४ माघ २०८२, शनिवार

तरुल उत्सव

माटोबाट उठेको भरोसाको उत्सव

४ माघ २०८२, शनिवार
Image

बाहुनडाँगीको माटोले फेरि एकपटक प्रमाणित गरेको छ कि संघर्षले थिचिएका गाउँहरू पनि सम्भावनाले उज्यालिन सक्छन् ।

मेचीनगर नगरपालिका वडा नम्बर ४ बाहुनडाँगीमा सम्पन्न चौथो अन्तर्राष्ट्रिय तरुल उत्सव कुनै साधारण महोत्सव थिएन । यो दुःखका कथा सुनाउने कार्यक्रम होइन, सम्भावनाका उदाहरण देखाउने सामाजिक–सांस्कृतिक अभियान थियो ।

एक समय ‘गरिबको खाना’ भनेर हेला गरिएको तरुल आज बाहुनडाँगीमा स्वास्थ्य, संस्कृति, पर्यटन र आत्मसम्मानको प्रतीक बनेर उभिएको छ । यही रूपान्तरणको चौथो अध्यायका रूपमा सम्पन्न यो उत्सवले बाहुनडाँगीलाई फेरि एकचोटि राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय संवादको केन्द्र बनाएको छ । 

भ्रमण वर्षदेखि सीमापार सहकार्यसम्म

उत्सवले कोशी प्रदेश भ्रमण वर्ष २०८२ को भरपुर प्रचार–प्रसार गर्यो । स्टेजदेखि स्टलसम्म, अतिथिदेखि स्वयंसेवकसम्म, उत्सव स्वयं भ्रमण वर्षको सन्देश बोकेर नेपाल, भारत र भूटानसम्म फैलियो ।

कोशी प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री माननीय चिन्तन पाठकज्यूको प्रमुख आतिथ्यतामा उद्घाटन भएको समारोहमा देश–विदेशका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

उत्सवकै क्रममा सिक्किमको ‘डिस्कोभर तेमी’ नामक संस्थासँग नेपाल–सिक्किमबीच तीन वर्षे कृषि, संस्कृति र पर्यटन सहकार्य सम्बन्धी समझदारी भयो । सिक्किमका मुख्यमन्त्री माननीय पिएस गोलेज्यूको ‘कनेक्ट टु अर्थ’ भन्ने नारालाई व्यवहारमा उतार्ने गरी सुरु गरिएको ‘तरुल टुर’ अभियानले सीमापार ग्रामीण समृद्धिको नयाँ बाटो खोलेको छ ।

उद्घाटन, जसले सन्देश दियो

उत्सवको उद्घाटन औपचारिक रिबन काटेर होइन, तरुलबाट बनेको केक, एकैसाथ गुञ्जिएका शङ्खध्वनि र नौमती बाजाको सामूहिक धुनका साथ गरिएको थियो । यसले के स्पष्ट सन्देश दियो भने हामी आधुनिक हुन सक्छौँ, तर जरा बिर्सेर होइन ।

उत्सवको सबैभन्दा भावुक र ऐतिहासिक क्षण रह्यो, कार्गिल युद्धमा सहभागी वीर सुरेश क्षेत्रीज्यू, उहाँकी स्वर्गीय माता मनमाया थापा र स्वर्गीय दाजु महेश थापाको स्मृतिमा ‘मातृछायाँ महेश्वर–सुरेश्वर मार्ग’ निर्माणको शुभारम्भ ।

हात्ती प्रभावित गाउँभित्र पर्ने करिब डेढ किलोमिटर लामो बाटो टाइल्ससहित निर्माण गरिने घोषणा सामाजिक व्यक्तित्व नेत्रराज थापाज्यूबाट गरिएको हो । संरक्षण र विकास सँगसँगै सम्भव छ भन्ने सन्देश यसभन्दा बलियो अरू के हुन सक्थ्यो ?

संस्कृति, जसले आत्मा बोल्यो

उत्सव सांस्कृतिक रूपमा अत्यन्त समृद्ध रह्यो । नेपाल, भारत र भूटानका चर्चित कलाकारहरूको प्रस्तुति, डेजी बराइली, चन्दन लम्जेल, विमोचना लम्जेल, डा. टिका भण्डारी, कमलिकान्त भेटवाल, भानुभक्त ढकाल, सिद्धार्थ सिंह, गन्धर्व कलाकारहरू, आदिवासी जनजाति महासङ्घको जातीय प्रस्तुति, विद्यालयस्तरीय नृत्य तथा चित्रकला प्रतियोगिता, दार्जीलिङको शेर्पा नृत्य टोली, सिटोङको मादले टोली, नौमती बाजा, बाँसुरीका धुन, स्वास्थ्य शिविर, नेपाली सेनाबाट सर्पदंशसम्बन्धी सचेतना ।

यी सबैले उत्सवलाई संगीत, स्मृति र सन्देशको पर्वमा रूपान्तरण गरे । सबैको उपस्थितिले बनेको उत्सव राष्ट्रिय होमस्टे महासंघ नेपालका करिब ४० प्रतिनिधि, भारतका दार्जीलिङ, कोचबिहार, धनकुटा नगरपालिकालगायत क्षेत्र, ताप्लेजुङ, भूटान तथा नेपालका विभिन्न प्रदेशबाट आएका पर्यटनकर्मी, व्यवसायी, विद्यार्थी, राजनीतिक व्यक्तित्व किसान, पत्रकार र नागरिक समाजको उपस्थितिले यो उत्सव साँच्चै सबैको साझा मञ्च बन्यो ।

स्रष्टाहरूको सम्मान कार्यक्रममा अग्रज पत्रकार आदरणीय चन्द्र भण्डारीज्यूको स्पष्ट, ऊर्जावान, सशक्त उद्घोषले कार्यक्रमलाई हृदय विदारक बनाएको थियो ।

यो ऐतिहासिक उत्सव सफल बनाउन साथ दिनु हुने कोशी प्रदेश भ्रमण वर्ष सचिवालय, मेचीनगर नगरपालिका, राष्ट्रिय प्रकृति संरक्षण कोष, डिभिजन वन कार्यालय झापा, सहारा नेपाल चारपाने, सुरक्षा निकाय, पत्रकार मित्रहरू, कलाकार, स्वयंसेवक र सम्पूर्ण बाहुनडागीवासीप्रति आयोजक समितिको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ ।

अन्त्यमा, तरुल उत्सव तरुलको मात्र कथा होइन । यो कथा हो, गाउँमै सम्भावना हुन्छ भन्ने विश्वासको, संरक्षण र विकास सँगसँगै अघि बढ्न सक्छ भन्ने उदाहरणको र माटोलाई माया गरे भविष्य आफैँ फल्छ भन्ने आत्मबोधको ।

बाहुनडाँगीले फेरि भन्यो, हामी कमजोर छैनौँ, हामीले अवसर रोजेका हौँ ।

लेखकको बारेमा
Image
अर्जुन कार्की 'सीमा'

(ग्रामीण पर्यटन तथा प्रकृति संरक्षण अभियन्ता लेखक अर्जुन कार्की मेचीनगर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष हुनुहुन्छ ।)