झापा, ८ असोज ।
“प्रत्यक्ष चुन्ने कानून बनाउनुहोस्, पुर्खालाई सुन्ने बानी बसाउनुहोस्,
नेपाली पहिचान फैल्याउन, भविष्य बोल्ने समाज बनाउनुहोस् !
किशोर किशोरी हामीलाई, पढेर बढेर यही बस्न दिनुहोस् !!”
‘जेनजी पुस्ता’ले उठाइरहेको यस्तै यस्तै भावना समेटेर विर्तामोडकी युगश्री मिश्रले ‘अनुरोध’ नामक ‘म्युजिक भिडियो’ सार्वजनिक गरेकी छन् ।
विर्तामोडको बुद्ध मेमोरियल अंग्रेजी माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत् युगश्रीको सुमधुर स्वर र पत्रकार कृष्णप्रसाद मिश्रको शब्द रचना भएको यो गीतको भिडियो हाल सामाजिक सञ्जालमा चर्चामा छ ।
शक्तिशाली सन्देश बोकेको यो गीतको चर्चा चुलिनुको कारण भदौ २३ गते भएको जेनजी आन्दोलन पनि हो । आन्दोलनमा जेनजी पुस्ताले मुलुकमा जे जस्तो राजनीतिक र सामाजिक परिवर्तनको माग गरेका थिए, त्यही भावना यो गीतमा समेटिएको छ । त्यहीकारण यसलाई धेरैले ‘जेनजीको गीत’ भनेर प्रशंसा गरिरहेका छन् ।
“बाबा हजुरलाई मेरो अनुरोध, आमा हजुरलाई मेरो अनुरोध,
बाबा हजुरलाई मेरो अनुरोध, आमा हजुरलाई मेरो अनुरोध !
दाजु भाइ र दिदी बहिनी, तपाईहरुलाई मेरो अनुरोध !!
नेपाल राम्रो बनाउने भने, सुखी र समृद्ध हुने भने,
भ्रष्टाचारीलाई फाँसी दिनुहोस, बलात्कारीलाई फाँसी दिनुहोस् !
देशद्रोहीलाई फाँसी दिनुहोस्, फाँसी दिने कानून बनाउनुहोस् !!”
भिडियोमा जेनजी युवाहरुले हरेक परिवारका आमा, वुवा, दाजुभाइ र दिदीबहिनीलाई अनुरोध गर्दै नेपाललाई राम्रो बनाउने हो भने भ्रष्टाचारी, बलात्कारी र देशद्रोहीलाई फाँसीको सजाय दिने कानून बनाउनु पर्ने आह्वान गरेका छन् ।
जेनजीहरुले कार्यकारी सरकार प्रमुख प्रत्यक्ष निर्वाचित हुनुपर्ने माग गरेका छन् । गीतमा प्रत्यक्ष चुनिने व्यवस्था गर्न र पुर्खाको कुरा सुन्ने बानी बसाउन अग्रज पुस्तालाई आग्रह गरिएको छ ।
गायिका युगश्री देशसँग युवा मनहरु जलिरहेको र मुलुक राजनीतिक अस्थिरताले ग्रस्त भएको बताउँछिन् । “हामी जेनजी पुस्ताको सुखद् भविष्यका लागि कस्तो व्यवस्था चाहिन्छ ?,” उनी भन्छिन्– “यही विषयलाई गीतले जोडदार रुपमा उठाएको छ ।” गीत हेरेर, सुनेर सुझाव दिन उनले दर्शक एवम् श्रोतालाई आग्रह गरेकी छन् ।
गीतलाई विश्लेषकहरुले सन्देशमूलक र सामयिक भएको बताएका छन् । नेपाल चलचित्र पत्रकार संघ झापाका अध्यक्ष रमेश तिवारीले युगश्रीको स्वर र गीतको सन्देशले आम स्रोता तथा दर्शकलाई आकर्षित गर्ने बताउनुभयो ।
गीतका रचनाकार कृष्णप्रसाद मिश्रले शब्दको रचना जेनजी आन्दोलनभन्दा धेरै पहिले गरिएको भए तापनि अहिलेको आन्दोलन र जेनजी पुस्ताको भावनासँग गीतको सन्देश मिलेको बताउनुभयो ।
“युवा पुस्ता देशमा भ्रष्टाचार र बेथिति बढेको देखेर आजित छ, त्यहीकारण यत्रो आन्दोलन भयो,” पत्रकार समेत रहनु भएको मिश्र भन्नुहुन्छ– “जेनजीले चाहेको भावी शासन व्यवस्था, सुशासन र समृद्धि कस्तो छ भनेर गीतले बुझाउन खोजेको छ ।”
अनुरोधको निर्देशन दिपक रायमाझीले र कोरियोग्राफर रोहित लामगादेले गर्नु भएको छ भने छायांकन सुवास लिम्बु र संगीत संयोजन विषम आचार्यले गर्नु भएको छ । गायनमा युगश्रीलाई प्रमेश राई, मिक्साहाङ लिम्बु र सपना थापाले सहयोग गर्नु भएको छ ।
गीतको रेकर्डिङ पंकज स्टुडियोमा गरिएको छ भने श्रृंगार पदम तामाङले गर्नु भएको छ । नोवल परोपकार समाज नेपाल निर्माता रहेका गीतमा सन्ध्या खतिवडा, युगश्री मिश्र, तुलसी भट्टराई, दुर्गाप्रसाद सिग्देल, राममाया उप्रेती, कुमार कडरिया, टीका खड्का, सपना थापा, शेखर पौडेल, रिजन बराल, कृष्ण खतिवडा, अनकूल पौडेल, अरुण महतो, निश्चल ढुंगाना, अनुजा कडरिया, यशोदा निरौला, रिदम बराल, पंकज मिश्र, अरुण माझी र सरगम संगीतालय विर्तामोडका साथीहरुले अभिनय गरेको छ ।