झापा, २९ कात्तिक । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाबाट सेवा निवृत्त भएका संस्थापक दुई अगुवा कर्मचारीलाई संस्थाले आज सम्मानसहित विदाइ गरेको छ ।
विदाई हुनेमा उपनिर्देशक लक्ष्मण खतिवडा र उपप्रबन्धक भक्तबहादुर खड्का हुनुहुन्छ ।
मुख्य कार्यालयमा आज आयोजित एक कार्यक्रममा उहाँहरुलाई खादा, माला र अबिर लगाएर कदरपत्रसहित संस्थाका कार्यकारी प्रमुख महेन्द्र गिरीले विदाई गर्नुभयो ।
सो अवसरमा संस्थाका कर्मचारीहरुले भारी मनले आफ्ना अग्रज सहकर्मीलाई विदाई गर्दै भावी जीवन सुखी र खुशी रहोस् भन्दै शुभेच्छा व्यक्त गरेका थिए ।
कार्यकारी प्रमुख गिरीले उपनिर्देशक खतिवडा र उपप्रबन्धक खड्कासँगको लामो सहकार्य सुखद् र प्रेरणादायी रहेको चर्चा गर्दै उहाँहरु समेतको योगदानबाट आजको सफल सहारा उभिएको बताउनुभयो ।
विदाई हुनु भएका खतिवडा र खड्काले सहारा नेपालमा आफ्नो जीवनको महत्त्वपूर्ण उमेर र ऊर्जा व्यतित भएको स्मरण गर्दै संस्थाको आगामी दिनमा अझ प्रगति हुँदै जावोस् भन्ने शुभकामना व्यक्त गर्नु भएको थियो ।
