२ कार्तिक २०८२, शनिवार

‘एकका लागि एक’ अभियानमार्फत रु. ५६ लाखको राहत वितरण

२ कार्तिक २०८२, शनिवार
Image

झापा, १ कात्तिक । प्राकृतिक विपद् प्रभावितको सहयोगका लागि जिल्लामा सञ्चालित ‘एकका लागि एक’ अभियानको आह्वानमा जुटेको रु. ५६ लाख भन्दा बढी रकम बराबरको राहत वितरण भएको छ ।

गत असोज १९ र २० गतेको अबिरल वर्षापछि झापामा बाढी र इलाममा पहिरोबाट जनधनको व्यापक क्षति हुनुका साथै सयौं परिवार विस्थापित भएका थिए ।

‘एकका लागि एक’ अभियानका संयोजक महेन्द्र गिरीले बाढी तथा पहिरो प्रभावितको सहयोगका लागि विभिन्न दाताबाट प्राप्त रु. ५५ लाख ७० हजार ७५० नगद र अन्य जिन्सी सामग्री वितरण भएको बताउनुभयो ।

“बाढी तथा पहिरोले व्यापक जनधनको क्षति पुर्याए लगत्तै प्रभावित परिवारको सहयोगका लागि अभियानले सहयोगका लागि अपिल गरेको थियो,” उहाँले भन्नुभयो– “विपद्को बेला सबै जुट्नुपर्छ भन्ने भावनाका साथ धमाधम दाताहरुबाट रकम र सामग्री संकलन भयो ।”

अभियानले संकलित नगदबाट खाद्य सामग्री खरिद गरेर जिल्ला विपद् व्यवस्थापन समिति, नेपाल रेडक्रस सोसाइटी, सुरक्षा निकाय लगायतको समन्वयमा एकद्वार प्रणालीबाट प्रभावित परिवारलाई राहत वितरण गरेको उहाँले बताउनुभयो  ।

झापा गाउँपालिका, शिवसताक्षी नगरपालिका र गौरीगञ्ज गाउँपालिकाका बाढी प्रभावित परिवार र इलामका पहिरो प्रभावित परिवारलाई उक्त राहत सहयोग वितरण गरिएको उहाँको बताउनुभयो ।

कोरोना महामारीका बेला ‘एकका लागि एक’ अभियानले विपन्न तथा प्रभावित जनसमुदायलाई सहयोग पुर्याएको थियो । त्यसपछि हरेक वर्ष प्राकृतिक विपद्मा परेका परिवारलाई अभियानले सहयोग संकलन गरेर राहत जुटाउँदै आएको छ ।

नगद बाहेक दाताहरुले ७०० परिवारलाई पुग्ने सरसफाई सामग्री, ५०० प्याकेट हाइजिन किट, ३०० थान सेल्टर किट र २०० थान ब्ल्यांकेट दिएका थिए । ती सामान समेत अभियानले प्रभावित परिवारलाई वितरण गरिसकेको छ ।

विपद् प्रभावित प्रत्येक परिवारलाई २५ केजी चामल, पाँच केजी आलु, दुई केजी नुन, दुई केजी दाल, एक लिटर खानेतेल, एक थान झुल, एक सेट त्रिपाल र एक थान ब्ल्यांकेटका दरले राहत सामग्री वितरण गरिएको छ ।

“हामीले अभियान अन्तर्गत सहयोग जुटाएका हौं,” ‘एकका लागि एक’ अभियानका संयोजक गिरीले भन्नुभयो– “कहाँ वितरण गर्ने भन्ने विषयको निर्णय जिल्ला प्रशासन कार्यालय, जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय तहहरुले नै गरेका हुन् ।”