धुलाबारी, ९ मङ्सिर । “प्रविधिको सही प्रयोग गरौं लैङ्गिक हिंसा अन्त्य गरौं” भन्ने मूल नाराका साथ आजबाट ३४ औं लैंङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ ।
मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका कार्यालय, स्थानीय संघसंस्थाहरुको संयुक्त आयोजनामा धुलाबारी चोकबाट दक्षिण खयरडाँगी हुँदै प्रभातफेरि कार्यक्रम गरिएको छ ।
प्रभातफेरि कार्यक्रममा नगरप्रमुख गोपालचन्द बुढाथोकी, उपप्रमुख मिना उप्रेती, कार्यकारी प्रमुख अग्निप्रसाद अधिकारी, पुरुष सञ्जालका अध्यक्ष मोहन काजीलगायत जनप्रतिनिधि, विद्यार्थी, संघसंस्थाको प्रतिनिधिहरु, शिक्षक, राजनीतिक दल, कर्मचारी र प्रहरीहरु सहभागी भएका थिए ।
र्यालीमा “हिंसा मुक्त घर, सरक्षित समाज, मनौता ताडौं लैंङ्गिक हिंसा विरुद्ध बोलौं, लैंङ्गिक हिंसा अन्त्य गर्नु प्रत्येक नागरिकको दायित्व हो” जस्ता दर्जनौं नारासहितको प्ले कार्ड बोकिएको थियो ।
र्यालीपछि भएको कोणसभालाई नगरप्रमुख बुढाथोकी, उपप्रमुख उप्रेती, पुरुष सञ्जालका अध्यक्ष काजी, रमेश गुरुङलगायतले सम्बोधन गर्दै सबै प्रकारका हिंसा अन्त्य गरी समतामूलक समाज निर्माण गर्नु आजको दायित्व भएको बताउनुभयो ।