झापा, ५ कात्तिक ः महालक्ष्मी कृषि सहकारी संस्थाको १७ औं एकाईगत साधारणसभा सुरु भएको छ ।
जिल्ला सहकारी संघ झापाका पूर्व अध्यक्ष हरिचरण बानियाँको प्रमुख आतिथ्यतामा धुलाबारीस्थित मेची उद्योग बाणिज्य संघको सभाहलमा विहीबार एकाईगत साधारण सभा भएको छ । बानियाँले कार्यक्रमलाई सम्बोधन गर्दै सहकारी सदस्यहरुले अनावश्यक खर्च गर्न नहुने र मितव्ययी बन्नुपर्ने बताउनुभयो ।
संस्थाकी अध्यक्ष टीका सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा धुलाबारी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष भीम खवास, पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
वि.सं. २०६४ मा ५४ जना सदस्यले रु. ५४ हजार नै शेयर सदस्य संकलन गरेर सुरु गरेको सहकारीको पूँजी हाल रु. एक करोड ५८ लाख ८५ हजार पुगेको संस्थाकी अध्यक्ष सुवेदीले बताउनुभयो । सहकारीमा हाल एक हजार ६०१ महिला र एक हजार १३१ पुरुष गरी दुई हजार ७९२ जना शेयर सदस्य रहेका छन् ।

संस्थाले विगतदेखि नै कृषक सदस्यहरुलाई उन्नत जातको विउविजनको व्यवस्था, रसायिक मलको आपूर्तिलाई न्यूनीकरण गर्दै प्राङगरिक मल, जैविकमल, आधुनिक तरकारी खेती सञ्चालन सम्बन्धी तालिम प्रदान गरेर आत्मनिर्भर बन्न उत्प्रेरित गर्दै आएको उहाँले बताउनुभयो ।
उहाँले गाउँघरमा खेर गइरहेको मकैको खोसेला तथा परालको प्रयोगबाट ५० जना गृहणीहरुलाई स्वरोजगार बनाउन मेचीनगर वडा नं. १० को आर्थिक सहयोगमा हस्तकला सम्बन्धी तालिम समेत प्रदान गरेको बताउनुभयो ।
संस्थाको नियमिति वित्तीय कारोवार कम्प्यूटर प्रणालीमा सञ्चालन, सदस्यहरुको सुविधाको लागि रेमिट्यान्स सेवा, क्यू. आर कोड, बचत संकलनका लागि ट्यापको व्यवस्थालगायतको महत्वपूर्ण कार्य गत आर्थिक बर्षबाट सुरु गरिएको अध्यक्ष सुवेदीले कार्यक्रममा प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा संस्थाले सामाजिक, उद्यमशीलता र सहकारी शिक्षा तालिम तथा गोस्टीका कार्यक्रमहरु समेत गरेको जनाइएको छ । संस्थाले आर्थिक बर्ष २०८२÷८३ मा सदस्य संख्यालाई १० प्रतिशतले बृद्धि गरेर तीन हजार ७० पुर्याउने, शेयर पूँजीलाई २० प्रतिशत बृद्धि गरेर रु. एक करोड ९० लाख ६२ हजार ५०० पुर्याउने, निक्षेप बृद्धि गर्ने कर्जा लगानीमा बृद्धि गर्ने, बाह्य दायित्व तथा ऋण सापटी बृद्धि गर्न विभिन्न बैंक तथा वित्तीय संस्थाहरुसँग कर्जा सापटी लिने, सदस्य हितकोषको व्यवस्था गर्ने लगायतका बार्षिक नीति समेत तयार गरेको अध्यक्ष सुवेदीले बताउनुभयो ।
संस्थाले यसै साधारणसभाबाट पत्रकार खगेन्द्र घिमिर, नियमित बचतकर्ता कामाख्यादेवी रिजाल, रीता न्यौपाने, खुत्रुके बचतकर्ता गीता भट्टराई, यसोदा निरौला, बाल बचतकर्ता आयुष राजवंशी, आकृति कार्की, उत्कृष्ट ऋण पदमबहादुर खवास, जुनी सार्की, ज्येष्ठ क्रियाशील सदस्य तुलसा देवी दाहाल, अमूल्य राजवंशी, पेन्सन बचतकर्ता श्रीप्रसाद अधिकारी, चन्द्रमाया चौधरी, कर्मचारीमा पार्वता अधिकारी र उत्कृष्ट कृषकको रुपमा रविचन्द्र शर्मा नेपाललाई सम्मान गर्ने निर्णय गरेको छ ।
संस्थाकी व्यवस्थापक प्रेमकुमारी सुवेदीले सञ्चालन गरेको कार्यक्रममा सञ्चालक समिति सदस्य पार्वतीकुमारी ढकालले स्वागत मन्तव्य र लेखा सुपरीबेक्षणको प्रतिवेदन समितिकी सदस्य शकुन्तला ढकालले प्रस्तुत गर्नुभएको थियो ।