विर्तामोड, १ चैत । बजार अनुगमनलाई प्रभावकारी बनाउन उपभोक्ता र अधिकारकर्मी जागरुक र प्रशासन जिम्मेवार हुनुपर्ने आज यहाँ आयोजित कार्यक्रमका वक्ताहरुले बताउनु भएको छ ।
विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा घरेलु तथा साना उद्योग कार्यालय भद्रपुर र उपभोक्ता जागरण अभियान नेपालको झापा शाखाद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वराज बरालले उपभोक्ता सचेत भए मात्र उपभोक्ता ठगिने क्रम रोकिने धारणा व्यक्त गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले आफू पनि एक उपभोक्ता भएको बताउँदै हरेक उपभोक्ताले लिने सेवा र प्रयोग गर्ने बस्तुको गुणस्तर बारेमा उचित जानकारी राख्नु पर्ने धारणा व्यक्त गर्नुभयो ।
अहिले बजारमा कतिपयले सामान लुकाएर कृत्रिम अभाव सिर्जना गर्न खोजिरहेको र कालोबजारी गरिरहेको जानकारी आएको जनाउँदै उहाँले त्यस्तो कार्य कानूनतः दण्डनीय भएकोले कार्वाही गरिने चेतावनी दिनुभयो ।
उपभोक्ता जागरण अभियान नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीले कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै प्रशासन जिम्मेवार नबन्ने हो भने उपभोक्तामाथि ब्रह्मलुट गर्ने दोषीहरुमाथि दण्ड दिन नसकिने बताउनुभयो ।
उहाँले उपभोक्ताहरुलाई जागरुक बनाउने अभियानको उद्देश्य रहेको जनाउँदै यसवर्षको दिवसको नारामा नै प्रशासनलाई समेत जिम्मेवार बनाउनु पर्ने उल्लेख भएको बताउनुभयो ।
घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरकी प्रमुख पुष्पलता आचार्यको अध्यक्षता र जिसस प्रमुख विश्वनाथ बरालको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा अभियानका उपाध्यक्ष राजेन्द्र घिमिरेले मन्तब्य राख्नु भएको थियो भने जिल्ला अध्यक्ष शालिकराम भट्टराईले संस्थाले गरिरहेका गतिविधिमाथि प्रकाश पार्दै उपभोक्ता हितका चुनौतीहरुका बारेमा चर्चा गर्नु भएको थियो ।
कार्यक्रममा उपभोक्ताहरुले राखको प्रश्नको जवाफ समेत आयोजकका तर्फबाट दिइएको थियो । कार्यक्रम विर्तामोड उद्योग वाणिज्य संघको अतिथि सदनमा भएको थियो ।