मयागेजिनको सम्पादकीय
मयागेजिनको सम्पादकीय
नेपाली समाजमा ‘जेनजी’ शब्द र यो पुस्ताको तागतको चर्चा गत भदौ २३ र २४ को जेनजी विद्रोहपछि एकाएक चुलियो । इन्टरनेटको अथाह सञ्जालमा हुर्किएको यो पुस्ता जब सडकमा ओर्लियो, त्यसले राज्य संयन्त्रलाई मात्र हल्लाएन, बरु सामाजिक सञ्जालमाथिको बन्देज र भ्रष्टाचारविरुद्ध एउटा गहिरो चेतनाको शङ्खघोष गरिदियो । यो विद्रोह पुरातनवादी सोच र जीर्ण सामाजिक ढाँचालाई चुनौती दिने एउटा प्रस्थानबिन्दु थियो ।
‘जेनजी’ केवल सडकको आक्रोश मात्र होइन, यो त सिर्जना, नवप्रवर्तन र उद्यमशीलताको एउटा अजस्र मुहान पनि हो भन्ने तथ्यलाई आत्मसात गर्दै ‘लोकतन्त्र पोस्ट म्यागेजिन’को यस अङ्कमा हामीले झापाका १५ जना उदीयमान प्रतिभालाई ‘जेनजी हिरो’का रूपमा प्रस्तुत गरेका छौँ । हाम्रो उद्देश्य केवल १५ जना युवाको नाम छाप्नु मात्र होइन, बरु त्यस्ता ‘गरिखाने हिरो’हरुलाई खोज्नु थियो जो आफ्नै माटोमा पसिना बगाएर समृद्धिको सपना बुनिरहेका छन् ।
आजको तितो यथार्थ के हो भने, हरेक दिन विदेश पलायन हुन ठिक्क परेका हजारौँ युवाको ताँती देखिन्छ । ‘नेपालमा केही भविष्य छैन’ भन्ने एउटा नकारात्मक भाष्यले समाजलाई गाँजिरहेको बेला हाम्रा यी ‘जेनजी हिरो’हरूले ‘नेपालमै केही गर्न सकिन्छ’ भन्ने आशाको दियो बालेका छन् । उनीहरूको पसिना र पौरखको सुगन्धले झापाको उर्वर भूमि मात्र होइन, सिङ्गो मुलुक नै मगमगाइरहेको छ । यी युवाहरू भोलिका कर्णधार मात्र होइनन्, आजकै समाजलाई रूपान्तरणको मार्गमा डोहोर्याउन सक्षम सारथी हुन् ।
इतिहास साक्षी छ, हरेक युगको परिवर्तनमा युवा पुस्ताको सामथ्र्य र बलिदान निर्णायक रहेको छ । २००७ सालको क्रान्तिमा हाँसीहाँसी प्राण उत्सर्ग गर्ने धर्मभक्त माथेमा हुन् वा पञ्चायतविरुद्ध झापा विद्रोहको राँको बाल्ने वीरेन राजवंशीहरु, अनि हालैको जेनजी आन्दोलनमा शहादत प्राप्त गर्ने झापाका गोपाल सेढाई, यी सबै पात्रहरू त्यही ‘जेनजी’ उमेरकै थिए । व्यवस्था परिवर्तनका लागि दश वर्षे जनयुद्ध होस् वा २०६२÷६३ को जनआन्दोलन, अग्रपङ्तिमा सधैँ नवयुवाहरू नै उभिने गरेका छन् । व्यवस्था परिवर्तनपछि समाजको अवस्था परिवर्तनको तीब्र आवाज घन्काइरहेको आजको जेनजी पुस्ता त्यही साहस र बलिदानी विरासतको उत्तराधिकारी हो ।
समाजमा अझै पनि ‘केटाकेटीले के जान्दछन् र’ भन्ने नयाँ पुस्ता लक्षित संकुचित सोच व्याप्त छ । तर, यो पुस्ता प्रविधिसँग खेल्छ, विश्वका घटनाक्रमलाई नजिकबाट नियाल्छ र परम्परागत रोजगारीको घेरा तोडेर सूचना प्रविधि, पर्यटन लगायत सामाजिक नेतृत्वमा आफ्नो बलियो उपस्थिति जनाउन अग्रसर छ । लोकतन्त्र पोस्ट म्यागेजिनले प्रकाशमा ल्याएका ‘जेनजी हिरो’हरू कुनै फिल्मी पर्दाका काल्पनिक पात्र जस्ता होइनन्, उनीहरू त कठोर सङ्घर्षको भट्टीमा खारिएर नवीन सोचका साथ सफलताको उडान भरिरहेका समाजका असली नायक हुन् भन्ने हाम्रो ठम्याई छ ।
सिङ्गो ‘जेनजी’ पुस्ताको त्याग, योगदान र उनीहरूको पौरखी हातलाई सम्मान गर्नु नै यस विशेषाङ्कको मूल ध्येय हो । योगदानको सम्मान र प्रतिभाको कदरले नै समाज विकासको यात्रा गतिशील बन्दछ । राष्ट्र निर्माणको महायज्ञमा होमिएका यी १५ जना मात्र होइन, समाजमा रहेका तमाम ‘जेनजी हिरो’हरूलाई लोकतन्त्र पोस्ट म्यागेजिन परिवारको हार्दिक सलाम !
(लोकतन्त्र पोस्ट म्यागेजिनबाट)
