मिश्रित खेती
मिश्रित खेती
झापा, १ वैशाख । मेचीनगर नगरपालिका–४, बाहुनडाँगीका कृषक रबि नेपाल एउटै जमिनमा २७ नगदेबाली लगाएर आधुनिक मिश्रित खेतीका उदाहरण बन्नुभएको छ ।
विगत १३ वर्षदेखि व्यावसायिक कृषिमा होमिनु भएको उहाँले आफ्नो १२ बिगाहा जमिनको हरेक कुनालाई उत्पादनसँग जोडेर मिश्रित नमुना खेती गर्नु भएको हो ।
चिया खेतीबाट कृषियात्रा सुरु गर्नु भएको उहाँले अहिले एउटै जमिनमा चिया, रबर, अगरउड, अमला, कटहर र तेजपत्ता जस्ता दर्जनौँ नगदे बालीलाई एकसाथ हुर्काइरहनु भएको छ । उहाँले पहिलो चरणमा चिया रोपेको र चिया बगानभित्र मिश्रित नगदे बाली हुर्काएको बताउनुभयो ।
उहाँको खेतीमा चियाले तीन वर्ष, अमलाले पाँच वर्ष, कटहरले चार वर्ष, रबरले पाँचौं वर्ष र तेजपत्ताले तेस्रो वर्षदेखि उत्पादन दिइरहेको छ ।
“सुरुमा लगानी र मेहनत बढी हुन्छ, खनजोतदेखि गोडमेल र बिरुवा हुर्काउन समय लाग्छ,” उहाँ भन्नुहुन्छ– “तीन वर्षपछि प्रतिफल सुरु हुन्छ र सात वर्ष पुग्दा सबै बालीले आय दिन थाल्छन् ।” अहिले उहाँको बगानमा २७ प्रजातिका नगदे बाली छन् । जसमा औषधीय गुण भएका अर्जुन, मोरिंगा, रुद्राक्षदेखि दैनिक भान्सामा चाहिने दालचिनी र कागतीसम्म पर्छन् ।
उहाँको खेती गर्ने शैली नौलो र लोभलाग्दो छ । ठूलो सुपारी बगानभित्र मरिचको लहलह खेती छ । मरिचका लहरा सुपारीकै बोटमा आश्रित भएर फलेका छन् ।
पछिल्लो समय उहाँले चिया बगानभित्र एउटा नयाँ प्रयोगको रुपमा नरिवल खेती सुरु गर्नु भएको छ । कृषि विज्ञहरूको सल्लाहमा उहाँले चिया बगानभित्र दुई दुई बुट्टा हटाएर नरिवलका बिरुवा रोप्न थालेको बताउनुभयो । चिया बगानभित्र घुसुवा बालीको रुपमा नरिवल खेतीको यो पहिलो प्रयोग हो । जसले झापाको कृषि पर्यटन र उत्पादनमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ ।
बाहुनडाँगी क्षेत्रका किसान वन्यजन्तु हात्ती, चितुवा र बाँदरको कारण प्रभावित छन् । चिया र नरिवल जस्ता बालीलाई हात्ती र बाँदरले खासै क्षति नपुर्याउने भएकाले यो बैकल्पिक खेतीको रुपमा किसानहरुलाई वरदान सावित हुने देखिएको छ ।
माटो परीक्षणले पनि पूर्वपश्चिम राजमार्गको बाहुनगाँडी, शनिश्चरे, बुधवारे लगायतको क्षेत्रमा नरिवल खेती उपयुक्त देखिएको नेपालले बताउनुभयो । एउटै नरिवलको बोटबाट वार्षिक रु. १७ देखि १८ हजारसम्म आम्दानी हुने उहाँको भनाई छ ।
उहाँले गत वर्षदेखि सुपारी बगानभित्र नरिवल रोप्न सुरु गर्नु भएको हो । “एक हजार बोट रोप्ने योजना छ, गत वर्ष ३०० बिरुवा रोपे,” उहाँ भन्नुहुन्छ– “यसवर्ष ७०० बिरुवा रोप्छु ।” नरिवलको पानीका लागि फल काँचैमा बिक्री हुन्छ । बजारमा नरिवल भित्रको पानी खानका लागि ठूलो माग रहँदै आएको छ ।
उहाँको १३ वर्षको मिश्रित खेतीको अनुभवमा नगदे बालीको उत्पादनमा बजारको कुनै समस्या छैन । सुपारी र तेजपत्ता बोटमै बिक्री हुन्छन् भने झापामै चिया र रबर प्रशोधनका प्रशस्त उद्योगहरू खुलिसकेका छन् । “बजार खोज्नु र पहिल्याउन चासो दिनुपर्छ, बारीमा उत्पादन गरेर घरमा उपरखुट्टी लगाएर बसेर मात्र हुँदैन,” उहाँ भन्नुहुन्छ– “एक बिगाहा जमिनमा व्यवस्थित मिश्रित खेती गर्ने हो भने वार्षिक रु. आठ देखि नौ लाख सहजै कमाउन सकिन्छ ।”
आफ्नै माटोमा पसिना बगाउने हो भने पैसा कमाउन युरोप वा अमेरिका धाउनु पर्दैन भन्ने गतिलो उदाहरण उहाँको सफल कृषि कर्म बनेको छ । उहाँ युवा पुस्तालाई मिश्रित खेतीप्रति आकर्षित गर्न राज्यले नै प्रोत्साहनको नीति तथा कार्यक्रम ल्याउनु पर्ने बताउनुहुन्छ ।
“तीन महिनामा कमाउनेलाई तरकारी, छ महिनामा चाहनेलाई अन्न र एक वर्ष कुर्नेलाई जडीबुटी ठिक छ,” उहाँ खेतीबाट हुने आम्दानीको अवधि बारेमा जानकारी दिदै भन्नुहुन्छ,– “तर, तीन चार वर्ष धैर्य गरेर मिश्रित खेती गर्ने हो भने यसले ५० वर्षसम्म निरन्तर आम्दानी दिइरहन्छ ।”