१८ कार्तिक २०८२, सोमवार

मेचीनगर : कार्यपालिकाले पुनर्वहाली गरेपछि काममा फर्किए कर्मचारी

१८ कार्तिक २०८२, सोमवार
Image

झापा, १७ कात्तिक । मेचीनगर नगरपालिकाको आज बसेको कार्यपालिका बैठकले यसअघिको बैठकको निर्णय सच्याउँदै निष्काशनमा परेका सबै कर्मचारीहरुको पुनःवहाली गर्ने निर्णय भएको छ ।

यो निर्णयसँगै मेचीनगर नगरपालिका र कर्मचारीबीचको तनाव साम्य भएको छ भने हठात हटाइएका कर्मचारीहरुलाई न्याय र सम्मान मिलेको छ । 

असोज २९ गते बसेको कार्यपालिका बैठकले नगरमा कार्यरत अस्थायी, करार र ज्यालादारी कर्मचारीहरुलाई संघीय सरकारको परिपत्रका आधारमा कात्तिक १ गतेदेखि लागू हुने गरी हटाउने निर्णय गरेको थियो ।

त्यसरी ठूलो संख्यामा कर्मचारी हटाउँदा नगरपालिकाको सेवा प्रवाह नै प्रभावित बनेको थियो भने कर्मचारीहरु आन्दोलित भएका थिए । प्रमुख राजनीतिक दलहरुले कर्मचारीलाई पुनर्वहाली गर्न नगरपालिकालाई सुझाव दिएका थिए ।

आज बसेको कार्यपालिकाको बैठकले सत्र दिन अघिको निर्णय सच्याउँदै पुनर्वहाली गरेपछि अस्थायी, करार र ज्यालादारी कर्मचारीहरु पूर्ववतः आफ्नो काममा फर्किएका छन् । 

लोकसेवा आयोगबाट नियुक्त भएर दरबन्दीमा नयाँ कर्मचारी आएमा अहिलेका कर्मचारीहरुले ठाउँ खाली गरिदिने र अहिलेका कर्मचारीहरु लोकसेवाको प्रतिष्पर्धाबाट नियुक्त भएर आउन समेत सक्ने विषयमा नगरपालिका र कर्मचारी दुबै पक्ष सहमत भएको बताइएको छ ।