८ वैशाख २०८१, शनिवार

मनमोहन प्राविधिक र आसाम डाउन टाउन युनिभर्सिटीबीच सम्झौता

९ पुष २०७९, शनिवार
Image

मेचीनगर, ९ पुस । भारतको आसाम डाउन टाउन युनिभर्सिटी र विराटनगरको मनमोहन प्राविधिक विश्व विद्यालयबीच विभिन्न विषयमा सहकार्य गर्ने सम्झौता भएको छ । 

आसाम डाउन टाउन युनिभर्सिटीको सभाहलमा हालै आयोजित कार्यक्रममा मनमोहन प्राविधिक विश्व विद्यालयका रजिस्ट्रार डा.दिलनाथ फुयल र डाउन टाउन युनिभर्सिटीका भिसी डा.एन.सी तालुकदारले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर कार्यक्रममा मनमोहनका तर्फबाट डा.फुयल, विषयविज्ञ साई विजय रिजाल, मनोविमर्षक दिनेशकुमार पौडेल तथा डाउन टाउन युनिभर्सिटीका भिसी तालुकदार, प्रो. भिसी आरवी सिंह, डा.मिर्मोय वशाख, तनैया बम्जन र नेपालका कोर्डिनेटर शंकर भट्टराई, विद्यार्थी लगायत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

सम्झौता पत्रमा हस्ताक्षर गरेका डा.फुयलले प्राविधिक बिषयमा नेपाली विद्यार्थीहरुलाई दक्ष बनाउन यो एउटा कोसेढुंगा सावित हुने बताएकाछन् ।

सम्झौता पत्रमा दुवै पक्षका विद्यार्थीहरुलाई प्रोग्राम, फ्याकल्टी, प्यालेसमेन्ट लगायतका अन्य विषयमा सहकार्य गर्ने उल्लेख छ । यो सम्झौता ५ वर्षका लागि गरिएको छ ।

नेपालका युनिभर्सिटी र कलेजबाट विभिन्न तहको उच्च शिक्षाका लागि सहकार्य गर्ने कार्य भइरहेकोमा गर्भ महसुस भएको डाउन टाउन युनिभर्सिटीका भिसि तालुकदारले बताए ।

डाउन टाउन युनिभर्सिटीका नेपाल कोर्डिनेटर भट्टराईले यो सम्झौतापछि अब पोखरा युनिभर्सिटी, मोरंगको सुकुना बहुमुखी क्याम्पस लगायतका कलेजहरुसँग पनि निकट भविषयमा सहकार्यका लागि सम्झौता हुने बताएका छन् ।

यसअघि पनि युनिभर्सिटीले १०० जना नेपाली विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि पाँच करोड भारतीय रुपैयाँ बराबरको छात्रवृत्ति दिएको थियो । 

प्लस टुदेखि माथि स्नातकोत्तर तहसम्म छात्रवृत्ति योजना लागु गरेको भट्टराई भनाई छ । युनिभर्सिटीका लागि भट्टराईको लक्ष्मी एजुकेशनल कन्सल्टेन्सीले पनि समन्वय गर्दै आएको छ ।

पूर्वी सीमा काँकरभिट्टाबाट ५०० किलोमिटरको दूरीमा यो युनिभर्सिटी छ । उत्तरपूर्वी भारतको गुवाहाटीको बम्रपुत्र नदी नजिक रहेको सबैभन्दा ठूलो र सुविधा सम्पन्न युनिभर्सिटी हो । यो युनिभर्सिटीमा विभिन्न मुलुकका दश हजार भन्दाबढी विद्यार्थी पढ्छन् । 




लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।