झापा, २८ पुस । दमक नगरपालिका वडा नं. २ स्थित हिलोको दलदलमा भासिएको अवस्थामा फेला परेको एउटा पोथी चित्तलको आइतवार उद्धार गरिएको छ ।
दिउँसो डेढ बजेतिर स्थानीय काली मन्दिर पछाडिको ध्रुव गुरागाईको जग्गामा हिलोमा भासिएर हिँडडुल गर्न नसक्ने अवस्थामा उक्त जंगली जनावर चित्तललाई स्थानीयबासीले फेला पारेका थिए ।
सब डिभिजन बन कार्यालय दमक र इलाका प्रहरी कार्यालय दमकको टोलीले चित्तललाई दलदले भासबाट बाहिर सुरक्षित रुपमा निकालिएको जिल्ला बन कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।
उद्धारपछि चित्तललाई कनकाईस्थित जामुनखाडी सामुदायिक बन कार्यालयलाई जिम्मा बुझाइएको बन रक्षक वीरेन्द्र पौडेलले बताउनुभयो । सामुदायिक बनमा जंगली जनावरको संरक्षण गरिदै आएको छ ।
जिल्लाका विभिन्न स्थानमा फेला पर्ने जंगली जनावरहरु संरक्षण र उपचारका लागि जामुनखाडी सामुदायिक बनमा सञ्चालित संरक्षण केन्द्रमा पुर्याइने गरेको छ ।