झापा, ७ असोज । जेनजी आन्दोलनको क्रममा जिल्लाको दुई वटा इलाका प्रहरी कार्यालयबाट लुटिएका ७५ थान हतियार फिर्ता भएको प्रहरीले जनाएको छ ।
भदौ २४ गते इलाका प्रहरी कार्यालयहरु दमक र अनारमनी (विर्तामोड)बाट ९९ थान हतियार लुटिएको थियो । अब २४ थान हतियार फिर्ता हुन बाँकी छ ।
विर्तामोड नगरपालिका क्षेत्रबाट ४० थान र दमक नगरपालिका क्षेत्रबाट ३५ थान हतियार फिर्ता भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले बताउनुभयो ।
उहाँका अनुसार दमक र झिलझिले इलाकाबाट चार थान एसएलआर, १० थान इन्सास राइफल, १२ थान थ्रीनटथ्री राइफल, तीन थान सट गन, दुई थान ग्याँस गन, तीन थान चाइनिज रिभल्भर र एक थान नाइन एमएम रिभल्भर आन्दोलनकारीबाट फिर्ता भएको हो ।
यसैगरी, विर्तामोड, दुर्गापुर र शनिश्चरे इलाकाबाट सात थान एसएलआर, १६ थान इन्सास राइफल, छ थान थ्रीनटथ्री राइफल, दुई थान सट गन, चार थान ग्याँस गन, तीन थान एसएमजी र दुई थान रिभल्भर आन्दोलनकारीले फिर्ता दिएको उहाँले जानकारी दिनुभयो ।
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते दिउँसो अनियन्त्रित भीडले अनारमनी र दमक इलाका प्रहरी कार्यालयमा आगजनी र तोडफोड गरेको थियो । त्यही क्रममा प्रहरीसँग भएका हतियार लुटिएका थिए ।
अनारमनी इप्रका (विर्तामोड)बाट लुटिएका अधिकांश हतियार आन्दोलनकारीले तत्कालै मानवाधिकारबादीहरुको रोहवरमा नेपाली सेनाको अरिदमन गण चारआलीको टोलीलाई फिर्ता दिएका थिए । विर्तामोडबाट लुटिएका हतियारमध्ये अब दुई थान मात्र फिर्ता हुन बाँकी छ । तर, दमकका धेरै हतियार फिर्ता हुन सकेको छैन ।
“लुटिएका हतियार फिर्ता गर्न सार्वजनिक अपिल गरेका छौं,” उहाँले भन्नुभयो– “जसले लगेको थियो, उहाँहरुले सेना, प्रहरी र सशस्त्र प्रहरीमार्फत हतियार फिर्ता दिइरहनु भएको छ । अटेर गरेर नबुझाउनेहरुलाई कानून बमोजिम कार्वाही हुन्छ ।” उहाँले फिर्ता नभएका हतियारको खोजी कार्य भइरहेको बताउनुभयो ।