जेनजी आन्दोलनको क्रममा राजनीतिक दलका अरु नेताहरुको जस्तै प्रदेश सांसद् गोपाल तामाङको मेचीनगर–६ स्थित निजी निवासमा आगजनी भएको छ । एकसरो लगाएको लुगा बाहेक अरु सबै सामान त्यही घरमा जलेर खरानी भएपछि उहाँ विस्थापित भएर सुरक्षित स्थानमा बस्न विवश हुनु भएको छ । घर किन जलाइयो भन्ने विषयमा उहाँले फेसबुकमा आज जेनजीहरुलाई कडा प्रतिप्रश्नसहित आफ्नो सामाजिक जीवनको संक्षेपमा इतिहास सार्वजनिक गर्नु भएको छ । पढौं जस्ताको तस्तै–
ताप्लेजुङको सिदिङ्वास्थित थाम डाँडाबाट म यी पंक्तिहरु लेख्दै छु । भदौ २३ गते भएको दुःखद् घटना र अहिलेको मुलुकको अवस्थाप्रति दुःख ब्यक्त गर्दछु । यसै क्रममा मेरो घर पनि जलेको छ, हुन त सारा देशको यत्रो पीडाको अगाडि मेरो यो सानो घरले खासै अर्थ नराख्न सक्छ तर पनि मेरो मनमा भने एउटा प्रश्नले घर गरिरहेको छ कि भ्रष्टाचारको विरुद्धमा उठेको यत्रो ठूलो नयाँ पुस्ताको आन्दोलनले कसरी मेरो घरलाई छुन पुग्यो । के म तिम्रा लागि साँच्चै भ्रष्टाचारी हुँ त ? यिनै मेरो मनको भावहरुलाई शान्त पार्न म यो डाँडाबाट मेरो अतीतलाई खोतल्न जाँदैछु ।
२०४६ सालको जनआन्दोलन ताका १६ बर्षको थिएँ । त्यो उमेरमा बजारका सिनियर दाइहरुको संगतले गर्दा होला सायद पञ्चहरुको पेट्रोलिङ टिममा छिरेर पंचायत बिरोधी पर्चाहरु भित्तामा टाँस्दै र छर्दै हिंड्ने गरेको आज पनि ताजै छ । त्यस लगतै २०४७ सालमा मेची क्याम्पसको पढाइ सुरु गरिसके पछि बजारका आफ्नो उमेर समूहको सयौ युवाहरुलाई संगठित गर्दै संगम युवा क्लबको अध्यक्षको रुपमा नेतृत्व गर्दै आजको संगम चोकको नाम राख्नेदेखि ठूल्ठूला दुर्गा पुजाको आयोजनाको माध्यमबाट युवाहरुलाई सिंगो समाजसँग जोडेर क्षमता अभिबृद्धिसंगै जिम्मेवार नागरिकको बाटो तय गर्ने अभियानलाई हाँक्दै गर्दा त्यो बेलाको काँकरभिट्टा कत्तिलाई सम्झना होला, डाँडोको त्यो दिशाजन्य फोहोर जसको दुर्गन्धले बस यात्रीहरुको निँद खुल्थ्यो । क्लबका साथीहरुको साथ लिएर मनिषा मेडिकलको बाटो, हुलाकको बाटोहरुको रेखांकनका साथै त्यो फोहोर हटाउन हामीलाई महिनौ दिन लागेको थियो । त्यही भएर सायद कहिले काँहि सम्झँदा आज पनि यी औँलाहरुका नङको चेपबाट त्यहि दुर्गन्ध आइरहेको जस्तो भान हुने गर्छ ।
पचासको त्यो दशकको मध्यतिर आई नपुग्दै सरकारको प्रतिनिधित्व गर्दै बस्ति बिकास कम्पनि हाम्रो बसोबासलाई ब्यबस्थित गर्ने नाममा काँकरभिट्टा भित्रियो । त्यो कम्पनिले यस क्षेत्रका सबै जस्तो सार्बजनिक क्षेत्रहरु बसपार्क, देबकोटा पार्क, मिनी मार्केट, खेल मैदान जस्ता महत्वका ठाउँहरु सबै बिक्री गर्न प्लटिङ गरेर सूचना निकाल्यो । त्यसपछि बसपार्क, देवकोटा पार्क तथा सार्वजनिक क्षेत्र बचाउ समिति तुरुन्त गठन गरेर ठाकुर शिवाकोटी अध्यक्ष र आफु सचिवमा बसेर बजारका साथीहरुको पूर्ण सहयोगमा तत्कालीन सरकारको बिरुद्ध संघर्ष गरेर ती ठाउँहरु बचाउन नेतृत्वदायी भूमिका खेलेको मान्छे हुँ म । त्यति मात्र हैन त्यो समयमा मेरो बुवाआमाले एउटा पाल टाँगेर चिया पसल मार्फत हाम्रो परिवारको गुजारा चलाइरहेको अवस्थामा मलाई बस्ति बिकास कम्पनीले दिएको ४ वटा भिट्टा जुन देवकोटा पार्क र बस पार्कमा थियो, वास्तबमा त्यो सम्पतिले मेरो परिवारको लागि ठूलो महत्व राख्दथ्यो । जसको आजको मूल्य करोडौँको छ त्यस्तो सम्पतिलाई नकारेर बिना लालच संघर्ष गरेको मान्छे हुँ म । आज तिम्रो पुस्ताले सेल्फि खिचेर इन्स्टा र टिकटिकमा राख्ने त्यही देवकोटा पार्क हो । तिम्रा बुवाआमा र तिमी भल्बो बस चढ्छौ नि, त्यो बसपार्क त्यही काँकरभिट्टा बसपार्क हो । आज क्रिकेट र फुटबलमा सयौ खेलाडी उत्पादन गर्नेदेखि कहिले काँहि तिम्रो पुस्ताले नाचगान गर्ने खेल मैदान त्यही काँकरभिट्टा खेलमैदान हो । जहाँ मेरो पुस्ताको रगत पसिना परेको छ ।
२०५७÷५८ बाट लामो समय नाइट चेस क्लबको अध्यक्षको रुपमा नेतृत्व गर्ने अवसर जुर्यो र जसको माध्यमबाट चेस, फुटबल, क्रिकेट जस्ता खेललाई माथि उकास्न प्रतियोगिताहरुमा सहभागिता मात्र नभै अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरुको आयोजना समेत गरी क्लबलाई स्थापित गराउँदै आजसम्म आइपुग्दा साँच्चै भन्ने हो भने काँकरभिट्टाबाट अन्तर्राष्ट्रिय रुपमा जति पनि उत्पादित खेलाडीहरु छन्, वास्तबमा त्यही बेलाको धरातलमा उभिएको छ भन्ने लाग्छ । यसको अलावा एचआइभी न्यूनीकरण र लागू पदार्थ प्रयोगको बिरुद्धमा काँकरभिट्टा मात्र नभई पूर्वाञ्चलको आठ ओटा जिल्लामा अभियान संचालन गरेर हजारौंलाई उद्दार गर्नुका साथै सयौको रोजगारीको अवसर सृजना गर्दै गर्दा करोडौँ रुपैयाँ अनुदान स्वरुप आइएनजीओहरुबाट आउँदा एक रुपैयाँ भत्ता समेत नलिई आफ्नै कमाइको लाखौँ खर्च गरेर त्यो संस्थाको नेतृत्व गरेको मान्छे हुँ म ।
साठीको दशकको प्रारम्भ मै पार्टीले काँकरभिट्टा खानेपानी संस्थाको नेतृत्व गर्ने मौका दियो । करिब ८ बर्ष अध्यक्षको रुपमा जनताको सेवा गर्ने क्रममा कार्य समितिका साथीहरु कर्मचारी लगायत सबै राजनीतिक दलहरुको साथ लिएर जम्मा ७०० घर धुरीलाई बनेको आयोजनालाई ६२०० घरधुरीसम्म २४ सै घन्टा शुद्ध खानेपानी पुर्याउने गरी क्षमता अभिबृद्धि गर्न सफल भइयो । सो अवधिमा करिब ४० करोडको आयोजना शुरु गर्न संस्थालाई १ करोड ७५ लाखको खाँचो थियो । तर संस्थासँग करिब ४० लाख मात्र थियो । बाँकी रहेको रकम अरु संस्था र केहि ब्यक्तिहरु जस्तै श्रीप्रसाद मैनाली, रामचन्द्र उप्रेती लगायत र आफुले घरबाट ३० औँ लाख रुपैयाँ सापटी स्वरुप लगानी गरेर कर्मचारीहरुसंगै पाइप बोक्दै रातको २ बजे पनि बेपर्वाहा कुनै पानी झरी नभनी अवरोधहरुलाई छिचोल्दै बिना बिबाद १८ महिनाको १८ महिनामै आयोजना पूरा गर्न सफल भएको मान्छे हुँ म । आज मलाई गर्व छ, आधा मेचीनगरको तिम्रो पुस्ताले त्यही पानी पिउनुका साथै त्यही खानेपानीको हलमा बिवाह रचाएका होलाउ, त्यहाँ पनि मेरो पुस्ताको पसिना परेको छ । फेरि पनि भन्छु यत्रो आयोजना सम्पन्न गर्दा होस् या आफ्नो कार्यकालभरि जिम्मेवारी निर्वाह गर्दा एक रुपैयाँ पनि सेवा सुबिधा नलिई आफ्नै घरको खर्च गरेर हिँडेको मान्छे हुँ म । साथै दशकको अन्त्यतिर काँकरभिट्टा सामुदायिक भवन निर्माणको क्रममा सम्पूर्ण साथीहरु र अग्रजहरुको सल्लाहमा श्रीप्रसाद मैनाली अध्यक्ष र म आफु सचिबको जिम्मेवारी लिँदै अघि बढेको भवन निर्माण कार्य बिमल अचार्य, बिजय डालमिया, डिल्लि घिमिरे, शुभद्रा अर्याल, दिपक पोख्रेल, ललित तामाङ, प्रितम काफ्ले लगायत अरु धेरै साथीहरुको साथ सहयोगमा निर्माण सम्पन्न हुँदै गर्दा अन्तिम अध्यक्षको जिम्मेवारी सम्हाल्न पुगे । मेचीनगरले सहयोग गरेको त्यो भवन निर्माणमा हाम्रो पुस्ताको लाखौँ रुपैयाँ परेको छ मेरो परिवारको गाँस परेको छ । त्यसैले फेरि भन्छु तिमीले साँगीतिक कार्यक्रम गरेर नाच्छौ नि, त्यो त्यही काँकरभिट्टा सामुदायिक भवन हो जसमा मेरो पुस्ताको पसिना परेको छ । संगसंगै रोटरी क्लब अफ काँकरभिट्टाको सन्दर्भमा स्वर्गीय अरुण दाइको असामयिक निधन पश्चात क्लबको नेतृत्व गर्नु पर्ने बाध्यात्मक अवस्था सृजना भयो । क्लबको बिधान भन्दा माथि उठेर साँढे दुई बर्ष अध्यक्षको रुपमा काम गर्ने क्रममा संस्था स्थापित गर्ने मुख्य जिम्मेवारीदेखि पोलियो उन्मूलन कार्यमा सहभागिता, सामुदायिक स्कुलहरुमा खानेपानीको ब्यबस्था, गरिब तथा जेहेन्दार बिध्यार्थीहरुलाई छात्रबृत्ति, दाहसंस्कार स्थल निर्माण जस्तो महत्वपूर्ण कार्यहरुमा सम्पूर्ण रोटेरियन साथीहरुको सहयोगमा आफ्नो घरको पैसा लगाएर नेतृत्व गर्दै योगदान गरेको मान्छे हुँ म । सायद तिमीले खाएको पोलियोका थोपाहरुमा मेरो बच्चाहरुको गाँस र मेरो पुस्ताको पसिना परेको छ ।
सत्तरीकोे दशकको सुरुमै नेपाली कांग्रेस पार्टीको भ्रातृ संगठन नेपाल तरुण दल झपाको अध्यक्ष भएर काम गर्ने मौका जुर्यो । हामी बिध्वंसमा होइन सृजना र रचनामा विश्वास राख्छौँ सायद तै भएर होला आफ्ना साथीहरुको सहयोग लिएर त्यो महाभुूकम्पमा झापाकै प्रतिनिधित्व गर्दै काभ्रेमा गएर लाखौँको राहत समाग्रीसहित ५१ वटा अस्थायी घर निर्माण गर्न सफल भयौं । त्यसपछि झन् महामारी कै रुपमा कोभिड आयो त्यस्तो भयावहको अवस्थामा पनि ज्यानको बाजी थापेर काँकरभिट्टा सोसाइटीको नामबाट साथीहरु दिलिप सुबेदी, डाक्टर किसोर, सुशिल आचार्य, सुभद्रा अर्याल, दिपक पोख्रेल, मेडिकल फिल्डका स्थानीय भाइ बहिनीहरु लगायत धेरै साथीहरुको सहयोगमा ५०० भन्दा बढि परिवारलाई उपचार गर्नुका साथै सिमानामा थुनिएकाहरु करिब २० हजारलाई खाना खुवाउँदै गर्दा नेतृत्वदायी भूमिका गरेको मान्छे हुँ म ।
हाल आएर जनताबाट निर्वाचित प्रदेश सभा सदस्यको रुपमा कार्यरत छु । जनताको चाहनालाई आफ्नो जिम्मेवारी ठानेर लड्ने मान्छे हुँ म । यो २ बर्ष ७ महिनाको अवधिमा एउटा प्रमुख सचेतकको हैसियतले कानुन बनाउनेदेखि लिएर जनताको आवाज सदनमा बोलेको छु । त्यति मात्र होइन चुनावमा जनता सामु आफुले खाएको कसम पूरा गर्ने कोसिस गरेको छु । जस्तै सेङ्लेटार दुधे खोलामा करिब ५ करोडको ठेक्का निक्लिएको थियो, मगर डाँडा हँुदै मेजसबाट गाडागल्ली निस्किने बाटो १ करोड सहित बहुबर्षे योजनामा जाँदैथ्यो । मेचेडाँगी र बेलबोटको पिच बनिसकेको थियो । यस्ता धेरै बाटोघाटो, पुलपुलेसा, खानेपानी, स्कुल, क्याम्पस, मठमन्दिर, गुम्बा, थानहरुमा काम हुँदैथ्यो । तर अफ्सोश अब के हुन्छ भन्न सकिन्न अहिलेको तवाहीले सबै तहको अभिलेख खरानी बनाएको छ । अझ भनुम् तिमीले मेरो घर आगोले झोस्दै गर्दा तिम्बुङ पोखरी ट्रेल रनको प्रमुख अतिथिको रुपमा कुनै सरकारी सुबिधा नलिई आफ्नै खर्चमा ४३४० मिटरको उचाईमा पैदल हिँड्दै थिएँ र त्यहाँका स्थानीय सरोकारवालासँग तिम्बुङको पर्यटन बिकासको पक्षमा कुरा गर्दै थिए । अब भन जेनजी, के म तिम्रो अपराधी थिएँ ?
२०५६ सालमा स्वर्गबास हुनु भएको मेरो बुवाको एउटै मात्र रहेको फोटो तिमीले जलाएका छौ । मेरो आमाले जीवनभर दश नँग्रा खियाएर मेरो सन्तानको लागि जोडेको चिनोरुपि ती काँच र तामाको भाँडाहरु तिमीले लुटेका छौ । यसको हिसाब राखुँ कि नराखुँ जेन्जी ? दार्जीलिङको नर्थ पोइन्ट स्कुलमा पढ्दै गरेको छोरो जो आफ्नै देशमा पढ्छु र नेपालमै केहि गर्छु भनेर बनाइरहेको त्यो बाल मनमा प्रहार मात्र गरेनौ ? उसले पढ्दै गरेको किताबहरु पनि तिमीले जलाएका छौं । यी सब आफ्नै आँखाले देखेर रोएको छोरोको आँशुको हिसाब राखुँ कि नराखुँ जेन्जी ? आफ्नै हातले सजाएको सपनाको त्यो घर आँखा अगाडि खरानी हुँदा भक्कानिदै रोएको मेरो श्रीमतीको एक एक आँशुको हिसाब राखुँ कि नराखुँ जेनजी ?
अन्त्यमा जेन्जी आन्दोलनको बहानामा जजसले फाइदा उठाउँदै मेरो देशलाई सोमालिया बनाउन उद्दत भएर लोकतन्त्र माथि धावा बोल्दै छन्, ती सबैसँग लड्न तयार छु । फेरि पनि भन्छु एउटा घर त के ? मेरो मरेको आमाको कसम, हिजो ०६२÷६३ मा पनि मेरो पुस्ताको नेतृत्व गरेर लडेको मान्छे हुँ, सारा सम्पति सकियोस् एक्लै हुँ मरुँ, अन्तिम सास रहुन्जेलसम्म लडिरहने छु । जय नेपाल ।