१९ माघ २०८२, आइतवार

निधि, गोमेन्द्र र इस्ट होराइजनका विद्यार्थीले जिते वक्तृत्वकला प्रतियोगिता

१९ माघ २०८२, आइतवार
Image

झापा, १८ माघ । पूर्वाञ्चल क्यान्सर अस्पतालले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा विर्तामोडको निधि अंग्रेजी माध्यमिक विद्यालयकी छात्रा सोफिया खड्का प्रथम हुनु भएको छ ।

‘क्यान्सरमुक्त भविष्यका लागि युवा’ विषयक उक्त प्रतियोगिता अस्पतालको अडिटोरियम हलमा आज सञ्चालन भएको थियो । प्रतियोगितामा झापाका १० वटा माध्यमिक विद्यालय एवम् कलेजका विद्यार्थीले भाग लिएका थिए ।

प्रतियोगितामा विर्तामोडकै गोमेन्द्र कलेजकी छात्रा यमुना निरौला द्वितीय र मेचीनगरको इस्ट होराइजन अंग्रेजी माध्यमिक विद्यालयकी छात्रा सदीक्षा अधिकारी तृतीय हुनु भएको थियो ।

अस्पतालले प्रथम, दोस्रो र तेस्रो हुनुभएका छात्रालाई पदक, प्रमाणपत्रसहित पुरस्कृत गरेको थियो । अस्पतालकी सञ्चालक एवम् डा. अञ्जलि कार्की प्रसाई, मेडिकल सुपरिन्टेन्डेन्ट एवम् प्रमुख अतिथि डा. वीरेन्द्र यादव, जनसम्पर्क अधिकृत प्रमिश गिरी लगायतले सो अवसरमा बिजयी विद्यार्थीलाई प्रमाणपत्र तथा पदक प्रदान गर्नु भएको थियो ।

अस्पतालकी सञ्चालक डा. अञ्जलि कार्की प्रसाईको अध्यक्षता र मेसु डा. यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जनसम्पर्क अधिकृत गिरीले स्वागत र क्यान्सर रोगको उपचार र सचेतनाका विषयमा डा. वीरेन्द्र यादवले मन्तब्य व्यक्त गर्नु भएको थियो ।

प्रतियोगितामा प्राध्यापक रुद्र थापा, पत्रकार मोहन काजी र सामाजिक अभियन्ता सन्तोष अग्रवालले निर्णायकको भूमिका निर्वाह गर्नु भएको थियो ।