१३ फागुन २०८२, बुधवार

एसियन हाइवेको पूर्वी खण्डमा धमाधम कालोपत्रेः आठ किलोमिटर सम्पन्न

१३ फागुन २०८२, बुधवार
Image

झापा, १३ फागुन । निर्माणाधीन एसियन हाइवेको काँकडभिट्टा–लौकही सडकखण्ड अन्तर्गत पूर्वी क्षेत्रमा निर्माण कार्यले गति लिएको छ । हालसम्म यस खण्डको विभिन्न स्थानमा गरी कुल आठ किलोमिटर सडकमा पहिलो तहको कालोपत्रे सम्पन्न भएको छ । 

काँकडभिट्टादेखि केरखासम्मको ४५ किलोमिटर क्षेत्रमा सडकको दुवैतर्फ कालोपत्रे गर्ने काम तीव्र गतिमा भइरहेको काँकडभिट्टा–लौकही सडक योजना कार्यालयले जनाएको छ । पूर्वी खण्ड दमक कार्यालयका आयोजना प्रमुख सुनिलबाबु पन्तका अनुसार हालसम्म चार हजार ५९५ मिटर सडकमा कालोपत्रे भइसकेको छ । 

मेचीनगर, विर्तामोड, शिवसताक्षी नगरपालिका र कमल गाउँपालिका क्षेत्रका विभिन्न खण्डको सडकमा दाँयातर्फ एक हजार २८० र बायाँतर्फ दुई हजार ७५५ मिटर लेनमा पहिलो सतहको कालोपत्रे सकिएको पन्तले जानकारी दिनुभयो । आयोजनाले आगामी असार मसान्तसम्ममा ३० किलोमिटर सडकको दुवैतर्फ पहिलो चरणको कालोपत्रे गरिसक्ने लक्ष्य राखेको छ ।

सडक निर्माणसँगै सहरी क्षेत्रमा ट्राफिक चाप व्यवस्थापनका लागि आधुनिक ओभरपास निर्माणको काम पनि अघि बढेको छ । मेचीनगरको चारआली चोक र विर्तामोडको चारपानेमा ओभरपास निर्माण भइरहेको छ । चारआलीमा पूर्वतर्फ २५१ मिटर र पश्चिमतर्फ २२६ मिटर तथा चारपानेमा पूर्वतर्फ २०७ मिटर र पश्चिमतर्फ ३०८ मिटर लामो ओभरपास निर्माण भइरहेको आयोजनाले जनाएको छ । यी ओभरपासमा पैदलयात्री र सवारी साधनका लागि छुट्टाछुट्टै मार्ग रहनेछन् ।

वन्यजन्तु संरक्षणलाई ध्यानमा राख्दै चारआली जङ्गल क्षेत्रमा हात्ती लगायतका जंगली जनावर ओहोरदोहोर गर्न ‘एनिमल अन्डरपास’ पुल समेत निर्माण भइरहेको छ । यो नेपालकै सडक पूर्वाधारमा प्रयोग गरिएको आधुनिक र वातावरणमैत्री प्रविधि मानिएको छ ।

एसियाली विकास बैंकको १० अर्ब रुपैयाँ सहयोगमा सुरु भएको यस आयोजनाको ठेक्का एभ्रास्कन कालिका जेभीले लिएको छ । निर्माण कम्पनीले सडकमा पर्ने कल्भर्ट र साना पुलहरूको कामलाई पनि सँगसँगै अगाडि बढाएको छ । यद्यपि, मुख्य सहरी क्षेत्रमा अझै पनि करिब ४०० वटा विद्युत्का पोल सार्न बाँकी रहँदा काममा केही चुनौती देखिएको छ । आयोजना प्रमुख पन्तले विद्युत् प्राधिकरणसँग समन्वय भइरहेको र पोल सारेलगत्तै ती क्षेत्रमा पनि कामले थप गति लिने बताउनुभयो ।

काँकडभिट्टादेखि लौकहीसम्मको ९५.७६ किलोमिटर क्षेत्रमा निर्माणाधीन यो राजमार्ग सहरी क्षेत्रमा छ लेन र ग्रामीण क्षेत्रमा चार लेनको हुनेछ । सरकारले यसको प्रभावकारी कार्यान्वयनका लागि दमक र इटहरीमा छुट्टाछुट्टै कार्यालय स्थापना गरी कामलाई अगाडि बढाएको छ । दक्ष जनशक्ति र निर्माण सामग्रीको केही अभाव देखिए पनि तोकिएको समयमै काम सक्ने गरी निर्माण प्रक्रियालाई तीव्रता दिइएको कार्यालयको भनाइ छ ।