झापा, २ असोज । मेचीनगर नगरपालिकाले आइतवारदेखि अत्यावश्यक सेवा सञ्चालन गर्ने तयारी गरिरहेको छ ।
नगरकी उपप्रमुख मीना उप्रेतीको सचिवालयले आज फेसबुकमार्फत उक्त जानकारी दिएको हो ।
नगरप्रमुख गोपाल बुढाथोकी र प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीसहित आज वडा नं. १ देखि ८ सम्मका कार्यालयहरुको क्षति निरीक्षण गरेपछि उपप्रमुख उप्रेतीको सचिवालयले उक्त जानकारी दिएको हो ।
सचिवालयले भनेको छ– ‘आइतवारदेखि अत्यावश्यक सेवा दिने तयारीका साथ निरीक्षण गरिएको हो ।’
बुधवार नगरपालिकाको मुख्य प्रशासनिक कार्यालयको निरीक्षण गरिएको थियो । जेनजी आन्दोलनको क्रममा अराजक समूहले नगरपालिका भवन, वडा कार्यालयहरुसहित नगरप्रमुख बुढाथोकी र उपप्रमुख उप्रेतीसहितका नेता तथा जनप्रतिनिधिहरुको कार्यालय र निजी निवास आगजनी गरेको थियो ।