७ जेठ २०८१, सोमवार

सन्थालको सोहरायमा गौरीगञ्जले दियो सार्वजनिक विदा

२५ पुष २०७९, सोमवार
Image

झापा, २५ पुस । सन्थाल समुदायको महाव पर्वको रुपमा रहेको “सोहराय”को अवसरमा आज गौरीगञ्ज गाउँपालिकाले सार्वजनिक विदा दिएको छ । 

पालिकामा बसोवास गर्ने जातजाति मध्ये जनसंख्याको आधारमा दोस्रो बढी संख्या रहेको सन्थाल समुदायको यस महान पर्वमा प्रत्येक बर्ष सार्वजनिक विदा हुँदै आएको हो । 

सन्थाल समुदायले महान पर्व सोहराय छ दिनसम्म सांस्कृतिक रुपले पूजा गर्दै मिठो परिकार खाएर रमाइलो गर्दै मनाउने गरेको छ ।  सोहरायको पहिलो दिन आज ‘उम’ भनिन्छ । पहिलोदिन पारम्परिक सांस्कृतिक विधि अनुसार यस समुदायका मानिसहरुले नुहाईधुवाई गरी घर आगन सफा गरेर चोखिने नेपाल आदिवासी सन्थाल उत्थान संघ गौरीगञ्जका अध्यक्ष राइसिंह हेमरमले बताउनुभयो ।

उहाँका अनुसार समुदायका मूल पुजारी जागमनजीले गाउँको बाहरिपट्टि खुल्ला ठाउँमा बनाइएको थानमा ‘गड’ पूजा (चालमको मिठो, मेथी, सुपारी, लड्डु र कुखुराको बली दिएर) विधिपूर्वक गर्ने चलन छ । यसरी पूजा गरेको प्रसाद समुदायका सबै भेला भएर ग्रहण गर्ने चलन रहेको छ । जसलाई सन्थाली भाषामा ‘सुडे’ भनिन्छ । 

यो पर्वको दोस्रो दिनलाई ‘दाका’ भनिन्छ । दाकाकै दिन चेलीबेटी र पाहुनाहरुलाई निमन्त्रणा गरिएको हुन्छ र उनीहरुले ल्याएको कोसेली वितेका पूर्वजहरुलाई चढाइन्छ । समुयदायका युवायुवतीहरु यसदिन सोहराय नाच प्रस्तुत गर्छन् । सोहराय पर्वको तेश्रो दिनलाई ‘खुन्टोव’ भनिने उहाँले बताउनुभयो ।

सोहरायको चौथोदिन गाउँका मुखियासहित समुदायका मानिस समूह बनाएर घरघरमा गएर जाँड खाने चलन छ । जसलाई ‘जाली’ भनिने सन्थालहरु बताउँछन् । सोहरायको पाँचौ दिनलाई ‘हाकुकाट्कोम’ को रुपमा मनाइन्छ । यस दिन समुदायका मानिसहरुले विशेष गरी गाईगोरुसहित अन्य वस्तुभाउलाई जिस्काउँदै खेल्दै पूजापाठ गर्ने चलन रहेको छ । यही दिन स्थानीय खोला तथा पोखरीको माछा, गंगटो मारेर ल्याउने र खाने गरिन्छ । 

उनीहरुले पर्वको छैठौ दिनलाई ‘साकरात भन्ने गरेका छन् । यस दिन जंगलमा गएर शिकार गर्ने चलन रहेको छ । यसरी शिकार गरेर ल्याएको मासु सबैले बाँडीचुँडी खाने चलन रहेको अध्यक्ष हेमरमले बताउनुभयो ।

मोरङ, सुनसरी र झापामा बाहुल्य बसोवास रहेको यस समुदायको सबैभन्दा ठूलो यस पर्वमा स्थानीय सरकारसँगै केन्द्रीय सरकारले समेत सार्वजनिक विदा दिनुपर्ने माग गर्नुभएको छ ।