झापा, १० भदौ । जिल्लामा नागरिकता प्रमाण पत्र भन्दा राहदानी प्रमाण पत्र लिनेको संख्या धेरै छ । जिल्ला प्रशासन कार्यालयसहित दमक र गौरीगञ्जको इलाका प्रशासन कार्यालयबाट नागरिकता र राहदानी वितरण हुँदै आएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार साउन महिनामा झापामा एक हजार २८९ जनालाई नेपाली नागरिकता प्रमाण पत्र वितरण गरिएको छ । जबकि सोही महिनामा दुई हजार ३३३ जनालाई राहदानी प्रमाण पत्र वितरण भएको छ ।
नागरिकतामध्ये बंशजको आधारमा लिनेहरु एक हजार २३० जना छन् भने वैवाहिक अंगिकृत ५५ जनाले र गैरआवासीय नागरिकता चार जनाले लिएको निरौलाले बताउनुभयो ।
गत एक वर्षको तथ्यांकले समेत नागरिकताको तुलनामा राहदानी लिनेहरु झापामा धेरै रहेको देखाउँछ । आर्थिक वर्ष २०८१/८२ मा झापामा २२ हजार ७७७ जनालाई नागरिकता प्रमाण पत्र वितरण गरिएको थियो ।
सोही आवमा झापाबाट राहदानी प्रमाणपत्र लिनेको संख्या ३३ हजार २२४ पुगेको सहायक प्रजिअ निरौलाले जानकारी दिनुभयो । गत वर्ष नागरिकताको तुलनामा राहदानी लिनेहरु १० हजार ४४७ ले बढी थिए ।
उक्त आवमा बंशजको आधारमा २२ हजार ४० जनाले, वैवाहिक अंगिकृतको आधारमा ६७५ जनाले र गैरआवासीयको आधारमा ६२ जनाले नेपाली नागरिकता प्रमाणपत्र लिएको पाइएको छ ।
नागरिकता र राहदानीको तुलनामा राष्ट्रिय परिचय पत्रको कार्ड लिनेहरु अझ धेरै छन् । साउन महिनामा झापामा पाँच हजार ७६७ जनालाई राष्ट्रिय परिचय पत्रको कार्ड वितरण गरिएको छ ।
साउन मसान्तसम्म झापामा तीन लाख ६० हजार ७७२ जनाले राष्ट्रिय परिचय पत्रको कार्ड लिइसकेको सहायक प्रजिअ निरौलाले जानकारी दिनुभयो ।