१० माघ २०८२, शुक्रवार

धुलाबारीमा तीन दिने रैथाने स्वाद तथा सांस्कृतिक महोत्सव हुँदै

१० माघ २०८२, शुक्रवार
Image

मेचीनगर, ९ माघ । नन्दा करिडोर प्रवद्र्धन केन्द्रको आयोजनामा धुलाबारीमा तीन दिवसीय रैथाने स्वाद तथा सांस्कृतिक महोत्सव २०८२ हुने भएको छ । 

दोस्रो संस्करणका रूपमा आगामी माघ १५ देखि १७ गतेसम्म मेचीनगर–१० नन्दा करिडोरमा महोत्सव सञ्चालन हुने आज पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । 

प्राचीन वस्तुहरूको खुल्ला प्रदर्शनी, खुल्ला चित्रकला प्रदर्शनी, रैथाने खानाको महत्व सम्बन्धि प्यानल छलफल, रैथाने खाना पाक प्रतियोगिता विभिन्न सांस्कृतिक नृत्य झाँकी प्रदर्शन र खुल्ला बुद्धिचाल प्रतियोगिता महोत्सवका मुख्य आकर्षणहरू रहेको नन्दा करिडोर प्रवद्र्धन केन्द्रका अध्यक्ष धर्मेन्द्र खड्काले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । 

महोत्सव सम्पन्न गर्नका लागि रु. चार लाख अनुमानित खर्चको आँकलन गरिएका छ । जसका लागि रु.एक लाख ३३ हजार पर्यटन कार्यालय काँकडभिट्टासँग सम्झौता भएको र रु.दुई लाख मेचीनगर नगरपालिकासँग माग गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँघरमा पाईने रैथाने खाद्यान्न शहर बजारका सुविधा सम्पन्न र पाँचतारे होटलमा पुर्याउन पनि महोत्सव आयोजना गर्न लागिएको हो । 

महोत्सवमा कुल १० वटा स्टल रहने, र सवै स्टल निःशुल्क रूपमा आयोजकले व्यवसायीलाई उपलब्ध गराउने छ । चारवटा स्टल विभिन्न जातजातिका रैथाने खानाका परिकार र बाकी स्टल अन्य प्रकारका हुनेछन् । स्टलहरू रैथाने परिकार तथा सामान विक्रीका हुने सचिव निर्मल दाहालले जानकारी दिनुभयो । 

रैथाने खानामा कोदोको केक, कोदोको ब्रेड,कोदोको सुप, कोदो र चामलको सेल रोटी, कोदोको ढिँडो, टमाटरको अचार र फापरको पकौडा स्टलमा रहने छन् । 

महोत्सवमा किसान समुदायको परिकारहरू, झिँगे माछा फ्राई, गंगटा फ्राई, घुँगी झोल हालेको, पैँया माछा फ्राईसहित किसान समुदायको परम्परागत र आफ्नो पहिचान झल्किने सामुहिक नृत्य प्रदर्शन हुने छ । 

नेवार समुदायको परिकार यमरी चामलको पिठो, बारा कालो दालको रोटी, चटामरी चामलको रोटी, छोइला राँगाको मासु, नेवारी खाजा सेटसहित नेवारी सांस्कृतिक कार्यक्रममा चर्या, कुमारी बज्र योगिनी मञ्जु श्री नृत्य, लाखे, धिमे तथा नेवारी सांस्कृतिक नृत्य समेत हुनेछ 

राई समुदायको वाचीपा कुखुराको मासु र भात, कोदोको जाँड,फिलुङ्गेको अचार, कोदोको ढिँडो र चण्डी नाच प्रस्तुत हुने छ । मेचे समुदायको परिकारहरू योङ खारइ चामलको पिठो र मासु, बिथै व्यख्रै रक्तिको परिकार, लाफा फेल्खा सागको परिकार, नाफनम लादु माछाको धुलो अच्चार, थाछो बाठन कच्छुको अचार, पैस्था बाठन बेलचनको अचार र मेचेको सांस्कृतिक बागुरूम्बा,बारद, सिख्ला, बैसागु नृत्यहरू महोत्सवमा प्रदर्शन हुने छ । 

कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिका वडा नम्बर –१० वडा अध्यक्ष नारायण खनाल, पर्यटन कार्यालय काँकडभिट्टाका प्रमुख छविलाल खतिवडालगायतले पत्रकारहरूको जिज्ञासाको जवाफ दिनुभएको थियो ।