
ठूलो संख्यामा भक्तजनको सहभागिता रहने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको र कालिम्पोङस्थित मंगलधामबाट समेत कार्यक्रममा सहभागी हुन गुरुजी लीलाराज सागर आइसक्नु भएको खड्काले बताउनुभयो ।
झापामा श्रीकृष्ण प्रणामी मन्दिरहरु थुप्रै भए तापनि धुलाबारीको महाआरती विशेष आकर्षण बन्दै आएको छ । यस अवसरमा हिन्दू, बौद्ध, मुस्लिम र क्रिश्चियन धर्मका गुरुहरु समेत आउने गर्नुहुन्छ ।
‘श्रीकृष्ण प्रणामी धार्मिक समुदायको प्रवत्र्तक मानिनु हुने महामति प्राणनाथले सर्वधर्म समभावको सन्देश दिने गर्नु हुन्थ्यो,’ खड्काले भन्नुभयो–‘त्यहीकारण हामीले पनि मन्दिरको धार्मिक उत्सवहरुम सबै धर्मका महानुभावहरुलाई हार्दिक स्वागत गर्दै आएका हौं ।’
सो अवसरमा डढिया, संगीनी र अन्य सांस्कृतिक नाच प्रस्तुत गरिने बताइएको छ । आइतवार मन्दिरमा नन्दी उत्सव धुमधामका साथ मनाइने भएको छ ।