७ चैत २०८२, शनिवार

कचनकवलमा मखना खेतीको तयारी

७ चैत २०८२, शनिवार
Image

झापा, ७ चैत । नेपालकै होचो स्थानको रूपमा चिनिने झापाको कचनकवल गाउँपालिकामा पहिलोपटक व्यावसायिक रूपमा मखना (फक्स नट) खेतीको तयारी भएको छ । 

कचनकवल–४ स्थित प्रसिद्ध पर्यटकीय क्षेत्र कचनकवल स्तम्भ आसपासको सिमसार क्षेत्रलाई सदुपयोग गर्दै स्थानीय किसानहरूले मखना खेतीको तयारी गरेका हुन् । 

गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईका अनुसार, कचनकवल र छिमेकी झापा गाउँपालिकाका किसानहरू संगठित भएर पहिलो चरणमा करिब २५ बिगाहा जमिनमा मखना खेती लगाउँदैछन् ।

उहाँले निकट अर्को बर्षदेखि १५० बिगाहाभन्दा बढी क्षेत्रफलमा खेती विस्तार गर्ने तयारी गरिरहेको उहाँले बताउनुभयो । “यसको बजार र उत्पादन बारे हामीलाई पनि जानकारी छैन”, उहाँले भन्नुभयो, “किसानले ठूलो योजनाका साथ खेती लगाउँदै हुनुहुन्छ, जिल्लामै यो पहिलो खेती हो ।”

स्थानीय विनोद कुमार गणेशलगायतका अगुवा किसानहरूले बाँझो र दलदले सिमसार जमिनलाई भाडामा लिएर यसको व्यावसायिक खेती गर्ने विउ उत्पादन गरिरहेका छन् । उहाँले यसको रोपन बैशाख र जेठ महिनाभित्र गरिने बताउनुभयो ।

परम्परागत खेतीभन्दा भिन्न र विशेषगरी पानी जम्ने सिमसार क्षेत्रमा फस्टाउने मखनाका लागि कचनकवलको भूगोल निकै उपयुक्त मानिएको छ । 

गाउँपालिकाका कृषि शाखा प्रमुख संगम सापकोटाका अनुसार प्रशस्त पानी चाहिने यस खेतीका लागि यहाँको ओसिलो जमिन प्राकृतिक रूपमै वरदान सावित भएको छ । विगतमा छिमेकी मुलुक भारतको विहार र आसपासका क्षेत्रमा मात्र सिमित रहेको यो खेती नेपालमै व्यवसायिक रूपमा सुरु हुनुलाई कृषि क्षेत्रको ठूलो उपलब्धिका रूपमा लिइएको छ ।

कृषि शाखाले यस खेतीको प्राविधिक पक्ष र सम्भाव्यताको अनुगमन गर्ने तयारी गरिरहेको छ । स्वास्थ्यका दृष्टिकोणले ‘सुपरफुड’ मानिने र बजारमा उच्च माग रहेको मखनाको उत्पादनले स्थानीय किसानहरूको आर्थिक स्तर उकास्ने मात्र नभई, कचनकवलको पर्यटन र पहिचानलाई समेत नयाँ उचाइ दिने विश्वास लिइएको कृषि शाखा प्रमुख संगम सापकोटाले बताउनुभयो । 

अहिलेसम्म मखनाको बजार र प्रशोधन प्रविधिबारे स्थानीय स्तरमा पर्याप्त जानकारी नभए पनि किसानहरूले ठूलो लगानी र योजनाका साथ सुरु गरेको खेतीले झापामा कृषि विविधीकरणको नयाँ आयाम थप्ने उहाँको भनाई छ । 


लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।