१ असोज २०८१, मङ्गलवार

हात्ती नियन्त्रणको समाधान खोज्न अमेरिकी टोली बाहुनडाँगीमा

२८ पुष २०७९, बिहिवार
Image

बहुनडाँगी,२८पु स । राष्ट्रिय प्रकृति संरक्षण कोषका कार्यक्रम प्रमुख डा.नरेश सुवेदी, उज्यालो नेपालका रमेश थापा, संविधान सभा सदस्य रविन कोइराला, अन्तर्राष्ट्रिय संस्था यु.एस. फिसका प्रतिनिधिहरुको टोली बुधबार झापाको बाहुनडाँगी पुग्यो ।

वर्षौदेखि हात्तीको समस्याबाट प्रताडित बनेका बाहुनडाँगी वासीले हात्तीका कारण भोग्नुपरको समस्या र त्यसकोे दिगो समाधानको उपाय खोज्न टोली बाहुनडाँगी पुगेको हो ।

बिहान ९ः३० बजे मेचीनगर ४ वडा कार्यालय पुगेको सो टोलीलाई ४ नम्बर वडा कार्यालयका वडाध्यक्ष अर्जुन कुमार कार्कीले स्वागत गर्दै हात्तीबाट बाहुनडाँगी वासीले भोग्नु परेको समस्या अवगत गराउनुभएको थियो ।  

वडाध्यक्ष कार्कीले सोलार फेन्सिङले केही हदसम्म हात्ती नियन्त्रण भएको भएपनि पछिल्लो समय सोलार फेन्सिङ विग्रीन थालेको र समयमा मर्मत नहुँदा पुनः हात्तीको उपद्रो बढेको र जनजीवन थप प्रभावित हुँदै गएको जानकारी दिनुभयो ।

प्रकृति संरक्षणको अभियानमा लामो समय काम गरेका वडाध्यक्ष कार्कीले हात्ती र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्न दीर्घकालिन योजना बनाएर अघि बढनुको विकल्प नभएको बताउनुभयो । बाहुनडाँगी लामो समयदेखि प्रकृति संरक्षण अभियानमा अघि बढेको उहाँको भनाइ छ ।

बाहुनडाँगीमा दैनिक जसो हुने मानव र हात्ती द्वन्द्वलाई न्यूनीकरण गर्न वडाले न्यूटन कार्कीको संयोजकत्वमा ३१ सदस्यीय रेपिड रेस्पोन्स टिम गठन गरेर काम सुरु गरेको वडाध्यक्ष कार्कीले टोलीलाई बताउनुभयो ।

रेपिड रेस्पोन्स टिमले पहरेदारको काम गर्दै आएको र यसले मानव र हात्ती द्वन्द्वलाई केही हदसम्म घटाएको रेपिड रेसपोन्स टिमका संयोजक कार्कीले जानकारी दिनुभयो । उहाँले हरेक रात आफ्नो टिम न्यूनिकरण गर्न हात्तीको निगरानीमा खटिरहेको बताउनुभयो ।

बहुनडाँगीमा मानव र हात्ती द्वन्द्वलाई न्यूनीकरण अभियानमा लामो समयदेखि काम गर्दै आएका शंकर क्षेत्री लुइटेलले बाहुनडाँगी बासीको ओठमा मुस्कान ल्याउन दीगो समाधानको बाटो अपनाउन सुझाव दिनुभयो ।

छलफको क्रममा संविधान सभा सदस्य कोइरालाले भारतबाट नेपाल प्रवेश गर्ने हात्ती नियन्त्रणको लागि विभिन्न प्रयास भएपनि त्यो दीगो र प्रभावकारी हुने नसकेको जानकारी गराउनुभयो । कोइरालाले हात्तीबाट भएको क्षतिलाई मूल्याङ्कन गरेर राहत दिने भरपर्दो विधि नहुँदा हात्ती पीडित किसानले उचित राहत पाउन नसकेकोले बताउनुभयो । उहाँले हात्ती नियन्त्रणको लागि तटबन्धन एक मात्र भरपर्दो उपाय भएकोले त्यस तर्फ लाग्न सरोकारवाला निकायलाई अनुरोध गर्नुभयो ।

सो अवसरमा जनप्रतिनिधि र स्थानीयहरुले उठाएका समस्याको बारेमा नरेश सुवेदीले अमेरिका तथा फ्रान्सबाट आएका प्रतिनिधिलाई अंग्रेजी भाषामा प्रस्ट्याउनुभयो ।

सो अवसरमा स्थानीय पुष्कर ढकालले मानव हात्ती द्वन्द्वका कारण बालबालिकामा समेत मनोबैज्ञानिक असर पर्न थालेको जानकारी गराउनुभयो ।

प्रतिनिधिको टोलीले मानव- हात्ती द्वन्द व्यवस्थापन समितिलाई समेत भेटेको थियो ।