सांसद् चिनारी
सांसद् चिनारी
झापा, २४ फागुन । मुलुकको राजनीति र प्रणालीमा बेथिति र भ्रष्टाचारको चाङ रहेको अनुभूति भएपछि जागिर खान लोकसेवाको तयारी गरिरहेका बेला चार वर्ष अघि निशा डाँगीको विद्रोही युवा मन राजनीतितर्फ डोहोरियो । जागिर खाएर व्यक्तिगत जीवन सुधार्ने सोच त्यागेर जनताको सेवक बन्ने महान उद्देश्यका साथ उहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को झण्डामुनि गोलबद्ध हुने एउटा कठिन तर चुनौतीपूर्ण बाटोमा होमिनुभयो ।
निराशालाई आशामा बदल्ने अठोटका साथ राजनीतिमा होमिनु भएकी २९ वर्षीया उही निशा डाँगी झापा निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उम्मेद्वार बनेर २०८२ फागुन २१ को आम चुनावबाट ४५ हजार ६८० मत प्राप्त गरी प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभएको छ ।
उहाँको प्रतिनिधिसभामा यो दोस्रो यात्रा हो । यसअघि २०७९ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उहाँ २५ वर्षको उमेरमा समानुपातिक सिटतर्फ निर्वाचित हुँदा मुलुककै कान्छी सांसद् हुनुभएको थियो । समानुपातिक सांसदको रुपमा संसदमा प्रवेश गर्नु भएकी उहाँले युवाहरुको समस्या समाधानका लागि सदनमा निरन्तर आवाज बुलन्द गरिरहनु भयो ।
क्षमता र सक्रियताकै कारण जनताको मन जित्न सफल उहाँलाई यसपटकको आम निर्वाचनको परिणामले थप परिपक्व र जनअनुमोदित नेताको रूपमा स्थापित गरिदिएको छ ।
युवाहरुको प्रतिनिधि बनेर राजनीतिक क्षितिजमा उदाउनु भएकी उहाँ भद्रपुर नगरपालिका वडा नं. २ की स्थायी निवासी हुनुहुन्छ । उहाँ रास्वपाको हाल केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँले यसअघिको प्रतिनिधिसभामा पार्टीको सचेतकको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नु भएको थियो । उहाँले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तहको शिक्षा हासिल गर्नु भएको छ ।
भीमबहादुर र देवीमाया डाँगीको सुपुत्रीको रुपमा उहाँको जन्म २०५३ साल मङ्सिर १६ गते झापाको भद्रपुरमा भएको हो । पूर्णकालीन राजनीतिमा आउनुभन्दा अघि पाँच वर्षसम्म उहाँ पत्रकारिता क्षेत्रमा क्रियाशील हुनुहुन्थ्यो ।
पत्रकारिताबाट राजनीतिमा होमिदा उहाँलाई समाज, राजनीति र नागरिकका समस्या बुझ्न सहज भएको थियो । उहाँ भन्नुहुन्छ– “पत्रकारिताले मलाई समाज, नागरिकका वास्तविक समस्या र राजनीतिको भित्री पाटो बुझ्न सघायो ।”
निर्वाचनताका जनताको घरदैलोमा पुग्दा उहाँले झापा–१ का स्थानीय समस्या, जनचाहना र विकासका प्राथमिकतालाई बुझ्ने र समाधानका लागि प्रतिवद्धता व्यक्त गर्ने अवसर प्राप्त गर्नुभयो । भ्रष्टाचार, नाताबाद र ढिलासुस्तीको चर्को आलोचक रहँदै आउनु भएको उहाँ इमान्दार बनेर सुशासन कायम गर्न आफूहरुलाई मतादेश प्राप्त भएको मान्नुहुन्छ ।
“हामीलाई प्राप्त मतादेश इमानदारिता र सुशासनका लागि हो,” उहाँ दृढताका साथ भन्नुहुन्छ– “म आफ्नो भिजन र मिसनमा प्रष्ट छु । अबको यात्रामा मप्रति व्यक्त भएको जनविश्वास र भरोसालाई खेर जाने दिनेछैन । देशको हितमा काम गर्नेछु ।”
देश र जनताको हितमा सही नीति निर्माण र निर्णय गर्ने स्थानमा पुग्नु भएकी नवनिर्वाचित सांसद् डाँगीमा युवा जोश र जाँगरका साथै राजनीतिक अनुभव र परिपक्वता समेत उत्तिकै रहेको छ । युवा जोश, शैक्षिक निखार र संसदीय अनुभव प्राप्त उहाँबाट झापा–१ का जनताले मात्र होइन, जेनजी आन्दोलनपछि परिवर्तन चाहने सिङ्गो देशका युवाले ठूलो अपेक्षा राखेका छन् ।