विचार
विचार
रामप्रसाद रेग्मी
भ्रष्टाचारविरुद्ध सुशासन कायम गर्न र सरकारले बन्द गरेका सामाजिक संजालहरु सुचारु गर्ने मुख्य दुईवटा तत्कालीन माग लिएर आन्दोलनमा होमिएका जेनजी युवा पुस्ताको आन्दोलनको बलमा दुई दिनमै नेपालको सरकार परिवर्तन भयो । तर, छोटो अवधिमा नै सरकार परिवर्तन गर्न नै सफलता प्राप्त गरेको यस आन्दोलनबाट भएको मानवीय तथा भौतिक क्षति भने नेपालमा विगतमा भएका अन्य आन्दोलनभन्दा अधिक देखिन्छ ।
यस आन्दोलनले नेपालमा सरकार मात्र परिवर्तन गरेन, भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा समेत बिगुल फुक्न सफल भएको देखिन्छ । यसका उपलब्धिहरु भविष्यका लागि कति प्रभावकारी होलान् ? भन्ने विषय र यसले नेपालको विविध क्षेत्रमा पारेका प्रभावहरुको बारेमा समयक्रममा उचित मूल्यांकन हुने नै छ ।
तर, तत्काल सामान्यरूपमा हेर्दा यो आन्दोलन किन र कसरी भयो ? यसका प्रभावहरू कस्ता छन ? र अब हामीले कसरी अगाडि बढनु उपयुक्त हुन्छ ? भन्ने बारेमा केन्द्रित रहेर यहाँ सानो चर्चा गर्न जमर्को गरेको छु ।
जेनजी आन्दोलन किन भयो ?
नेपालमा विगत लामो समयदेखिको अस्थिर राजनीति र भ्रष्टाचारका कारण विकास निर्माणमा विगतमा अन्य हामी सँगै रहेका विकसित मुलुकको तुलनामा सोचे जति प्रगति हुन नसकेकै हो । अझ समाजमा व्याप्त नातावाद र कृपावादका कारण रोजगारीका अवसर समेत समानरूपमा वितरण हुन सकेनन् । विभिन्न सामाजिक सञ्जालको प्रयोग गरेर समाजमा चाहिने भन्दा बढी नकारात्मक भावनाको विकास र विस्तार हुँदै गयो ।
उत्पादनशीलताको कमी भएका कारण नया पुस्तामा देशभित्र रोजगारीको अवसरमा कमी भएकै हो । ग्रामीण क्षेत्रका उर्वराशील खेतबारी बाँझो राखेर युवा नागरिकहरू विदेशमा रोजगारी र अध्ययनका लागि जाने प्रचलन नै भइसकेको थियो । विदेशबाट नै राज्य संयन्त्रप्रति नकारात्मक प्रचार प्रसार गर्ने तथा राज्य भित्र समेत अत्पादनशील क्षेत्रमा भन्दा दलाली र अपराधी प्रवृत्ति चाँडो आय आर्जनमा लाग्ने नागरिक समाजको प्रवृत्ति बढदै गएका कारण लामो समयदेखि सदैव सरकार प्राय अस्थिर हुन पुग्यो । यसैकारण राजनीतिप्रति बढेको असन्तोस र अपराधीकरणका कारण नै समग्र प्रणालीमा नै सुशासनमा कमी देखियो ।
उता पुुराना र सत्तामा भएका राजनैतिक दलहरूले युवा पुस्ताको बारम्बारको माग प्रति बेवास्ता गर्दै बहुमतका आधारमा सत्ता गर्ने राजनैतिक मनोपोलीमा सुधार वा परिर्वतन गर्ने लक्षण देखिएन । यसै सन्दर्भमा भर्खरै भएका हाम्रा मित्रराष्ट्रहरू श्रीलंका ,बंगलादेशजस्ता देशहरुका डिजिटल क्रान्ति र क्रमशः त्यसको पर्दै गएको प्रभाव एकातिर बढदै थियो भने देशभित्र विकास भएको अस्थिर र विपक्षी भएपछि सत्ताको विरोधै गर्नुपर्ने अपरिपक्व राजनीतिमा सामाजिक सञ्जालको व्यापक प्रयोग र विस्तारले युवाहरूमा छुट्टै प्रभाव परेको थियो ।
कतिपय युवा उद्यमीहरूको रोजगारको आधार नै डिजिटल नेटवर्कको विस्तार र प्रयोग भैरहेको अवस्थामा नेपालमा व्यवस्थित अनुगमनका लागि दर्ता गर्नुपर्ने भनेर तिनीहरुको प्रयोगमा नै प्रतिबन्ध लगाएपछि समाजका हरेक क्षेत्रबाट राजनैतिक दल र तीनीहरुका नेताहरुको काम गराइप्रति अझ असन्तोष र आक्रोश बढेको देखिन्छ ।
यिनै सबै कारणले गर्दा नै भ्रष्टाचारको विरोधमा सुशासन कायम गर्ने र सामाजिक सञ्जालहरूको प्रतिबन्ध फुकुवा गर्नुपर्ने मुख्य दुई सुत्रीय मागसहित जेनजी आन्दोलन सुरु भएको थियो । शान्तिपूर्ण हुने भनिएको आन्दोलनको पहिलो दिनमा नै अशान्त देखिएको भनी भएको दमनका कारण दोस्रो दिनको जेनजी आन्दोलन गैरजेनजीसमेत सबै सबैको बन्न पुगेर सरकार नै परिवर्तन गर्न सफल भएको देखिन्छ ।
जेनजी आन्दोलनका प्रभावहरु
जेनजी पुस्ताका नाममा सुशासनका लागि सुरु भएको युवा आन्दोलनले दुई दिन भित्र नै उत्कर्षमा पुगेर परम्परागत राजनीतिक दलहरुलाइ घुँडा टेकाउदै सरकार नै अपदस्त गर्न पुग्यो । आन्दोलनको निकासको रुपमा हाल कायम नेपालको संविधानलाई यथावत राखी छ महिनाभित्र नयाँ प्रतिनिधि सभाको निर्वाचन गर्ने र निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने शर्तमा नया अन्तरिम सरकार गठन भै कार्य सञ्जालन सुरु गरिसकेको छ ।
तोकिएकै समयमा निर्वाचन सम्पन्न भै सत्ता हस्तान्तरण भएमा फेरि यथावत् रुपमा हालको संविधान नै कार्यान्वयनमा आउने छ र राज्य संचालनको विधि र प्रणालीमा कुनै परिवर्तन आउने छैन । तथापि दुई दिनभित्रै राज्य संयन्त्र वा सरकार नै परिवर्तन गर्नेगरी भएको यो जेनजी भनिने युवापुस्ताको आन्दोलनले समग्र राज्य प्रणालीमा नै अल्पकालीन तथा दीर्घकालीन रुपमा प्रभाव पर्नेगरी महत्वपूर्ण प्रभाव छोडन सफल भएको छ । यी प्रभावहरूलाई सकारात्मक तथा नकारात्मक गरि दुवै रूपमा लिन सकिन्छ ।
जेन जी आन्दोलनका सकारात्मक प्रभावहरु केलाउँदा पहिलो र महत्वपूर्ण प्रभाव नयाँ पुस्तामा देशको राजनीतिमा महत्वपुर्ण प्रभाव पार्नसक्ने गरी राजनैतिक चेतना विस्तार भएको छ । पछिल्लो चरणमा नेपालमा युवापुस्ताले देशको राजनीतिमा सरोकार राख्न छोडिसके भनिन्थ्यो । फेसबुकलगायत सामाजिक सञ्जालमा मात्र अल्मलिने र देशको उर्वराशील क्षेत्रमा काम नगर्ने, पढ्न वा काम गर्न विदेशमै पलायन हुने र देशमा काम गर्ने वातावरण नभएको भनेर समाजमा नैराश्यता फैलाउने समूहमा युवापुस्तालाई लिन थालिएको थियो ।
यी तमाम आरोपहरूलाइ चिर्दै यस आन्दोलनले नेपालको युवापुस्ता आवश्यक परेमा राजनैतिक हस्तक्षेप गर्न मात्र हैन निर्णय लिनसमेत तयार रहेको र उनीहरुको भविष्यमा आच आउने कुनै काम रोक्न लागिपर्ने सन्देश दिएको छ । यसबाट आवश्यक परेमा समग्र ऊर्जाशील युवापुस्ता उत्पादनशील तथा देश निर्माण कार्यमा लाग्न र त्यसको लागी आवश्यक वातावरण बनाउनसमेत तयार रहेको सन्देश प्राप्त भएको छ ।
त्यस्तै, यस आन्दोलनबाट समाजमा प्रेषित भएको अर्को महत्वपूर्ण सन्देश भनेको कुनैपनि बहानामा नेपालमा भ्रष्टाचार र कुशासन अव चल्दैन भन्ने पनि हो । विगतमा त्यस्ता गतिविधिका सम्बन्धका प्रभावकारी आवाजहरू कमै उठ्ने गरेका थिए । त्यसैले समाजका हरेक क्षेत्रमा भ्रष्टाचार व्याप्त थियो भन्दा फरक नपर्ला । सिंगो नेपाली समाज नै पूरै अपराधीकरण र भ्रष्टीकरण भएकोले गर्दा नै समाजका हरेक तह र तप्कामा अवसर नपाउनेले मात्र भ्रष्टाचारको विरोध गर्ने र अर्कालाई आरोप लगाएर आफूले अकूत आर्जन गरिसकेपछि भ्रष्टाचारविरोधी देखिने प्रवृत्ति नै बनिसकेको थियो ।
तर, अब यस्तो समाजको नकारात्मक प्रवृत्तिमा भने यस आन्दोलनले जरै समेत उखेल्न कोसिस गरेको छ । आन्दोलनकारीको माग अनुसारनै विगतका भ्रष्टाचारजन्य घटनाहरूको समेत उचित छानबिन गरी कारबाही गर्न सकिएमा मात्र भ्रष्टाचार र कुशासनविरुद्ध सुशासन कायम गर्न दीर्घकालसम्म यस आन्दोलनको सन्देश सकारात्मक हुनेछ भन्ने विश्वास गर्न सकिन्छ । यी उल्लेखित सकारात्मक प्रभावसँगै यस आन्दोलनबाट देशमा धेरै नकारात्मक प्रभाव पनि परेका छन् ।
आन्दोलनका क्रममा स्थायी सरकार भनिने सरकारी कर्मचारीहरूको समेत घर आवास तोडफोड भएको र आवस्यक भन्दा बढी नकारात्मक प्रचार भएकोले मनोबल घटेको वा हतास भएको छ । धेरै सरकारी तथा निजी सम्पत्तिको अपूरणीय क्षति भएको छ । हाम्रा ऐतिहासिक धरोहर सिंहदरबार, संसद भवन मात्र हैन सर्वोच्च अदालत लगायत विभिन्न सरकारी संरचना र त्यहा रहेका अभिलेखहरु जलेर ध्वस्त भएका छन । भाटभटेनीजस्ता निजी क्षेत्रका धेरै व्यापारिक प्रतिष्ठानमात्र हैन व्यक्तिका निजी घर सम्पत्तिहरू समेत जलेर नष्ट भएका छन् ।
सरकारी सवारीसाधन र भवन तथा संरचनाहरूको त हिसाब गरेर साध्य नै छैन । निजी क्षेत्रको बिमा गरेको सम्पत्तिको प्रारम्भिक रूपमा नै ३० अर्बभन्दा बढीको बीमा दाबी परिसकेको बताइन्छ । यस्ता निजी प्रतिस्ठानमा काम गर्ने दश हजारभन्दा बढी श्रमिकको रोजगारी गुम्ने अहिले नै आंकलन गर्न थालिएको छ । यूएईजस्ता नेपाली कामदार बढी जाने श्रम गन्तव्य मुलुकले समेत यही आन्दोलनको बहाना बनाएर नेपालीलाई भिसासमेत बन्द गरेको कुरा समाचारमा आएका छन् ।
यस्ता गतिविधिबाट बैदेशिक रोजगारमा पर्ने असर अहिले अनुमान मात्र गर्न सकिन्छ तर आंकलन गर्न सकिँदैन । यहाँ रहेका निजी र बहुराष्ट्रिय कम्पनीका व्यवसायमाथि भएको आक्रमणले अन्तराष्टिय जगतमा नकारात्मक सन्देश प्रवाह हुन पुगेकोले नेपालमा हुने विदेशी लगानीमा पक्कै कमी आउने छ । निजी क्षेत्रको स्वदेशि तथा विदेशी लगानी यसरी निरुत्साहित भै औधोगिक वातावरण बिथोलिएको हुँदा आगामी दिनमा आन्तरिक उत्पादन निरुत्साहित भै रोजगारी कम हुँदै जाने देखिन्छ ।
यही आन्दोलनका नाममा देशभरका कारागारमा रहेका कैदी तथा अपराधीहरुसमेत भागेका हुँदा समाजमा अपराधीहरू बढ्ने कारणले समाजमा अशान्ति र अस्थिरता अझै बढ्ने देखिन्छ । अन्तर्राष्ट्रिय चेन होटलहरु जस्ता पर्यटन व्यवसायमा समेत आगजानी तथा तोडफोड भएको र यहाँको अशान्ति, आगजनी र तोडफोडलाई आधार मानेर कतिपय विदेशी मुलुकहरूले नेपाल भ्रमण नगर्न आफना नागरिकहरूलाई सूचना नै जारी गरेको हुँदा पर्यटन व्यवसायमा व्यापक र दीर्घकालीन असर पर्ने कुरा स्पष्ट छ ।
अब नकारात्मक कुराहरु लिएर पछुताउने छुट हामी कसैलाई छैन । आन्दोलनले उठाएका सकारात्मक कुराहरु लिएर सुधारका लागि अब बहाना बनाउने हैन, सजग भएर कार्य क्षेत्रमा लाग्ने बेला हो ।
राजनीतिक दलहरुको समेत सहभागितामा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गरि संविधानको कार्यान्वयन प्रभावकारी बनाउनु कम चुनौती छँदै छैन ।
तर, जे जस्ता चुनौती र समस्याहरु आइपरे पनि नेपाल हामी नेपालीहरूकै हो र यसको निर्माण वा विनाश गर्ने कर्तव्य र दायित्व पनि हामी नेपालीहरूकै हो । यसर्थ यस आन्दोलनका क्रममा शहादत प्राप्त शहीदको भावना र आन्दोलनरत युवापुस्ताको चाहना र सहयोगमा यसलाई चुनौतीभन्दा समग्र देश विकाशको अवसरको रुपमा उपयोग गरी भावी पुस्तामा सुदृढ र सुशासनयुक्त नेपाल हस्तान्तरण गर्नुपर्ने अवस्था आएको देखिन्छ ।
माथि भने झैँ युवा पुस्ताबाट सञ्चालन भएको यस आन्दोलनका सकारात्मक तथा नकारात्मक असरहरु दुवै छन । तर, अब नकारात्मक कुराहरु लिएर पछुताउने छुट हामी कसैलाई छैन । आन्दोलनले उठाएका सकारात्मक कुराहरु लिएर सुधारका लागि अब बहाना बनाउने हैन, सजग भएर कार्य क्षेत्रमा लाग्ने बेला हो । त्यसैले अव आन्दोलनका क्रममा विध्वंसमा परेका संरचनाहरुको पुनस्निर्माण गर्ने र जनजीवन सामान्य बनाउने हाम्रो प्रमुख प्राथमिकता हो ।
सँगसँगै आन्दोलका क्रममा जीवन नै उत्सर्ग गर्ने शहीदका सपना पूरा गर्दै उनीहरुका सपना साकार गर्न लागि पर्नु त्यत्तिकै जरुरी छ । घाइतेहरुको उचित उपचार गर्नु र तोडफोड र आगजनीबाट भएको क्षति बापत सम्भ भएसम्म पीडितहरूलाई उचित क्षतिपूर्ति प्रदान गर्ने र ध्वस्त सरकारी संरचनाको पुनर्निर्माण गरी निजामती कर्मचारीहरुको समेत मनोबल बढाउँदै सरकारी सेवा प्रवाह सुचारु गर्दै जनजीवन सामान्य बनाउने कार्य गर्नु झन् जरुरी छ । पुनस्निर्माणका यी चुनौतिहरु सँगै हामीसँग उपलब्ध सीमित स्रोत साधन भित्रैबाट वा विद्यमान बजेटबाटै निर्वाचन सम्पन्न गरी संविधानको पूर्ण कार्यान्वयनमा जानु त्यस्तै जरुरी विषय हो ।
युवा पुस्तामा जागेको राजनैतिक चेतलाई सहीरूपले सदुपयोग गर्दै स्वदेशमै रोजगारी सृजना गरी हाल विदेशमा कार्यरत कामदार समेत नेपालमा नै फर्काएर उत्पादनशील क्षेत्रमा लगाउनु जरुरी छ । हाम्रा गाउँघरमा रहेका उर्बराशील बन्जड जमिनहरू अब खनजोत गरेर उत्पादन बढाउन र हाम्रा उर्वराशील युवा जनशक्तिलाई यही उत्पादनशील क्षेत्रमा लगाउनु पर्ने अर्को महत्वपूर्ण चुनौती छ ।
जसका लागि उचित वातावरण निर्माण गर्न भ्रष्टाचारमुक्त सुशासन, दिगो र समतामूलक विकास आवश्यक छ । यसका लागि राजनैतिक स्थिरता कायम गरी युवाको चाहना अनुसार राजनीतिक रुपान्तरण र समयानुकूल सोच र शैलीको विकास गर्दै त्यसका लागि आवश्यक विधि र प्रविधिका निर्माण र त्यसको सही कार्यान्वयनका लागि सही मानवीय नियतसमेत आवश्यक पर्ने हुँदा सोहीअनुसार परिवर्तन गर्नु जरुरी छ ।
अन्त्यमा,
जे होस् नेपालमा जेनजी आन्दोलनका नाममा छोटो समयमा अकल्पनीय परिवर्तन भएको छ । यसका नराम्रा र दीर्घकालीन प्रभावहरु धेरै हुन सक्छन्, तर अब यसलाइ विगतको इतिहासको रुपमा स्वीकार्नु जरुरी छ । यसका सकारात्मक पक्षहरईलाई उपयोग गर्दै उचित वातावरण बनाई सबभन्दा पहिले निर्वाचन कार्य सम्पन्न गरि संविधानको सही कार्यान्वयनमा जानु जरुरी छ ।
यसको अलावा अन्दोलनको समयमा बन्द रहेका र लुटपाट तथा आगजनी भएका निजी क्षेत्रका समग्र उद्योगधन्दा, व्यापार व्यवसाय, सवारी साधनको क्षतिपूर्तिको प्रबन्ध गरी निजी क्षेत्रको मनोबल उठाउँदै उनीहरूका कामकारबाहीमा सहजीकरण गर्न सरकार झन् पछि पर्नु हुँदैन । अब देशभित्रै उत्पादनशील जनशक्तिको उपयोग गर्नसक्ने वातावरण सृजना गरी युवा र उत्पादनशील जनशक्ति देशभित्रै राख्ने वातावरण बनाउनु अर्को जरुरी विषय हो ।
अझ जेनजी आन्दोलनको भावना र मर्मअनुरूप भ्रष्टाचारको अन्त गर्दै देश भित्र सुशासन कायम गरी समृद्धिको दिशातिर अघि बढ्नु आवश्यक छँदैछ । तसर्थ आन्दोलनको बलमा स्थापित वर्तमान सरकारले यसतर्फ बेलैमा ध्यान दिई सबै सबैको सहयोगमा आन्दोलनको भावना र युवापुस्ताको चाहनाअनुसार सुशासन कायम गरी देशलाई समृद्धिको बाटोमा अगाडि बढाउनु जरुरी देखिन्छ ।