२ भदौ २०८२, सोमवार

तीजको अवसरमा वान नेपालले गर्यो आमाहरुलाई सम्मान

१ भदौ २०८२, आइतवार
Image

धुलाबारी, १ भदौ । महिला चेतना सञ्जाल (वान नेपाल)ले हरितालिका तीजको अवसर पारेर आइतबार मेचीनगरका ११ जना ज्येष्ठ आमाहरुलाई सम्मान गरेको छ । 

आमाहरु नै साक्षत्त भगवान र प्रेरणाका स्रोत रहेको भन्दै वान नेपालले उहाँहरुलाई दोसला र अविरले सम्मान गरेको छ । 


कार्यक्रममा सीतामाया श्रेष्ठ , चन्द्रकुमारी लोहार, विष्णुमाया तिम्सिना, सोमकुमारी भण्डारी, उमादेवी निरौला, भागिरथा तिम्सिना, उमादेवी नेपाल, पविमाया निरौला, दुर्गादेवी पौडेल,  देवीमाया थापा, नरमाया श्रेष्ठ, छत्रकुमारी ढुङ्गगेल र मेनुका निरौलालाई प्रमुख अतिथि मेचीनगर नगरपालिकाकी उपप्रमुख मिना उप्रेतीले सम्मान गर्नुभएको हो । 

संस्थाकी अध्यक्ष खड्गकुमारी तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि उप्रेतीले विगतमा भन्दा तीज मनाउने तौर तरिकामा फरक आइरहेको बताउनुभयो । उहाँले हाम्रो मौलिक संस्कृतिलाई सुरक्षित गर्दै आगामी पुस्तामा हस्तान्तरण गर्नु नै यो पर्वको सन्देश रहेको बताउनुभयो । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेश समिति उपाध्यक्ष अम्बिका भण्डारीले तीज पर्व धार्मिक पर्व मात्र नभई पारिवारिक, सामाजिक, सांस्कृतिक  र आत्मसमानसँग प्रत्यक्ष जोडिएको चाड भएको बताउनुभयो । 

सचिव एलिशा बुढाथोकीले सञ्चालन गरेको कार्यक्रमको औचित्यमाथि कोषाध्यक्ष शान्तादेवि पौडेलले प्रकाश पार्नुभएको थियो । कार्यक्रममा सम्मानित आमाहरुसँगै उपस्थिति मेचीनगर क्षेत्रका दिदीबहिनीहरुले संगीनिसँगै तीजको गीतमा छमछम नाच्नु भएको थियो ।

कार्यक्रममा प्राज्ञ सदस्य सुभद्रा भट्टराई, सामुदायिक वन महासंघ मेचीनगरकी अध्यक्ष जानुका ओली, सञ्जीवनी महिला विकास संस्थाकी अध्यक्ष रेणुका डाँगी, मेचीनगरकी शिक्षा अधिकृतलगायत विभिन्न संघसंस्थाका महिलाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थिति सम्पूर्णलाई वान नेपालले तीजको दर समेत खुवाएको छ ।