मेचीनगर, १६ चैत । पत्रकारिता क्षेत्रलाई मर्यादित, विश्वसनीय र स्वतन्त्र तुल्याउन आज झापाका पत्रकारहरुले ११ बुँदे संकल्प गरेका छन् ।
नेपाल पत्रकार महासंघ झापा शाखाले महासंघको ७१ औं स्थापना दिवसको अवसर पारेर काँकरभिट्टामा आयोजना गरेको विशेष कार्यक्रममा लामो छलफलपछि ‘पत्रकारिताको शुद्धीकरण र सुदृढीकरणका लागि झापा संकल्प पत्र–२०८२’ पारित गरिएको थियो ।
नेपाल पत्रकार महासंघ झापाले पूर्व केन्द्रीय सदस्य मोहन काजीको संयोजकत्वमा संकल्प प्रस्तावको मस्यौदा गर्न पाँच सदस्यीय समिति गठन गरेको थियो ।
उक्त ११ बुँदे संकल्प प्रस्ताव कार्यक्रममा प्रस्तुत भएपछि आवश्यक परिमार्जनसहित सर्वसम्मत रुपमा पारित गरिएको शाखाका अध्यक्ष एकराज गिरीले बताउनुभयो ।
संकल्प पत्रमा पत्रकारिता क्षेत्रका बेथिति हटाउने, पत्रकार आचारसंहिताको पूर्ण पालना गराउने, पत्रकारिताको स्वच्छता र व्यवसायीकरण गर्ने, क्षमता विकासका कार्यक्रम ल्याउने र पत्रकारलाई जवाफदेही बनाउने लगायतका विषय समेटिएको छ ।
प्रस्तावका विषयमा कार्यक्रमको बन्द सत्रमा विषय केन्द्रित अन्तरक्रिया गरिएको थियो । अन्तरक्रियामा महासंघ झापाका पूर्व अध्यक्ष चिन्तामणि दाहाल, गणेश पोखरेल, सल्लाहकार राजेन्द्र गौतम, प्रेस चौतारी झापाका अध्यक्ष प्रदिप परियार, प्रेस युनियन झापाका सचिव तथा फोनिज झापाका अध्यक्ष अर्जुन राजवंशी, नारी सञ्चार गृहकी अध्यक्ष स्वस्तिका आचार्य, सञ्चारिका समूह झापाकी अध्यक्ष लीला अनमोल लगायतले पत्रकारिता क्षेत्रको सुधारका लागि सुझावहरु राख्नु भएको थियो ।
पत्रकारहरु गंगन ढकाल, प्रविण अधिकारी, राजबाबु शंकर, युवराज आचार्य, सन्तोष आचार्य, विजय भट्टराई, अनिल ढुंगाना, शिशिर चम्लागाईँ, सावित्रा दाहाल, उत्तम रिजाल, खगेन्द्र घिमिरे, देवेन्द्र प्रसाईं, उमाकान्त खनाल लगायतले आफ्ना सुझावहरु राख्नु भएको थियो ।
संकल्प पत्र मस्यौदा समितिको सदस्यमा महासंघ झापाका पूर्व अध्यक्ष तारामणि सापकोटा, अग्रज पत्रकार लोकराज ढकाल, महासंघका सल्लाहकार डिकेश लामा, उपाध्यक्ष विनिशा शर्मा र कोषाध्यक्ष मुक्ति पौडेल रहनु भएको थियो ।
अन्तरक्रिया कार्यक्रममा उपाध्यक्ष सुब्रत न्यौपानेले कार्यक्रमको आचारसंहिता प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय महासचिव चन्द्र भण्डारी, कोशी प्रदेश समितिका अध्यक्ष भरत खड्का, उपाध्यक्ष अम्बिका भण्डारी लगायतको उपस्थिति रहेको थियो ।
