झापा, ३ भदौ । मेचीनगर नगरपालिका वडा नं. ५ का २२ वर्षीय सन्दिप राजबंशीको घरमै करेन्ट लागेर मृत्यु भएको छ ।
बिग्रिएको टेबल पंखा मर्मत गर्ने क्रममा सोमवार साँझ अचानक करेन्ट लागेर अचेत भएका राजबंशीलाई उपचारका लागि मेची आम्दा अस्पताल धुलाबारीमा पुर्याइएको थियो । उपचारकै क्रममा राति उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।
झापाको ग्रामीण क्षेत्रमा विद्युतको असुरक्षित प्रयोगका कारण करेन्ट लागेर हुने मृत्युको घटना बढेको छ । जिल्लामा साउन महिनामा करेन्ट लागेर पाँच जनाले ज्यान गुमाएका थिए ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार गत चार महिनामा झापामा करेन्ट लागेर दश जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेहरु अधिकांश विद्युत सम्बन्धी पर्याप्त प्राविधिक ज्ञानको अभाव भएका ग्रामीण क्षेत्रका बासिन्दाहरु छन् ।
करेन्ट लागेर हुने अधिकांश मृत्युको घटना मोटरबाट पानी तान्ने, खोलामा करेन्ट लगाएर माछा मार्ने र कुटी काट्ने क्रममा भएको पाइएको खड्काले बताउनुभयो ।
अधिकांश मानिसमा विद्युतीय मोटर कसरी चलाउने भन्ने राम्रो ज्ञान छैन । अपूर्ण ज्ञान र सतर्कताको कमीका कारण करेन्ट लागेर मानिसहरुले अकालमै मृत्युवरण गरिरहेका छन् । प्रहरीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा झापामा करेन्ट लागेर १५ जनाको ज्यान गएको छ ।