१५ वैशाख २०८१, शनिवार

परराष्ट्र मामिलामा कलम चलाउन तालिमको अभाव

२० पुष २०७९, बुधवार
Image

झापा, २१ पुस । परराष्ट्र मामिलाको रिपोर्टिङमा महिला पत्रकारहरुको सहभागिता किन कम छ ?

यस विषयमा मिडिया एडभोकेसी ग्रुप (म्याग)ले आज आयोजना गरेको भर्चुअल छलफलमा मिडिया क्षेत्रका अगुवाहरुले तालिम र प्रोत्साहनको अभाव रहेको धारणा राखेका छन् ।

परराष्ट्र मामिला एउटा बहुउपविधायुक्त समाचार रिपोर्टिङको चुनौतिपूर्ण विषय भएकाले यसमा रिपोर्टिङ गर्न अंग्रेजी, हिन्दी, बंगाली लगायतका अरु भाषा र विषयवस्तुको गहिरो ज्ञान र जनसम्पर्कको जरुरत हुने लोकतन्त्र पोस्टका सम्पादक तथा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहन काजीले बताउनुभयो ।

उहाँले मुलुकको सार्वभौमसत्ता, अखण्डता, वैदेशिक नीति, कुटनीति जस्ता सम्वेदनशील राष्ट्रिय सरोकारका विषय यसमा समेटिने भएको हुँदा समाचारको रिपोर्टिङ गर्दा विज्ञताको जरुरत हुने समेत धारणा व्यक्त गर्नुभयो । यसलाई अलग बिधाको रुपमा मिडियाले स्थान नदिने गरेको समेत उहाँले गुनासो गर्नुभयो ।

‘फरेन अफेयर्स सेक्टरमा रिपोर्टिङका लागि बहुभाषाको ज्ञान हुनुपर्छ । हामीकहाँ भाषामा दख्खल राख्ने पत्रकार (महिला र पुरुष दुबै) को कमी छ,’ उहाँले भन्नुभयो–‘जो भाषा जान्दछन्, उनीहरु पत्रकारिता जान्दैनन् । जो पत्रकारिता जान्दछन्, भाषामा पोख्त छैनन् । साँचो कुरा के हो भने जो भाषा र पत्रकारिता दुबैमा सक्षम छन्, उनीहरु एनजीओ र आइएनजीओमा जागिर खान गइहाल्छन् । पत्रकारितामा त्यस्ता दक्षहरु बसिरहँदैनन् ।’

परराष्ट्र मामिला सम्बन्धी रिपोर्टिङमा पत्रकार महिलाको सहभागिता बढाउनका लागि न्यूजरुम महिलामैत्री हुनु पर्ने, प्रोत्साहनको वातावरण बनाउनु पर्ने, डिप्लोमेटिक करेस्पोन्डिङ ट्रेनिङ सञ्चालन हुनुपर्ने उहाँले सुझाव दिनुभयो ।

भर्चुअल छलफल कार्यक्रममा झापाका काजीसहित गण्डकी प्रदेशका मुख्यमन्त्रीका प्रेस संयोजक तथा आदर्श समाज दैनिकका सम्पादक भरत कोइराला र मधेश प्रदेशका वरिष्ठ पत्रकार एवम् बीबीसी नेपाली सेवामा आवद्ध बृजकुमार यादवले विचार प्रस्तुत गरेका थिए ।

म्यागकी संयोजक एवम् वरिष्ठ पत्रकार बबिता बस्नेतले कार्यक्रमको विषयवस्तुमा प्रकाश पार्दै विचार प्रस्तोताहरुले दिएको सुझावका आधारमा महिला पत्रकारहरुलाई परराष्ट्र मामिला सम्बन्धी रिपोर्टिङमा सहभागिता बढाउन आवश्यक पहल गरिने बताउनुभयो ।

कार्यक्रमको सञ्चालन म्यागकी सुस्मिता शेर्पाले गर्नुभएको थियो ।