झापा, १ भदौ । पर्यावरण संरक्षण र फलफूलमा परनिर्भरता घटाउने उद्देश्यले ननेपाल कम्यूनिष्ट पार्टी एमाले झापाले प्रत्येक सदस्यको घरमा अनिवार्य फलफूलको विरुवा रोपण गर्ने अभियान सञ्चालन गरेको छ ।
एमालेले जिल्लाका १५ वटै पालिकामा विरुवाको व्यवस्थापन गरेर सदस्यहरुलाई विरुवा रोपण कार्यमा सरिक गराइरहेको पार्टीका जिल्ला सचिव तुलसी कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “हरेक सदस्यलाई पार्टीले नै विरुवाको व्यवस्था गरेर आफ्ना खाली जमिनमा फलफूलको विरुवा लगाउन अभिप्रेरित गरिरहेका छौं ।”
उहाँले फलफूलको परनिर्भरता घटाउन समेत मद्दत पुग्ने हुँदा पार्टीले विभिन्न संघसंस्था र डिभिजन वन कार्यालयसँग विरुवा अनुदानमा लिएर सदस्यलाई वितरण गरिरहेको बताउनुभयो । जिल्लामा करिब ५० हजार पार्टीका सदस्यको घरमा विरुवा रोप्ने लक्ष्य रहेको उहाँको भनाई छ ।
चालु आर्थिक बर्षको साउनदेखि असोजसम्ममा करिब एक लाख विरुवा रोप्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो । “अहिले गाउँदेखि शहरसम्म पार्टीले लिची, आँप, कागती, जामुनलगायतका फल्ने विरुवा रोपिरहेको छ ।
निजी बन हुर्काउन चाहनेहरु, वृक्षारोपण अभियान सञ्चालन गर्ने सामाजिक संघसंस्थाहरु र राजनीतिक दलहरुले कार्यालयमा निवेदन दिएर विरुवा माग गर्दै आएको र आवश्यकता पहिचान गरेर विरुवा उपलब्ध गराउँदै आएको डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु खड्काले बताउनुभयो ।
आगामी तीन वर्षमा वडाका हरेक घर अगाडि र सडक किनारमा छाँयादार, हरियाली र फल फल्ने विरुवा हुर्काउने समेत पार्टीको कार्यक्रम रहेको उहाँको भनाई छ ।
यसैगरी, राष्ट्रिय युवा संघ नेपालले ‘संरक्षण प्रकृतिको, सुरक्षा सन्ततिको’ भन्ने मूल नारासहित चालु आर्थिक बर्षको एक महिने बृक्षारोपण अभियान सञ्चालन गरिरहेको छ । संघका केन्द्रीय सदस्य तथा झापा इञ्चार्ज खगेन्द्र आङ्दम्बेले पार्क, सामुदायिक वन र सडक किनारमा विरुवा रोप्ने काम गरिरहेको जानकारी दिनुभयो । “ठाउँ र आवश्यकता अनुसार भिन्नाभिन्नै प्रजातिका विरुवा रोपेका छौं,” उहाँले भन्नुभयो– “हात्ती र बाँदर लगायतका बन्यजन्तुको आश्रयस्थल रहेको सामुदायिक बनहरुमा उनीहरुका लागि आहार हुने फलफूलका विरुवा रोपण गरेका छौं ।”
गत बर्ष युवा संघले जिल्लाका विभिन्न स्थानमा ३० हजार विरुवा रोप्ने रोपेको थियो । गत बर्ष सहिद नेत्र पार्कमा एक हजार ६०० सुपारीका विरुवा, सुखानी सहिद पार्कमा विभिन्न प्रजातिका फूलका विरुवाहरु र खोला किनारमा रुख प्रजातिका विरुवा रोपेको उहाँले जानकारी दिनुभयो ।
नेपाल कम्यूनिष्ट पार्टी (माओवादी)ले समेत गत बर्ष अभियान नै सञ्चालन गरेर जिल्लामा ५० हजार विभिन्न प्रजातिका विरुवा रोपेको छ ।