२४ मंसिर २०८२, मङ्गलवार

झापा–१ : महामन्त्री शर्मा कांग्रेसको सर्वसम्मत उम्मेद्वार सिफारिस

२४ मंसिर २०८२, मङ्गलवार
Image

झापा, २३ मंसिर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा आउँदो प्रतिनिधिसभा चुनावको उम्मेद्वारको रुपमा आफ्नो निर्वाचन क्षेत्रबाट सर्वसम्मत सिफारिस हुनु भएको छ ।

महामन्त्री शर्मा झापा निर्वाचन क्षेत्र नं. १ का पछिल्लो आम चुनावबाट बिजयी प्रतिनिधिसभाका सदस्य हुनुहुन्छ ।

आज धुलाबारीमा बसेको पार्टीको क्षेत्रीय कार्य समिति, महाधिवेशन प्रतिनिधि र महासमितिका सदस्यहरुको संयुक्त बैठकले उहाँको नाम झापा निर्वाचन क्षेत्र १ को पार्टीको उम्मेद्वारको रुपमा सर्वसम्मत ढंगले सिफारिस गरेको हो ।

‘उहाँको नाम सर्वसम्मत रुपमा सिफारिस भयो’ पार्टीका क्षेत्रीय सभापति इन्द्र बुढाथोकीले लोकतन्त्र पोस्टसँग भन्नुभयो– ‘बैठकका सबैले एउटै स्वरले विश्वप्रकाश शर्माको नाम लिनुभयो ।’

पार्टीले आगामी फागुन २१ मा हुन लागेको आम चुनावका लागि सम्भावित उम्मेद्वारको नाम सिफारिस गर्न क्षेत्रीय समितिलाई निर्देशन दिएको थियो । आज सिफारिस भएको नाम जिल्ला समितिमा पठाइने र मंसिर २५ गतेसम्ममा जिल्लाले प्रदेश समितिमा पठाउने कार्य तालिका रहेको बुढाथोकीले बताउनुभयो ।

यसअघि मेचीनगरका पूर्व मेयर बिमल आचार्य, पूर्व जिल्ला उपसभापति राम कट्टेल, जिल्ला उपसभापति केशवराज पाण्डे र धुलाबारी क्याम्पसका पूर्व प्रमुख पुष्प पौडेल लगायतको नाम नेपाली कांग्रेसबाट झापा निर्वाचन क्षेत्र नं. १ को सम्भावित उम्मेद्वारको रुपमा चर्चामा थियो ।