१७ असोज २०८२, शुक्रवार

हिरासतबाट फरार ९१ जना थुनुवा अझै सम्पर्कविहीन

८ असोज २०८२, बुधवार
Image

झापा, ८ असोज । विर्तामोड, दमक र झिलझिलेस्थित इलाका प्रहरी कार्यालयको हिरासतबाट फरार ९१ जना थुनुवा सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।

जेनजी आन्दोलनको क्रममा भदौ २४ गते प्रहरी कार्यालयमा आगजनी र तोडफोड भएपछि झापाका उल्लेखित तीन वटा प्रहरी कार्यालयको हिरासतबाट ९२ जना थुनुवा फरार भएका थिए ।

फरार भएकामध्ये एक जना थुनुवा आफै सम्पर्कमा आउनु भएको र अरुहरुको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले बताउनुभयो ।

विभिन्न अभियोगमा मुद्धा चलिरहेका थुनुवाहरु हिरासतमा थिए । जेनजी आन्दोलनका क्रममा विर्तामोडको अनारमनी इलाका प्रहरी कार्यालयबाट ५१ जना, दमक इप्रकाका ३६ जना र झिलझिले इप्रकाका पाँच जना थुनुवा फरार भएको प्रहरीले जनाएको छ ।

जेनजी आन्दोलनको क्रममा भदौ २४ गते विर्तामोड र दमकको इलाका प्रहरी कार्यालयबाट लुटिएका हतियार भने अधिकांश फिर्ता भएका छन् । प्रहरीका अनुसार लुटिएका ९९ थान हतियारमध्ये ७५ थान सकुशल फिर्ता भइसकेका छन् भने २४ थान हतियार अझै फिर्ता भएको छैन । 

फिर्ता भएका हतियारमध्ये एसएलआर ११ थान, इन्सास राइफल २६ थान, थ्रीनटथ्री राइफल १८ थान, सट गन पाँच थान, ग्याँस गन छ थान, रिभल्भर छ थान र एसएमजी तीन थान रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । फरार थुनुवा र लुटिएका हतियारको खोजतलास तीब्र रुपमा भइरहेको सूचना अधिकारी खड्काले बताउनुभयो ।