झापा, २ कात्तिक । निर्माणाधीन एसियन हाइवेको पूर्वीखण्डमा कालोपत्रे सुरु भएको छ । काँकडभिट्टादेखि केरखासम्मको ४५ किलोमिटरमध्ये अढाई किलोमिटर सडकमा कालोपत्रे गरिएको काँकडभिट्टा–लौकही सडक योजना कार्यालय (पूर्वी खण्ड)ले जनाएको छ ।
विर्तामोड, मेचीनगर, शिवसताक्षी र कमलका केही स्थानमा कालोपत्रे धमाधम भइरहेको छ । काँकडभिट्टा–लौकही सडक योजना कार्यालय (पूर्वी खण्ड) दमकका कार्यालयका आयोजना प्रमुख ई. सुनिलबाबु पन्तले सडकको एकातिरको लेनमा पहिलो सतहको कालोपत्रे गरिएको बताउनुभयो ।
“काम तीब्र गतिमा भइरहेको छ”, उहाँले भन्नुभयो, “पछिल्लो समय निर्माण व्यवसायीले पनि ध्यान दिएर कामको रफ्तार बढाएको छ । बर्षा सकिएको छ, अब चाडपर्व पनि सकिएपछि कामको गति अझै बढ्छ ।” उहाँले पहिलो सतहको कालोपत्रे भएको सडकमा माथ्लो सतहको पाँच सेन्टिमिटरको कालोपत्र थपिने जानकारी दिनुभयो ।
एसियाली विकास बैंकको सहयोगमा रु. १० अर्बको लगानीमा एसियन हाइवेको पूर्वी खण्ड काँकडभिट्टादेखि केरखाको सितापुरीसम्मको स्तरोन्नति कार्य जारी छ । निर्माण सम्बन्धी ठेक्का लिएको एभ्रास्कन कालिका जेभीले सडकमा पर्ने १५२ वटा कल्भर्टमध्ये ९२ वटाको निर्माण कार्य सम्पन्न गरिसकेको जनाएको छ ।
यातायातको अधिक चाप हुने सहरी क्षेत्रमा ओभरपास निर्माण कार्य समेत धमाधम भइरहेको आयोजना प्रमुख पन्तले बताउनुभयो । मेचीनगरको चारआली चोकबाट पूर्वतर्फ २५१ मिटर, पश्चिमतर्फ २२६ मिटर र विर्तामोडको चारपानेमा चोकबाट पूर्वतर्फ २०७ मिटर, पश्चिमतर्फ ३०८ मिटर ओभरपास निर्माण धमाधम भइरहेको छ ।
आधुनिक मोडेलका ओभरपासमा मानिस र सवारी साधन आवतजावत गर्ने बेग्लाबेग्लै ठाउँ निर्माण हुने उहाँले बताउनुभयो । मेचीनगरको चारआली जंगल क्षेत्रमा पर्ने सडकमा हात्ती लगायतका जंगली जनावर ओहोरदोहोर गर्नका लागि एनिमल अन्डरपास पुल निर्माण भइरहेको छ ।
पूर्वीखण्डको १८ वटा पुलमध्ये अधिकांशको काम समेत भइरहेको उहाँको भनाई छ । नेपाल सरकारले काँकडभिट्टादेखि केर्खासम्मको पूर्वी सडक खण्ड निर्माणका लागि दमकमा र केर्खादेखि इटहरीसम्मको पश्चिमी सडक खण्डको निर्माण कार्यका लागि इटहरीमा कार्यालय स्थापना गरेको छ । हालसम्ममा सो सडक खण्डको निर्माणको भौतिक प्रगति २७ प्रतिशत रहेको उहाँले बताउनुभयो ।
सरकारले काँकडभिट्टा–लौकही सडकको ९५.७६ किलोमिटर क्षेत्रमा एसियन हाइवेको निर्माण कार्य अघि बढाएकोमा शहरी क्षेत्रमा छ लेन र ग्रामीण क्षेत्रमा चार लेनको सडक बन्ने उहाँले बताउनुभयो ।