झापा, ११ भदौ । कोशी प्रदेश सरकारले कडा रोगका विरामीलाई रु. आठ करोड ८५ लाख आर्थिक सहायता वितरण गरेको जनाएको छ ।
कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. केनिन राईका अनुसार आर्थिक बर्ष २०८१÷८२ मा सहायताका लागि एक हजार ७१५ जना विरामीले मन्त्रालयबाट सहायता रकम प्राप्त गरेका हुन् ।
क्यान्सर, मृगौला, स्पाईनल इन्जुरी, हेड इन्जुरी र सिकलसेन एनिमिया लगायतका विरामीले अघिल्लो आर्थिक बर्ष २०८०÷८१ मा दिएका निवेदनका आधारमा रु. ५० हजार र रु. एक लाखका दरले आर्थिक सहायता वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।
उहाँले क्यान्सर, मृगौला, स्पाइनल इन्जुरी, हेड इन्जुरीका एक हजार ६६० विरामीलाई रु. ५० हजारका दरले र मृगौला ट्रान्सप्लान्टका ५५ विरामीलाई रु. एक लाखका दरले सहायता रकम वितरण गरिएको बताउनुभयो ।
चालू आर्थिक बर्ष २०८२÷८३ मा सरकारले आर्थिक सहायताका लागि बजेट विनियोजन नगरेको उहाँले बताउनुभयो । “यो आर्थिक बर्षमा यस्तो सेवा मन्त्रालयले राखेको छैन,” सूचना अधिकारी राईले भन्नुभयो, “आर्थिक रुपमा भार धेरै भयो । कडा रोग लागेका विरामीलाई निःशुल्क स्वास्थ्य विमा गरिदिने र बिमा गरिसकेकाहरुको नविकरण गरिदिने कार्यविधि बनेको छ । जिल्लाहरुबाट तथ्यांक संकलन गरिरहेका छौं । चाँडै सूचना जारी गरेर काम थाल्नेछौं ।”
विगतको कार्यविधिमा मृर्गौला प्रत्यारोपण गर्नेलाई रु. दुई लाख र अन्य कडा खालका रोग लागेकाहरुलाई रु. एक लाखका दरले सहायता उपलब्ध गराउने प्रावधान थियो । तर माग धेरै र बजेट अभाव भएपछि सरकारले गत बर्ष आधा मात्रै बाँड्ने निर्णय गरेको थियो ।
उहाँले वि.सं. २०८० चैतबाट मन्त्रालयले निवेदन लिने काम बन्द गरिसकेको जानकारी दिनुभयो । प्रदेशमा कडा रोग लागेका विरामीलाई पहिलोपल्ट आव २०७९÷०८० बाट आर्थिक सहायता वितरण सुरु गरिएको थियो ।