शिक्षा
शिक्षा
मेचीनगर, ७ माघ । मेचीनगर–१२ धाइजनको सरस्वती बालकल्याण माविमा बुधवार बिहान १० बज्न अघि नै विद्यालय परिषरमा शिक्षकको पोशाकमा रहेका नयाँ अनुहारहरु देखिए । विद्यालयको गेटबाट प्रवेश गरेका विद्यार्थीहरुले आज विद्यालयमा नयाँ शिक्षक आउनु भएछ भन्ठाने । विद्यार्थीहरु पनि अलमलमा परे ।
अरु बेला नयाँ शिक्षक आउँदा त एक जना वा दुई जना मात्र आउँथे र तर आज दृष्य अलिक फरक थियो । यहाँ त ४० जना भन्दा बढी शिक्षकहरु विद्यालयमा उपस्थिति भएको देख्दा अझ अचम्मित भए उनीहरु । अरु बेला विद्यालयका शिक्षक मात्र देखेका उनीहरुका लागि आज फरक अनुभूति थियो ।
घण्टी बज्यो । सबै विद्यार्थी लाइनमा उभिए । नयाँ शिक्षकहरु पनि सबै उनीहरुको अघि उभिए । त्यहि लाइनमा उनीहरुले देख्दै आएका र चिनिएका व्यक्ति नगर शिक्षा अधिकारी होम भण्डारी पनि थिए । विद्यार्थीले सधैँ गर्ने नृत्य कर्म गरेर कक्षाभित्र गए । उपस्थित शिक्षकहरु केही क्षण पछि उनीहरुको कक्षामा पुगेर त्यहाँको शैक्षिक अवस्थाको बारेमा जानकारी लिए । विद्यार्थीको पढाई, विद्यालयको शैक्षिक तथा भौतिक अवस्था र विद्यालयले गरेको प्रगतिको बारेमा चासो दिएर अवलोकन गरे ।
यो दृष्य हो मेचीनगर शिक्षा तथा खेलकुद शाखाले आयोजना गर्ने नियमित प्रधानाध्यापकहरुको बैठकको । त्यो नयाँ अनुहार मेचीनगरका विद्यालयहरुको नेतृत्व गरिरहेका प्रधानाध्यापकहरुको हो । त्यहि बैठकमा सहभागि हुन मेचीनगरका ४५ वटा विद्यालयका प्रधानाध्यापकहरु यहाँ भेला भएका थिए । मेचीनगरका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर विकास गर्ने उद्देश्यले स्रोत केन्द्रको नियमित बैठकको यस विद्यालयमा आयोजना गरिएको थियो । घुम्ती बैठकले नगरका विद्यालयहरुले गरेका राम्रा अभ्यासहरु एक अर्कामा लागु गर्न सकिने उद्देश्यका साथ सुरु गरिएको हो । नगरले पहिलो पटक यो अभ्यास सुरु गरेको हो । यहाँ सहभागि प्रधानाध्यापकहरुले विद्यालयले गरेको सकारात्मक कामको खुलेर प्रशंसा गरेका थिए । यहाँ भएका राम्रा अभ्यासहरुलाई आफ्नो विद्यालयमा समेत लागु गर्ने बताए ।
विद्यालयका प्रअ शुक्रराज घिमिरेको सभापतित्व र मेचीनगर नगरपालिकाका मेयर गोपाल चन्द्र बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथि नगर शिक्षा अधिकारी होमनाथ भण्डारी, शिक्षा अधिकृति सुनिता भट्टराई, लक्ष्मीप्रसाद दाहाल, केशव खनाल, धुलावारी माविका प्रअ महेन्द्र विलास लुईँटेल, शहिद दशरथ चन्द्र माविका प्रधानाध्यापक केशव पौडेल, कन्चनजंगा आविका प्रअ घनश्याम पोखरेल, आदर्श माविका सहायक प्रधानाध्यापक हेमेन्द्र निरौला, बाल सुबोधिनी माविका प्रअ विश्व थापा, बलभद्र आविका सहायक प्रधानाध्यापक देबु बानियाँले विद्यालयले गरेका राम्रा अभ्यास र सुधार गर्नु पर्ने कुराहरु राखेका थिए । नगरप्रमुख बुढाथाकीले मेची आवि मेचीनगर १५ का प्रअ लोकेन्द्र थपलिया, नगर शिक्षा शाखाले सुरु गरेको यो घुम्ति बैठक नियमित भएमा नगरको शिक्षामा अझ सुधार आउने बताउनु भयो ।
बैठकमा यस वर्षदेखि कक्षा ८ को परीक्षा केन्द्रीकृत गरेर सन्चालन गर्ने निर्णय गरिएको छ । जसका लागि नगरका १८ वटा विद्यालयलाई परीक्षा केन्द्रका रुपमा प्रस्ताव सारिएका नगर शिक्षा अधिकारी भण्डारीले बताउनु भयो ।
फागुनको नियमित बैठक कन्चनजंगा आविमा गर्ने निर्णय समेत गरिएको छ ।
करिब ९ सय विद्यार्थी अध्यनरत यो विद्यालय जिल्लाकै राम्रो विद्यालयभित्र बन्दै गएको छ ।