झापा, ८ मंसिर । मेचीनगर नगरपालिकाले अटिज्म सम्बन्धी अपाङ्गता भएका बालबालिकाका लागि अटिज्म सेन्टर स्थापना गर्न सरोकारवाला निकायहरुसँग अन्तरक्रिया गरेको छ ।
सोमबार नगर सभाहलमा नगरपालिकाले बौद्विक तथा अटिज्म सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरुका लागि सरोकारवालासँग सामाजिक उत्तरदायित्व विषयमा छलफल गरिएको छ ।
नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले नगरमा भएका बैंक तथा वीत्तिय संघ–संस्थाहरुले सामाजिक उत्तरदायित्व शिर्षकमा राखेको रकम अटिज्म सेन्टर स्थापनाका लागि खर्च गर्न अनुरोध गरेका छन् ।
नगरभित्र रहेका सरकारी, गैरसरकारी र निजी बैंक, सहकारी, सामाजिक संघ–संस्थाहरुका प्रमुख, अध्यक्ष र प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
उनीहरुले सामाजिक उत्तरदायित्व शिर्षकमा राखिएको रकम बार्षिक रुपमा अटिज्म सेन्टर स्थापनाका लागि सहयोग गर्न सकिने बताएका थिए ।
मेची नेत्रालयका डा।शरदचन्द्रप्रकाश राईले पनि अटिज्म बालबालिका तथा अपाङ्गता भएका व्यक्तिहरुको उपचारमा सहयोग गर्ने बताएका थिए ।
मेचीनगरमा अटिज्म भएका ९५ बालबालिकासहित १६२२ जना अपाङ्गता भएका व्यक्तिहरु रहेका छन् ।
२०८२ असार मसान्त सम्ममा अपाङ्गता भएका १६२२ जना मध्ये प्रकृति हेरेर ४७९ ले रातो परिचय पत्र, ६२५ ले निलो, ४४४ ले पहेलो, ७४ जनाले सेतो परिचय पत्र लिएका छन् ।
यसअघि अटिज्म बालबालिका तथा अपाङ्गता भएका व्यक्तिहरुका अभिभावकहरुले मेचीनगरमा अटिज्म सेन्टर नभएकाले भारत तथा नेपालका विभिन्न ठाउँमा थेरापीसहितको उपचारका लागि महंगो खर्चमा बाहिर लानु पर्ने बाध्यता रहेको आफ्नै नगरमा सेन्टर राख्न माग गरेका थिए ।
अटिज्म सेन्टर स्थापना गर्न नगरको बजेटले मात्रै नपुग्ने भएकाले बैंक तथा वीत्तिय संघ–संस्थाहरुले सामाजिक उत्तरदायित्वमार्फत अन्य सामाजिक सेवामा खर्च गरिरहेकाले यसमा नै खर्च गर्न नगरप्रमुख बुढाथोकीले आग्रह गरेका छन् ।
उपप्रमुख मीना पोखरेल उप्रेतीको अध्यक्षतामा भएको अन्तरक्रियामा प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी लगायतले अटिज्म भएका बालबालिकाको सहजरुपमा थेरापी, उपचार र सुरक्षा होस् भन्ने हिसाव अटिज्म सेन्टर स्थापनाका लागि सरोकारवालाहरुसँग छलफल गरिएको बताए ।
अन्तरक्रिया कार्यक्रमको सहजीकरण नगरपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख जयन्ती खरेलले गरेकी थिइन् ।
मेचीनगर नगरपालिकाले कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, करुणा फाउण्डेशनको सहयोग र राष्ट्रिय अपाङ्गता महासंघ नेपालको प्राविधिक सहकार्यमा अपाङ्गता भएका व्यक्तिहरुका लागि स्वास्थ्य, शिक्षा, स्वरोजगार, सशक्तिकरणमा सुदृढिकरणका लागि अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन गरिरहेको छ ।