झापा, ५ असोज । जेनजी आन्दोलनको क्रममा आगजनी र तोडफोड भएका जिल्लाका प्रहरी भवनहरुको पुनःस्थापनाका लागि समुदायस्तरबाट सहयोग जुट्न थालेको छ ।
कोडिभ–१९ का बेला स्थापना भएको ‘एकका लागि एक अभियान’ले प्रहरी चौकीहरुको पुनःस्थापनामा रु. १० लाख सहयोगको घोषणा गरेको छ । अभियानका संयोजक महेन्द्र गिरीले ध्वस्त भएका प्रहरी कार्यालयहरुको पुनःस्थापनाका लागि रु. १० बराबरको कम्प्यूटर, ल्यापटप, फर्निचर र निर्माण सामग्री किनेर उपलब्ध गराइने बताउनुभयो ।
यसैगरी, मेचीनगरका उद्यमी आनन्द खड्काले जेनजी आन्दोलनमा ध्वस्त भएको धुलाबारी ट्राफिक प्रहरी पोस्ट निजी खर्चमा पुनःनिर्माण गरिदिनु भएको छ । उहाँले मेचीनगरकै ज्यामिरगढी प्रहरी चौकी र इटाभट्टा ट्राफिक प्रहरी पोस्टको समेत निर्माण गरिदिने बताउनु भएको छ ।
जिल्लाको मुख्य व्यापारिक केन्द्र विर्तामोडमा आगजनीमा ध्वस्त भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय र अनारमनी इलाका प्रहरी कार्यालयको भग्नावशेष सरसफाई गर्ने र मर्मत सम्भार कार्यमा स्थानीय युवा समूह जुटेका छन् ।
विर्तामोड नगरपालिका वडा नं. ५ का वडाध्यक्ष रोहित प्रसाईले विभिन्न सामाजिक संस्थामा आवद्ध २०० भन्दा बढी युवा केही दिनदेखि दुबै प्रहरी कार्यालयको सरसफाई र सम्भारमा जुटिरहेको बताउनुभयो । जलेका सवारी साधनका अवशेष पन्छाउने र कोठाहरु सफा गरेर भवनमा रंगरोगन लगाउने कार्य युवाहरुकै स्वस्फूर्त सहयोगमा भइरहेको छ ।
भदौ २४ गते विर्तामोडमा जेनजी समूहको प्रदर्शन अनियन्त्रित भएपछि दुबै प्रहरी कार्यालयमा प्रदर्शनकारीले आगो लगाएका थिए भने प्रहरीका हातहतियार लुटिएको थियो । हतियार नेपाली सेनाले फिर्ता लिइसकेको छ ।
झापामा जेनजी आन्दोलनका क्रममा ८८ वटा प्रहरी इकाईमा आगजनी र तोडफोड भएको थियो । प्रहरी इकाई ७३ वटा र ट्राफिक युनिट १५ वटामा क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बुले जानकारी दिनुभयो ।
उहाँका अनुसार आगजनीका कारण जिल्ला ट्राफिक प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय अनारमनी, इलाका प्रहरी कार्यालय दमक, इलाका प्रहरी कार्यालय सुरुंगा, वडा प्रहरी कार्यालय भद्रपुर, सीमा प्रहरी चौकी पृथ्वीनगर, प्रहरी चौकी ज्यामिरढी, अस्थायी पोस्ट विर्तामोड बसपार्क, प्रहरी चौकी बिर्ताबजार, मेची पुल प्रहरी बिट भद्रपुर र पुरानो ट्राफिक प्रहरी कार्यालय भवन पूर्ण रुपमा जलेर क्षति भएको छ ।
इलाका प्रहरी कार्यालय बुधबारे, प्रहरी चौकी बाघखोर, इलाका प्रहरी कार्यालय धुलाबारी, इलाका प्रहरी कार्यालय काँकडभिट्टा, इलाका प्रहरी कार्यालय झिलझिले, प्रहरी चौकी केर्खा, अस्थायी प्रहरी चौकी गरामनी, प्रहरी चौकी तोपगाछी, प्रहरी चौकी शनिश्चरे, इलाका प्रहरी कार्यालय बनियानी, प्रहरी चौकी चारआली र अस्थायी प्रहरी पोस्ट इटाभट्टामा आन्दोलनकारीले तोडफोड गरी आंशिक क्षति पुर्याएको उहाँले जानकारी दिनुभया ।
आगजनी र तोडफोड गरिएका भवनहरुमा प्रहरी बस्ने अवस्था नभए तापनि जिल्लाका सबै क्षेत्रमा प्रहरीले पूर्ववतः परिचालन भइसकेको जिल्लाका प्रहरी प्रमुख लिम्बुले बताउनुभयो । उहाँले प्रहरीले दाताको नगद सहयोग नलिने जनाउँदै पुनःस्थापनाका लागि समुदायबाट स्वस्फूर्त रुपमा भइरहेको सरसफाई र मर्मतसम्भारमा स्थानीयस्तरबाटै समन्वय भइरहेको बताउनुभयो ।