साता दश दिनअघि मेरो सर्वाधिक प्रियमित्र दीपेन्द्रराज तिम्सिना अस्वस्थ्य हुनुभएको खबर पाएलगत्तै मलाई निकै असजिलो लागेको थियो । मन, बचन र कर्मले नै अत्यन्तै सादा–सादगी र सात्विकपात्र उहाँ, यो के भयो होला ! किन यस्तो भयो होला ! सुन्दै गर्दा ऐँठन परेजस्तै भएको थियो । उहाँलाई भेट्न चाहे, दुरीका कारण सम्भव थिएन, भएन । फोनमा कुरा गर्न चाहे, निस्लोट हुनुहुन्थ्यो क्या र ! त्यो पनि सम्भव भएन । परिवारजनबाट कुरा लिए, बुझेँ र स्वास्थ्यलाभको कामना गरेँ । भूपेन्द्रजीसँग नियमित सम्पर्कमा थिएँ । अवस्था बुझिरहेको थिएँ ।
म र मजस्ता कैयौँ साथीभाइ र आफ्नाआफन्तको तर्फबाट एकजना साथीप्रतिको यो शुभेच्छापूर्ण कामना, बुवा–आमासहित परिवारजनको हजार चाहना, हामी सबैको प्रार्थना र सुविधासम्पन्न अस्पतालमा विषयविज्ञ चिकित्सकको कठोर यत्नप्रयत्नले पनि काम गरेन । अन्ततः जे नहुनुपर्ने थियो, त्यो भएरै छाड्यो । २०८२ फागुन २० गते हाम्रा निमित्त सर्वाधिक अप्रिय क्षण बनेर निम्तियो । दीपेन्द्रजीको भावबिह्वल श्रीमती, मेधावी छोरी र निजआश्रित तिम्सिना परिवारजनमा बज्रपात आइलाग्यो । मन जीर्ण भएसँगै गलेको छ, दीर्घजीवन चुँडिएसँगै उहाँको सम्झनामा शीर ढलेको छ, बोझिलो पहाडले थिचे झैँ भएको छ । दैवका उत्तराधिकारी हामी– नियत र नियति व्योहोर्नुपर्ने ! यो सबै असजिलो क्षण, मानवीय पीडा र एकोहोरो रोदन सहन गर्न सक्ने शक्ति मिलोस् ! गहिरो शोक–समवेदनासहित दिवंगत प्रिय दीपेन्द्रराज तिम्सिनाप्रति अश्रुभावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु ।
पथरी शनिश्चरे नगरपालिका वडा नं. १ निवासी दीपेन्द्रराज तिम्सिनाको यो अपत्यारिलो देहावसानसँगै सामाजिक सम्बन्ध कायम र सञ्जालको पहुँचमा रहेको आममानिस शोकमग्न रहेको देखिन्छ, भेटिन्छ । एउटा अपत्यारिलोस्वरुप गुज्रिएको यो क्षणमा उहाँले कमाउनुभएको मानवीय मनको मापन पनि होला शायद ! सबैको मन र ध्यान दीपेन्द्रराजप्रति खिचिँएको छ ।
व्यापार र खोजी लेखनलाई आफ्नो पेशा ठान्नुहुने दीपेन्द्रराज सक्रिय जीवनकालभर खोजमूलक अध्ययन र अनुसन्धानमा निर्लिप्त हुनुहुन्थ्यो । लेखनका निमित्त कुनै पनि विषय उठाएपछि विश्राम नलिञ्जेलसम्म आवश्यक परे बरु दगुर्न तयार हुने उहाँ औसतमाझ एकदमै भिन्न हुनुहुन्थ्यो । विषयवस्तुगत लेखन र लेखनकलामाथिको आत्मविश्वास उहाँको राज थियो, साँच्चिकै दीपेन्द्रराज हुनुहुन्थ्यो । सिद्धहस्त लेखनबाजका रूपमा भिन्दै पहिचान बनाउनुभएको दीपेन्द्रराजले विकसित आफ्नो पृथक व्यक्तित्वसँगै हाम्रो समाजको नामरोशन गरिरहनुभएको थियो, भूराजनीतिक मानचित्रमा अलग्यै परिचय बढाइरहनुभएको थियो । संवाददाताका रूपमा रिपोर्टिङ गर्न छाडेयता पछिल्ला दिनहरूमा दर्जनौँ पुस्तकाकार बाहिर ल्याउनुभयो, सार्वजनिक गर्नुभयो र समाजलाई ठूलो गुण लगाउनुभयो । दर्जनौँ पुस्तकाकार बाहिरिए पनि ‘इतिहासमा पथरी शनिश्चरे’ ‘गुमनाम एक इतिहास ः बिसे नगर्ची’ र ‘माईखोलादेखि पुनर्वाससम्म’ जस्ता कालजयी पुस्तकाकारले ख्याती कमाउन सक्नुभएको दीपेन्द्रराजको अवशानमा उहाँकै शब्दाक्षरहरू स्तब्ध छन् । इतिहास लेखिनुपर्ने व्यक्तिको अवशानले लेखकीय इतिहासका पानाहरू मौन क्रन्दनमा अँध्यारो मुख लगाइरहेका छन्, वास्तवमै चुपचाप रोइरहेका छन् । सबैलाई जगाउन सक्ने, सबैलाई अटाउन सक्ने र सबैसँग हातेमालो गर्न सक्ने एउटा भिन्न सामथ्र्यको रूपमा समाजको अभिन्न बनेर उभिनुहुने अचानक ‘दीप’ निभ्नु उज्यालोको बिहानीको आशले पनि अबेरसम्म टोलाइरहनु हो ।
सञ्जालमा सम्झना र श्रद्धार्पण
आज प्रतिनिधिसभा निर्वाचनको अघिल्लो दिन, निर्वाचन आचारसंहिता निर्देशित मौनअवधि । आममानिसकका हातहात उपलब्ध सामाजिक सञ्जाल नैतिक नियन्त्रण र नियमनकै कारण मौन भए पनि महाप्रस्थान गर्नुभएका एकजना विशिष्ठ गुणसम्पन्न पात्रका नाममा, सम्मानमा र सम्झनामा पोखिएका भाव बोकेर तैरिएको छ । एकोहोरो र अविराम लगन, इमान, निष्ठासहित हुर्किएको बिचार र व्यवहारनिर्देशित व्यक्तित्वको अभाव खड्कँदो अवस्था चित्रित भइरहेको छ । उहाँको व्यक्तित्वलाई बिचारमा अनुवाद गर्ने, व्यवहारलाई बिचारको कसीमा विश्लेषण गर्ने र यसको सुक्ष्म संश्लेषणपछि ग्रहण गर्न योग्य विषयवस्तु निखार्ने प्रयत्न भइरहेको छ ।
विद्यावारिधीका निमित्त शोधार्थी स्तम्भकार केशव निरौलाको भाषामा ‘मोरङ– पथरी शनिश्चरेको माटालाई शब्दमा उकेरिदिने दीपेन्द्रराज तिम्सिना केवल कुशल लेखक र खोजमूलक पत्रकार मात्र होइन, समयका साक्षी हुनुहुन्थ्यो । ‘गुमनाम एक इतिहास ः बिसे नगर्ची’मार्फत ओझेलमा परेको पात्रलाई उज्यालोमा ल्याउने उहाँको साहसिक खोजले प्रमाणित ग¥यो– उहाँ इतिहास लेख्नुहुन्नथ्यो, इतिहास बोलाइदिनुहुन्थ्यो । ‘पथरी शनिश्चरे नगरपालिका एक चिनारी’, ‘इतिहासमा पथरीशनिश्चरे’, ‘माईखोलादेखि पुनर्वाससम्म’ जस्ता कृतिहरूले उहाँको कलमलाई केवल अक्षर होइन, पहिचानको दीप बनाइदियो ।
उहाँको बोलीमा रहेको नम्रता, व्यवहारमा आत्मीयता र किताबमा केही गल्ती पो छ कि राम्ररी हेरिदिनुु भन्ने आवाज म कसरी भुलूँ । दैवको लीलाअगाडि केही नलागेर आज उहाँ भौतिक रूपमा टाढा भए पनि उहाँले सुरक्षित गरिदिनुभएको इतिहास, उहाँले जगाइदिएको चेतना र उहाँले छोड्नुभएको अक्षर–विरासत सधैं जीवित रहनेछ । तपाईं अब स्मृतिको आकाशमा एक अजर तारा बन्नुभएको छ । हामी तपाईंलाई शब्द–शब्दमा सम्झिरहनेछौँ । भावपूर्ण श्रद्धाञ्जली । आत्माले चिरशान्ति पाओस् ।
यसअघि र पछिसम्म सम्झँदा
उहाँ उम्दा पत्रकार र म राजनीतिक कार्यकर्ता । राजनीति र पत्रकारिताबाहिर पनि असरल्ल विषयवस्तुहरू कोट्याइरहनुहुन्थ्यो उहाँ । कुनै एउटा विषयको अन्तर्य विकासले सिर्जना गर्ने साइनोसम्बन्धलाई अर्कोसँग जोड्नुहुन्थ्यो । ज्ञानआर्जनको ब्यग्र चाहना, धैर्यतापूर्वक सुन्न सक्ने क्षमता, बडा जिज्ञासु स्वभाव, चासो र चिन्ताको उत्कर्ष, मलिन आभा र मृदुभाषी उहाँ । विभिन्न विषय, प्रसङ र सन्दर्भमा सघन कुराकानी भइरहन्थ्यो । एकोहोरो बहसभन्दा पनि तथ्यगत विमर्श गर्न चाहने उहाँको स्वभाव मेरालागि निकै कायदा लाग्दथ्यो । यसकारण म पनि उहाँसँग सँगसँगै हुन भ्याएसम्म समय निकाल्थेँ । चिया खान मैले बोलाएको हो नि दाइ ! भैगो, पहिलो कपको पैसा म दिन्छु, यसपछि थपिएको चाहिँ तपाईले दिनुस् न त ! खिस्स हाँसो अटाउन सक्ने विषयवस्तु पनि वार्तालापको अर्को बसाइँको विषय बन्थ्यो ।
दाइ, यो डुलन्ते फिरन्ते भाइलाई पनि समय दिनुस् न ! सँगसँगै चिया खाउँ न ! प्रायशः हायहैलोपछिको अर्को वाक्यांश हुन्थ्यो । प्रतिनिधिसभा निर्वाचन तयारीसम्बन्धी जुटिरहँदा प्रतिबद्धतापत्र बनाउने कामको संयोजन गर्नुपर्ने जिम्मेवारी मैले पाएको थिएँ । उहाँले थाहा पाउनुभएछ । नवीनतम् केही विषयवस्तुहरू रायस्वरुप सुझाउनुभयो । दोहोरो संवादपछि सर्लक्कै बुझाउनुभयो । यसक्रममा सँगसँगै चियागफ गर्न पाइएको थिएन । चिया खाने एउटा बहाना हुन्थ्यो, चियाभन्दा मिठा र पोषिला गफगाफ हुन्थे । निर्वाचनको काम, भागदौडको दिनचर्या र भ्याइनभ्याईको अवस्थाले माघ महिनाको मध्यान्तयता चिया खाइएको थिएन । अब त यो सन्दर्भ सधैँका लागि बिलय भयो, शुन्यांशमा प्रवेश भयो । उहाँलाई मनमा सजाएर सधैँभरि सम्झँदा भन्नुहुन्थ्यो–
१) दाइ, तपाई नियमित केही न केही लेखिरहनुहुन्छ । न अपाच्य शब्दको प्रहार देखिन्छ, न कसैको निन्दा, भत्सर्ना, आलोचना आदि सन्दर्भमा समय खर्चनुहुन्छ ! तपाईंको लेखनकला राम्रो छ, सामान्यतः कलात्मक लाग्छ र भाषा–शैलीमा रैथानेपन मिश्रित छ । टिप्पणी पनि खुशै भएको देख्छु, हेर्छु । जसले यतिसम्म पनि लेख्दैन, कमसेकम उसले टिप्पणी त गरेको छ ! तिनको टिप्पणी र टिप्पणीमार्फत लेखनको सिर्जनशीलताका लागि राजनीतिबाहेक लेखनको निरन्तरतालाई ध्यान दिनुस् !
२) तपाई कम्युनिष्ट राजनीतिमा हुनुहुन्छ । यतिबेला नेतृत्वमा पनि हुनुहुन्छ । नेपालका बामपन्थी र कम्युनिष्ट शक्तिहरू अवर्गीय हुँदै गए । कतिपयमा वर्गसम्बन्धी ज्ञान छैन, वर्गीय चरित्र, वर्गीय आचरण र वर्गीय चिन्तन आदि पनि छैन । कम्युनिष्ट पार्टीका नेताहरू परिवर्तनका पक्षधर जनताको जनसमर्थन लिएर गएसँगै हिजोका क्रुरशासक वर्ग अर्थात् राजाको आदेशमा नियुक्त भएका अञ्चालाधीश झैँ बन्ने गर्छन् । यदाकदा देखिँदा र भेटिँदा त्यस्तै लाग्छन् । खोइ कसरी होला र समाजवाद प्राप्तिको यात्रालाई सहज बनाउने ?
३) आजको मानिस सर्वगुण र सर्वज्ञानसम्पन्न त हुँदैन । हुन्छ भने पनि विरलै कोही हुन्छ होला ! कतिपय पढ्ने, लेख्ने र निष्कर्षका आधारमा मिटिङ बैठक बस्ने, सामुहिकता खोज्ने, सामुहिकताको जगमा योजना तर्जुमा गर्ने, निक्र्यौल हुनुपर्ने नीतिगत विषयवस्तुको आधार तयार गर्ने चलन हरायो । सामुहिकता होइन, व्यक्ति प्रधानको अवस्था विकास हुन थाल्यो । अझ भन्ने हो भने हामी अगुवा भनिएकै कतिपयको जीवनशैलीमा फेरबदल आयो । घरमा चुल्हो बल्ला नबल्ला तर महंगो सन्ध्याकालीन जीवनशैली दिनचर्या बन्दै गयो । कार्यकर्ता–संस्कृति नै बन्ने हो कि भन्ने खतरा बढ्यो । खोइ के गर्न सकिएला र !
४) हिजो हामीले परिवर्तनको झण्डा उठाइरहँदा वर्गीय मुद्धा प्रधान थियो । यही पृष्ठभूमिमा आन्दोलनले उचाइ लियो । यसबीचमा हाम्रो पुस्ता हुर्कियो, बढ्यो । समाजको अर्थराजनीतिक दृष्टिकोणले तयार गरेको जगमा उभिएर मित्रशक्ति र शत्रुवत् शक्ति पढिन्थ्यो, बुझिन्थ्यो र समदुरीमा सम्बन्ध कायम रहन्थ्यो । यसबेला रगत सबैको रातो हुन्छ, क्रान्तिकारी रगत तातो हुन्छ भनेर पढियो, पढाइयो । अहिले रगतभित्र जात, धर्मास्था, गुण आदि खोज्न थालियो । वर्गप्रधान मुद्धा डोरी काटिएको चंगाजस्तै भयो । कतिपय यस्ता लेखननिपूर्ण पात्रहरू छन्, जसले परस्पर तपाई हाम्रो थर लेख्न नजान्ने होइन, जान्दछन् तर जानिबुझी अत्यन्तै घृणा र हेयभावमा प्रस्तुत हुन्छन् ! कसरी होला वर्गीय समानता !
५) तपाईलाई राम्रोसँग थाहा छ– न यहाँ कसले के गर्दैछ भन्ने लेखाजोखा गर्ने कुनै सन्यत्र छ, न कसैले कहिल्यै कुनै मानेमुने राख्छ ! तथापि, मलाई भने थप केही विषयवस्तुको खोजअध्ययन र अनुसन्धान गर्ने हुटहुटि छ, लेखनसम्बन्धी धित मरेको छैन । आफू त घुमन्ते फिरन्ते भएर पनि केही फरक परेन । प्रेसले त मान्दैन । थोरै केही स्रोत जुटाउन सके भने अब म यो फलानो विषयमा बाँधिएर थप एउटा कृति तयार गर्ने योजनामा छु । थप योगदान गर्ने मन छ । यससँग अन्तरनिहित कन्टेटहरू के के हुन सक्छन् ? यससम्बन्धी रायसुझाव दिनुहोस् न !
६) एकाबेला मेराविरुद्ध एउटा आतिशवाजी आयो । उहाँले वस्तुस्थितिको सुक्ष्म अध्ययन गर्नुभएको रहेछ । एउटा चिया पसलमा बोलाएर भन्नुभयो– तपाई आफूलाई लागेको, देखेको, भोगेको र व्योहोर्नुपरेको यथार्थलाई जस्ताको तस्तै बाहिर ल्याउन खोज्नुहुन्छ । कुरा यही हो । यथास्थितिमा समाज रहन सक्दैन । परिवर्तन समयको माग हो, रुपान्तरण जरुरी छ । पात्र होइन, प्रवृत्तिमा परिवर्तन र रुपान्तरण जरुरी छ । गर्नुपर्ने यही हो तर यहाँ हामी कतिपयलाई तपाईको तरिका पच्दैन, जच्दैन । यद्यपि, मुद्दामा तपाई ठीक हुनुहुन्छ तर धान्नुहुन्छ कतिञ्जेल भन्ने मात्र हो ।
यस्ता धेरै समय, सन्दर्भ र विषयगत पक्षहरू छन्, जसले दिवंगत दीपेन्द्रराज तिम्सिनालाई सधैँभरि आँखैअघिल्तिर सम्झनामा ल्याइरहन्छ, सम्झिरहिन्छ । अल्पायूमा जानुभयो । केही अधुरा र केही अपुरा पक्षहरू छाडेर जानुभयो । आखिर तपाईले थालेका कामहरू पूरा गर्न सहकार्य गर्न सकिन्थ्यो, सँगसँगै जान पनि सकिन्थ्यो, अलिक चाँडो जानुभयो । के अटाउन सकिँदैन थियो र ? चितामा लमतन्न सुतेको साथीलाई आगोको लप्काले खाइरहेको परिकल्पना गरेँ, नजिकिन सकिनँ र गइनँ । यतिबेला अत्यन्तै मर्माहत भएको छु दीपेन्द्रराज !
जीवन ः जन्म–मृत्युको सम्बन्ध
सर्वाधिक सचेत प्राणी हुनुको नाताले सम्हालिनुपर्ने पनि छ । सम्हालिएर भन्दैछु– सामान्यतः मानिस मात्र होइन, आमरूपमा कुनै पनि जैविक प्राणी जन्मन्छ र समयक्रममा विश्राम लिन्छ । मानिस एउटा अवयव मात्र हो, घटना हो र परिघटना पनि हो । यहाँ कति मानिस बाँचे ? कति समय मानिस बाँचे भनेर भन्नुभन्दा पनि कस्ता मानिस बाँचे ? भनेर सोधिनुको पछाडि आउने उत्तर चाहिँ बाँच्नेका लागि निकै प्रेरणा र गर्विलो लाग्छ । तपाई गर्वको त्यो एउटा तारा हो, त्यो एउटा पुष्प हो र त्यो एउटा पुञ्ज हो, जो सधैँभरि नडगमगाइ मगमगाइ बाँचिरहनु हुनेछ ।
तपाईको समाजसेवा, त्यो पनि लेखन र सिर्जनामार्फत, अत्यन्तै त्यागभावका साथ । यो ठूलो कुरा हो । समाजले मृत्युपछि पनि स्मरण गरिरहने व्यक्तिको कोटिमा तपाई पर्नुहुन्छ । आफ्नो उर्वर जीवनलाई केवल आफ्नो व्यक्तिगत स्वार्थमा सीमित राख्नुभएन, समाज, राष्ट्र र मानवताका लागि खर्चनुभयो । हाम्रा लागि अर्थपूर्ण बनाउनुभयो । कैयौँ बेइमानमाझ सिद्धान्तनिष्ठ र इमानदार पात्रस्वरुप उभिएर एउटा व्यक्तित्व कमाउनुभयो । सत्य, न्याय र नैतिकताको बाटो अँगालो हाल्नुभयो । पाइताला छाम्दै र नाप्दै हिड्नुभयो तर कठिन अवस्थामा पनि नैतिक मूल्य र आदर्शमा दाग लाग्न दिनुभएन, जीर्ण अजीर्ण जस्तोसुकै बेलामा पनि यसलाई जोगाउनुभयो ।
अक्षरज्ञान भएको कलम बिक्दैन, बिक्ने कलम कहिल्यै टिक्दैन । परिवर्तनका पक्षमा लेख्न खोज्नेमाझ आफूलाई भ्रमरहित ढंगले चिनाउनुभयो, निर्भीक ढंगले उभ्याउनुभयो । समाजमा सकारात्मक सन्देश प्रवाह गर्न, जनापेक्षित परिवर्तन ल्याउन, आवाजविहिन नागरिकको आधारभूत आवश्यकताका रूपमा चिन्हित शिक्षा, स्वास्थ्य, राजनीति वा सामाजिक सुधारमा आवाज बनेर उल्लेख्य योगदान दिनुभयो । पुस्तकमार्फत शब्दोपहार पस्कँदै कैयौँ विधागत ज्ञान र सिर्जनाका धनी कहलिनुभयो । साहित्य, कला, विज्ञान वा शिक्षामा महत्त्वपूर्ण योगदान दिनुभयो ।
मानिस पदले ठूलो र प्रसिद्धि होइन, योग्यतम् गुणले चिनिन्छ, कहलिन्छ भन्ने यथार्थको दृष्टान्त बन्नुुभयो । मानवताप्रति समर्पित साधारण व्यक्ति तर असाधारण कर्म गर्नुभयो । आफ्नो गाउँ–समाजमा न्याय, सहयोग र सद्भाव फैलाउने मिसाल बोक्नुभयो । यहाँ तपाईले दिनुभएको सेवा, देखाउनुभएको सदाचार र छोडेर जानुभएको सकारात्मक प्रभाव गहकिलो छ ।
आखिर मानिसको जीवन कै नै रहेछ र ! कृति र सम्मत्ति नै सम्पत्ति रहेछ । तपाईले कमाउनुभएको सम्पत्तिको चाङमा उभिन सकियो भने समाजले गर्विलो अतीतप्रति सम्मान अर्पण गर्दै आशातीत सुन्दर, समुन्नत र समृद्धिको दिशामा फड्को मार्ने छ । यसलाई पछ्याइरहने संकल्प, दृढअठोट र विश्वाससहित पुनश्चः हार्दिक श्रद्धासुमन !