४ कार्तिक २०८२, सोमवार

मेचीनगरमा बथानै भेटिए दुर्लभ ‘हरित परेवा’

४ कार्तिक २०८२, सोमवार
Image

झापा, ३ कात्तिक  दुर्लभ मानिएको ‘हरित परेवा’को ठूलो बथान झापाको मेचीनगरमा फेला परेको छ । बन्यजन्तु फोटोग्राफर देबेन्द्र खरेल र संरक्षण अभियन्ता शंकर लुइँटेलले बथान फेला पार्नु भएको हो ।

मेचीनगर नगरपालिका वडा नं. ४ बाहुनडाँगी र वडा नं. ६ काँकडभिट्टा क्षेत्रमा बिगत चार दिनमा ९१ वटाको संख्यामा ती दुर्लभ चरा गणना गरिएको मेची चरा तथा बन्यजन्तु संरक्षण समाजका अध्यक्ष खरेलले बताउनुभयो ।

अंग्रेजीमा ‘ग्रीन इम्पेरियल पिजन’ नाम दिइएको हरित परेवाको पखेटा र शरीरको रंग हरियो हुन्छ । खरेलले नै वि.सं. २०७७ मंसिर ९ गते मेचीनगर–७ सतिघट्टाको सिमलको रुखमा नेपालमै पहिलोपल्ट हरित परेको तस्वीर खिचेर यो चरा नेपालमा पाइन्छ भन्ने प्रमाणित गर्नु भएको थियो । उहाँले तस्वीर खिचेपछि नेपालमा पाइने चराको प्रजातिमा हरित परेवा थपिएको हो ।

नेपालको मेचीनगर क्षेत्रमा मात्र पाइएको यो चरा घरेलु परेवा, ढुकुर र हलेसोभन्दा आकारमा ठूलो हुने उहाँले बताउनुभयो । यसको आकार ४२ देखि ४७ सेन्टिमिटरसम्म लामो हुने र नेपालसहित भारत, श्रीलंका, चीन, इन्डोनेसिया र फिलिपिन्समा यो चरा पाइएको छ ।

बन्यजन्तु संरक्षण अभियन्ता शंकर लुईटेलले मेचीनगर–४ बाहुनडाँगीमा हरित परेवाको बथान देखेपछि फोटो र भिडियो खिचेको बताउनुभयो । यसअघि मेचीनगरको दक्षिणी क्षेत्रमा मात्र यो चरा भेटिने गरेको थियो ।

बिगत चार दिनमा बाहुनडाँगी र काँकडभिट्टाको सहरी र ग्रामीण क्षेत्रमा ९१ वटाको बथान भेटिनुले मेचीनगर हरित परेवाको स्वर्गसरी भएको खरेलको भनाई छ । उहाँले मेचीनगरमा चरा ३३७ प्रजातिका चरा पाइएको हुँदा नगरलाई चरा संरक्षित क्षेत्र घोषणा गरिनु पर्ने माग गरिएको बताउनुभयो ।

फोटो : देबेन्द्र खरेल