८ मंसिर २०८१, शनिवार

झापामा जडिबुटी खेती

लिटरकै तीन लाख पर्ने अगरउड र सेतोचन्दनको खेती सुरु

४ माघ २०७९, बुधवार
Image

झापा,  माघ । अर्जुनधाराका डम्बर चौधरीले गत वर्ष पाँच बिगाहा जग्गामा पचौली नामक जडिबुटीको खेती सुरु गर्नुभयो । रोपेको तीन महिनापछि यसको बुट्यानबाट घाँस काटेर विक्री गर्न थाल्नुभयो ।

यसको काँचो घाँस प्रति केजी रु. २० र सुकेको घाँस रु. १०० मा विक्री हुने भएकाले पचौली खेतीको आम्दानीबाट सन्तुष्ट रहेको उहाँले बताउनुभयो ।

मेचीनगर–१४ दुहागढीमा २०७० सालमा कुलायन नेचुरल हर्बल प्रालि स्थापना भएपछि चौधरीले जस्तै मेचीनगर, अर्जुनधारा, भद्रपुर र बुद्धशान्ति पालिकाका कृषक तथा सामुदायिक बनहरुले पचौली र लेमनग्रासको खेती ठूलो मात्रामा थालेका हुन् ।

कुलायन नेचुरल हर्बल उद्योग आफैले पनि ५० बिगाहा जग्गा भाडामा लिएर उद्योग सञ्चालन र जडिबुटी खेती गरिरहेको छ । कालो हर्दी, युकिलिप्टस (मसला), तेजपत्ता, नगरमोथे, बोझो, भेटिबर, लेमनग्रास, सिट्रोनेला, पामरोजा, पचौली लगायतका जडिबुटीजन्य बनस्पतिलाई प्रशोधन गरेर उद्योगले सुगन्धित तेल उत्पादन गर्दै आएको छ ।

उद्योगले उत्पादन गरेको सुगन्धित तेल सीधै यूरोप र अमेरिका निर्यात हुन्छ । गत वर्ष सरकारले विदेशी मुद्रा भित्राउन योगदान पुर्याए वापत उद्योगलाई सम्मान गरेको थियो ।

उद्योग आफैले सुरुमा विद्यालयको खाली जग्गा भाडामा लिएर जडिबुटी खेती थालेको थियो । उद्योगले स्थानीय कृषकहरुलाई समेत आम्दानी लिन हौसला बढाएपछि मेचीनगरको वडा नंं १०, १३, १४ र १५ मा धानखेत मासेर किसानहरुले जडिबुटीका विरुवा रोप्न थालेका हुन् । 

“थोरै जमिनमा थोरै लगानी गर्दा धेरै आम्दानी गर्न सकिन्छ भन्ने थाहा पाएपछि मैले पनि सुरुमा दुई बिगाहामा पचौली रोपेँ,” अर्जुनधाराका डम्बर चौधरीले भन्नुभयो–“दुहागढीको हर्बल उद्योगले पचौलीको घाँस किनिदिन्छ । आयस्ता राम्रो हुन थालेकाले खेती विस्तार गरेर पाँच विगाहामा लगाएको छु ।”

सामुदायिक बनमा खेती विस्तार

झापाको अर्जुनधाराकै जुकेखाडी सामुदायिक बन र भद्रपुरको कमलधाप सामुदायिक बनले जडिबुटी खेतीमा लगानी गरेका छन् । बीस बिगाहाबाट सुरु भएको यस्तो खेती अहिले पाँच सय बिगाहामा विस्तार भइसकेको छ ।

जुकेखाडीले दश बिगाहा र कमलधापले एक सय बिगाहा बन क्षेत्रमा लेमनग्रासको खेती गरेको छ । लेमनग्रासको घाँस काटेर उद्योगमा विक्री गरिदै आएको छ । जसलाई मेसिनमा पेलेर सुगन्धित तेल उत्पादन गरिन्छ ।

मेचीनगर–१४ कै बाल सुबोधिनी माध्यमिक विद्यालयको बाँझो रहेको २० बिगाहा जग्गा वार्षिक रु. एक लाख ५० हजार बुझाउने शर्तबन्धमा ४० वर्षका लागि उद्योगले भाडामा लिएर ११ वर्षदेखि खेती गर्दै  आएको छ ।

जहाँ मसाला, तेजपत्ता, कालो हर्दी, भेटिबर, नगरमोथे, सिट्रोनेला लगायतका जडिबुटीका रुख र घाँसको जंगल हुर्किसकेको छ । अरु एक सय बिगाहा जग्गा खेती विस्तारका लागि खोजी गरिरहेको उद्योगका सञ्चालक भरत बस्नेतले बताउनुभयो ।

“सुरुमा हामीले जग्गा लिजमा लिएर जडिबुटी रोपण गर्यौं, अहिले किसानहरु आफै म पनि खेती लगाउँछु भन्दै आउन थाल्नु भएको छ,” उद्योगी बस्नेतले भन्नुभयो–“किसानहरुले जति धेरै उत्पादन गरे तापनि किनिदिने ग्यारेन्टी उद्योगका तर्फबाट गरिदिएका छौं । खेतीका लागि प्राविधिक र विरुवा सहयोग समेत गरिरहेका छौं ।”

नौं वर्षमा झापाका ६० जनाभन्दा बढी स्थानीय किसानहरु र आधा दर्जन सामुदायिक बन जडिबुटी खेती अभियानमा जोडिनुभएको र पाँच सय बिगाहाभन्दा बढी जग्गामा यसको खेती फस्टाइरहेको उहाँले जानकारी दिनुभयो ।


महँगो अगरउडको खेतीमा लगानी

हर्बल उद्योगले संसारकै महँगो मानिएको अगरउड (सुगन्धित काठ)को व्याबसायिक उत्पादन गर्ने महत्वाकांक्षी परियोजना सुरु गरेको छ ।

सञ्चालक बस्नेतका अनुसार हाल उद्योगले दुई हजार वटा सेतोचन्दन (सुगन्धित काठ)को विरुवा रोपेर हुर्काइरहेको छ । यसले उत्पादन दिन १५ वर्ष कुर्नुपर्छ ।

“सेतो चन्दन र अगरउडको उत्पादन गर्न सकियो भने महँगोमा अन्तर्राष्ट्रिय बजारमा बेच्न सकिन्छ भनेर हामीले इच्छुक किसानहरुलाई प्रोत्साहित गरिरहेका छौं”– उद्योगी बस्नेतले भन्नुभयो । 

उद्योगले किसानहरुलाई विक्री वितरण गर्नका लागि हाल आफ्नो नर्सरीमा एक लाख अगरउडका विरुवा हुर्काएको छ । किसानलाई ती विरुवा दिएर उत्पादन खरिद गर्ने उद्योगले योजना बनाएको छ ।

उहाँका अनुसार भविष्यमा उद्योग आफैले अगरउडको तेल निकाल्ने अलग्गै कारखाना स्थापना गर्ने सोच बनाएको छ । अगरउडको तेल अन्तर्राष्ट्रिय बजारमा रु. तीन लाख प्रति लिटरका दरले अहिले विक्री भइरहेको छ ।

उद्योगमा हाल विभिन्न जडिबुटी पेलेर तेल उत्पादन हुँदै आएको छ । छ वटा भेसल भएको उद्योगले आठ घण्टामा एउटा भेसलमा जडिबुटीजन्य काँचो घाँस ५०० केजी र सुख्खा घाँस ३०० केजी प्रशोधन गर्दछ ।

“सुगन्धित साबुन र अरु केही हर्बल सामान उत्पादकहरुले अलिअलि खरिद गरेर लैजानुहुन्छ,” उद्योगी बस्नेत भन्नुहुन्छ–“हामीले उत्पादन गरेको अधिकांश तेल यूरोप र अमेरिका निर्यात हुन्छ । विदेशी मुद्रा भित्रिने भएकाले मुलुकलाई पनि फाइदा निकै पुगेको छ ।”

उद्योगले वार्षिक तीन हजार लिटर मसालाको तेल, दुई हजार पाँच सय लिटर लेमनग्रासको तेल, दुई हजार पाँच सय लिटर सिट्रोनेलाको तेल, एक हजार दुई सय लिटर पामरोजाको तेल र आठ सय केजी पचौलीको तेल उत्पादन गर्दै आएको उहाँले जानकारी दिनुभयो । कारखाना र नर्सरीमा गरेर उद्योगमा ५० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

नेपालको आर्थिक समृद्धि हासिल गर्नका लागि जडिबुटी उद्योगको विकास र विस्तार अनिवार्य रहेको धारणा व्यक्त गर्नुहुन्छ ग्लोबल एग्रो एन्ड नर्सरी प्रालिका सञ्चालक दिपक नेपाल । उहाँले यो उद्योग अन्तर्गत हाल पाँच विगाहामा जडिबुटीको नर्सरी व्यवसाय सुरु गर्नुभएको छ ।

विरुवा सहजै किन्न पाइने र उत्पादनले अरु बालीभन्दा तेब्बर आम्दानी दिने भएकाले झापामा जडिबुटीको खेतीतर्फ मध्यम किसानहरु आकर्षित हुँदै गएको उहाँको भनाई छ । पाँच बिगाहाभन्दा धेरै जग्गा भएका किसानले अन्नबाली लगाउन जनशक्ति र लागत धेरै पर्ने भएकाले जडिबुटी खेतीमा धेरै फाइदा देखेको उहाँ बताउनुहुन्छ ।

वातावरणलाई हरियाली राख्ने, जीवनस्तरमा सुधार आउने र राष्ट्रिय समृद्धिको लक्ष्य हासिल गर्नका लागि टेवा पुर्याउने क्षेत्र जडिबुटी भएको जनाउँदै उहाँले यसमा संघ, प्रदेश र स्थानीय तहको सरकारले प्रोत्साहन दिनुपर्ने सुझाव राख्नुभयो ।

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।