१५ वैशाख २०८१, शनिवार

मागुरमाडीका १०० जनामा मुटुको समस्या

१५ पुष २०७९, शुक्रवार
Image

मेचीनगर, १५ पुस । मागुरमाडीका १०० जना स्थानीय मुटु रोगको समस्याबाट पीडित रहेको पाइएको छ ।

शुक्रबार मेचीनगर–९, मागुरमाडी स्थित हरि आधारभुत निमाविको परिसरमा आयोजित मुटु रोग सम्बन्धी एकदिने निःशुल्क स्वास्थ्य शिविरमा सेवा लिने स्थानीय महिला र पुरुषमा सो समस्या देखिएको हो ।

शिविरमा सेवा लिएका १०० जना मध्ये दुई महिलासहित ५ जनालाई तत्काल मुटुको शल्यक्रिया गर्न डाक्टरले सल्लाह दिएका छन् । 

विहान ९ वजेदेखि सुरु भएको शिविरमा मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले स्वास्थ्य जाँच गरेर उद्घाटन गरेका थिए । शिविर बेलुका ५ वजेसम्म सञ्चालन भएको थियो ।

आयोजक स्थानीय नारी कल्याणकारी विकास संस्था र प्राविधिक सहयोग बिर्तामोडको बिएण्डसी टिचिङ अस्पतालको रहेको थियो । 

शिविरमा बिएण्डसीका मुटु रोग विशेषज्ञ डाक्टर उमेशकुमार यादव, डाक्टरहरु प्रनय कुमार, हेमन्त साह लगायत स्वास्थ्यकर्मीहरुले विरामीहरुको उपचार सेवा प्रदान गरेका थिए । 

शिविरमा मुटुको ईसिजि, प्रेसर, सुगर जाँचका साथै औषधि समेत निःशुल्क प्रदान गरिएको संस्थाकी सचिव लक्ष्मी श्रेष्ठले जानकारी दिइन् । शिविरमा जम्मा ३०० जनाले सेवा लिएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि मेयर बुढाथोकी, बिएण्डसी अस्पतालका जनसम्पर्क प्रमुख प्रमिश गिरी लगायतले बोलेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका पूर्व क्षेत्रिय सभापति मणिकुमार उप्रेती, हरि निमाविका प्रधानाध्यापक रुद्र फुयल, थोप्लेविरान सामुदायिक वनका अध्यक्ष कृष्ण कोइराला, सञ्जिवनी महिला विकास संस्थाकी अध्यक्ष रेणुका डाँगी, बजार व्यवस्थापन समितिका प्रमुख भोगेन्द्र पराजुली लगायतको उपस्थिती रहेको थियो ।

नारी कल्याणकारी विकास संस्थाकी अध्यक्ष जानुका ओलीको अध्यक्षतामा सम्पन्न शिविरको सञ्चालन उपाध्यक्ष पुष्पा भण्डारीले गरेकी थिइन् ।



लेखकको बारेमा
Image
अर्जुन कार्की

लोकतन्त्र पोस्टका पूर्वसहकर्मी अर्जुन कार्की हाल मेचीनगर अनलाइनका सम्पादक हुनुहुन्छ ।