१४ वैशाख २०८१, शुक्रवार

कांग्रेसबाट 'लखेटिएका' सिटौला राप्रपाबाट मन्त्री

२५ पुष २०७९, सोमवार
Image

झापा, २५ पुस । धेरै पहिले जानै पर्दैन । प्रदेश नं. १ को मन्त्री नियुक्त भक्ति सिटौला राप्रपामा प्रवेश गर्नु अघि नेपाली कांग्रेसका चर्चित युवा नेता हुनुहुन्थ्यो ।

नेपाल विद्यार्थी संघका केन्द्रीय सहमहामन्त्री बनिसकेका उहाँ कांग्रेसभित्र जुझारु र सम्भावना बोकेका नेता हुनुहुन्थ्यो ।

जब उहाँ विद्यार्थी राजनीतिबाट कांग्रेसको मुख्य राजनीतिक भूमिमा प्रवेश गर्नुभयो, उहाँले गुट र उपगुटको अनेकन् हण्डर खेप्नु पर्यो । चुनावमा उहाँले चाहेजस्तो उम्मेद्वार बन्न टिकट पाउनै मुस्किल पर्यो ।

टिक्न खान नसक्ने अवस्था आएपछि उहाँले जीवनभर अँगालेको कांग्रेसको सिद्धान्त र पार्टीलाई चटक्कै छाडिदिनु भयो र राप्रपामा निःशर्त प्रवेश गर्नुभयो ।

धेरैले उहाँको त्यो निर्णय भावावेशको परिणाम ठानेका थिए भने उहाँको कदमबाट रुष्ट कतिपय कांग्रेसका नेताहरुले ‘पतनको बाटो’ रोजेको भन्न पनि भ्याए । दलबदलको यो कालखण्डमा उहाँलाई साथ दिनुभयो राप्रपाका तत्कालीन महामन्त्री राजेन्द्र लिङ्देनले । जो अहिले राप्रपाको अध्यक्ष नै बन्नु भएको छ ।

कांग्रेसमा अवसरबाट पाखा पारिएका सिटौला राप्रपामा भाग्यमानी सावित हुन थाल्नुभयो । उहाँ राप्रपाको केन्द्रीय सदस्य, सहमहामन्त्री र हाल केन्द्रीय प्रवक्ता नै हुनुहुन्छ ।

संसदीय राजनीतिमा कांग्रेसबाट कुनै अवसर र लाभ नपाउनु भएको उहाँले राप्रपामा प्रदेश सांसद् निर्वाचित हुने अवसर नै पाउनुभयो भने अहिले उहाँको हातमा मन्त्री नै परेको छ ।

खुला, सरल र शालिन स्वाभावका उहाँमा सबैसँग घुलमिल हुन सक्ने क्षमता छ । राजनीतिक सफलतको निरन्तर सिँढी चढिरहनु भएको उहाँ अब मन्त्री पदमा रहेर कतिको काबिल हुनुहुन्छ, हेर्न बाँकी छ ।