झापा, ८ असोज । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड झापाले चालू आर्थिक बर्ष २०८२÷८३ को पहिलो चरणमा दुई हजार ११३ मेट्रिक टन रासायनिक मल वितरण गरेको जनाएको छ ।
जसमध्ये एक हजार ३५५ मेट्रिक टन यूरिया र ७५८ मेट्रिक टन डीएपी मल स्थानीय सहकारी र कृषि संस्थामार्फत वितरण गरेको कार्यालयका प्रमुख विष्णुप्रसाद न्यौपानेले जानकारी दिनुभयो । पालिकाले तोकेका सहकारी र कृषि संस्थाहरुले लगेको मल किसानलाई विक्री गर्दै आएका छन् ।
चालू आर्थिक बर्षको साउनदेखि हालसम्ममा धानखेतीका लागि एक हजार ३०५ मेट्रिक टन यूरिया र ७५८ मेट्रिक टन डीएपी मल विक्री वितरण गरिएको उहाँले बताउनुभयो । सोही अवधिमा चिया खेतीका लागि ५० मेट्रिक टन यूरिया मल वितरण गरिएको जनाइएको छ ।
उहाँले धान खेतीका लागि पालिकाहरुले १४० वटा सहकारी र कृषि संस्थालाई मल वितरणका लागि अधिकृत विक्रेता सिफारिस गरेका थिए । पहिलो चरणमा धान खेतीका लागि प्राप्त डीएपी मलमध्ये हाल कार्यालयमा २२८ मेट्रिक टन मल मौज्दात रहेको छ ।
चियाका लागि आएको मलमध्ये ६०० मेट्रिक टन यूरिया र ४०० मेट्रिक टन डीएपी मल भने कार्यालयमा मौज्दात रहेको उहाँले जानकारी दिनुभयो । चिया तथा कफी विकास बोर्डमा नियमानुसार दर्ता भएका चिया उत्पादक कम्पनी तथा संस्थालाई रासायनिक मल उपलब्ध गराउने प्रावधान रहेको उहाँको भनाई छ ।