१६ चैत २०८०, शुक्रवार

रमिताले निम्तिएको प्रश्न

क्यामरा तेर्स्याउँदै उर्लिन्छ भीड, कसरी गर्नु उद्धार ?

६ माघ २०७९, शुक्रवार
Image

झापा, ६ माघ । यति एअरलाइन्सको विमान आइतबार पोखरामा दुर्घटनापश्चात हल्लाखल्ला मच्चियो । घनाबस्ती बीचको सेती खोंचमा दुर्घटनापछि धुवाँको मुस्लो उडिरहेको थियो र मुस्लोतिरै मानिसहरु दौडिरहेका थिए ।

दुर्घटना भएको स्थान थियो, पोखरा बसर्पाकको दक्षिण र पुरानो विमानस्थलको पूर्व क्षेत्र सेती खोंच । पृथ्वीचोक, बुद्धचोक, विरौटा चोकबाटै हुलका हुल मानिस र सवारी साधन घटनास्थलतिरै दौडिरहेका थिए ।

दुर्घटना लगत्तै पोखरा बसपार्कबाटै जाम सुरु भइहाल्यो । घटनास्थल नजिकै रहेको मितेरी पुल र सीताराम पुलबाट त एम्बुलेन्स नै छिर्न नसक्ने गरी भीड बढेको थियो । रामबजारतिरबाट छिर्ने सडक मान्छेकै भीडले ठेलमठेल बन्यो ।

घटनास्थल यस्तो देखियो, सेती खोंचमा जहाज दुर्घटना होइन, कुनै मेला लागिरहेको छ र मान्छेहरु मेला भर्न हिँडिरहेछन् ।

रामबजार हुँदै मितेरी पुल भएर जाने बाटो त्यही सडक हो, जसलाई पोखरा महानगरपालिकाले अन्तर्राष्ट्रिय विमानस्थलबाट विरौटा, लेकसाइड जाने वैकल्पिक सडकका रुपमा अगाडि सारेको छ । पोखरा जोड्ने पुरानो चाइनिज पुलले अहिलेकै ट्राफिक जाम धान्न नसक्ने भइसक्यो । यस्तो अवस्थमा वैकल्पिक सडक र गतिलो पूर्वाधार तथा तयारी नहुँदा विमान दुर्घटनापछि उद्धारमा कठिनाइमात्रै खेप्नु परेन, दुर्घटनामा परेका मानिसहरु जिवितै उद्धार गर्ने सम्भावनालाई समेत जोखिममा राखिदियो ।

दुर्घटना भएको १० मिनेटभित्रै स्रोत र साधनसहित घटनास्थलतर्फ लागेको नेपाल प्रहरीको रेस्क्यु टिमलाई नै भीड छिचोल्दै पुग्न २५ मिनेटभन्दा बढी लाग्यो । गण्डकी प्रदेश प्रहरीका रेस्क्यु कमाण्डर वरिष्ठ हवल्दार श्यामकान्त श्रीवास्तव उद्धारमा खेपेको कठिनाइबारे सुनाउँछन्, ‘मान्छेको चापका कारण हामी छिटो पुग्न सकेनौं । अफिसबाट विरौटासम्म पुग्दा मान्छेको चाप यति धेरै भयो कि उद्धारको स्रोत साधन बोकेको हाम्रो गाडी घटनास्थलसम्म पुग्नै सकेन ।’

नेपाल प्रहरीमात्रै होइन, सशत्र प्रहरी बल र नेपाली सेनाको विशेष तालिम प्राप्त रेस्क्यु टिमलाई नै साँघुरो संरचनामा भीड छिचोल्दै घटनास्थल पुग्न अर्को तालिम लिनुपर्नेजस्तो दुःखदायी परिस्थिति सिर्जना भएको उनीहरुको दुखेसो छ ।

शहरकै बीचमा रहेको घटनास्थल, पुरानो विमानस्थलसँगै जोडिएको ठाउँ र त्यसमाथि पनि पृथ्वीराजमार्गको वैकल्पिक बाटोका रुपमा अघि सारिएको सडक तथा सुगम ठाउँमै उद्धारमा भएको कठिनाइले पोखराको हविगत देखिएको सरोकारवालाको चिन्ता छ ।

सडक संरचना यस्तो छ कि एउटा वारुणयन्त्रले सेतीमाथिको पुल काट्नसमेत हम्मेहम्मे पर्यो । २ वटा एम्बुलेन्सले एकै पटक बाटो काट्न सक्ने अवस्थासमेत देखिएन । त्यही बाटो पनि सहज र फराकिलो भइदिएको भए आइतबार दुर्घटनापश्चात गएको उद्धार टोली समयमै पुग्न सक्ने र निकालिएका शवलाई पनि ठाउँमा पुर्याउन सहज हुने उद्धारमा खटिएका सुरक्षाकर्मी सुनाउँछन् ।

अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै त्यसलाई धान्न सक्ने वाह्य पूर्वाधार पनि सँगसँगै निर्माण भइदिएको भए पनि उद्धारमा यो सास्ती खेप्नुपर्ने थिएन । उद्धारका निम्ति हाम्रो संयन्त्र, पूर्वाधार र तयारी कति चुस्त छ भन्ने कुराको पाठ दुर्घटनाले दिएको सरोकारवालाहरु बताउँछन् ।

पोखराका पर्यटन व्यवसायी वासु त्रिपाठी भन्छन्, ‘कुनै पनि दुर्घटना पूर्वसूचना दिएर त आउने होइन । तर, कम्तिमा घटना भइसकेपछि त्यसलाई सामना गर्न हामी तयारी अवस्थामा रहन सक्छौं । पोखराको बीचमा विमान दुर्घटना भएर पनि सबैभन्दा कठिन ठाउँमा भएकोजस्तो भयो ।’

त्रिपाठीले पोखराका बाटो साँघुरो भएको सुनाए । उनी दमकल, एम्बुलेन्सजन्य अत्यावश्यक सवारी साधनका लागि सधैं तयारी अवस्थामा रहने गरी संरचनाको निर्माण गरिनुपर्ने सुझाउँछन् ।

सुरुमा वारुणयन्त्र सेती वारि अर्थात् पोखरा वडा नं. ७ दिशाबाट लगिएको थियो । तर, त्यहाँबाट सम्भव नभएपछि वारुणयन्त्र सेती पारि पोखरा वडा नं. १५ तर्फ लागेर बल्ल फोहोरा फाल्न थालेको थियो ।

‘हुन त शहरको बीचमा दुर्घटना भएकाले छिटै धेरै मान्छेहरु जम्मा भइसकेका थिए । उनीहरुको मोटरसाइकल र स्कुटरले बाटो भरिइसकेको थियो,’ उद्धारमा खटिएका एक उद्धारटोली सदस्यले भने, ‘बाटो राम्रो र फराकिलो भइदिएको भए अझै छिटो आउन सक्ने सम्भावना रहन्थ्यो । त्यहीअनुसार प्लान बन्थ्यो ।’

उद्धारमा ३ विभागीय टोली नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मी संयुक्त रुपमा खटिएका थिए । माघ १ गते भएको दुर्घटनामा हालसम्म आधिकारिक ७० शव फेला परेका छन् । पछि मंगलबार फेला परेका २ वटा शव नचिनिने अवस्थामा रहेकाले पुष्टि हुनै बाँकी छ । उक्त शवको डीएनए रिपोर्टपछि मात्रै यात्रुको शव हो वा होइन भन्ने थाहा लाग्नेछ ।

पहिलो दिन आइतबार ६३, दोस्रो दिन सोमबार ७ र तेस्रो दिन २ (पुष्टि नभएको) शव फेला परेको थियो । काठमाडौंदेखि पोखराका लागि उडेको उक्त जहाजमा ४ जना चालक दल र ६८ जना यात्रुसहित ७२ जना सवार थिए ।

भौगोलिक हिसाबले देशकै ठूलो महानगर । सेवासुविधा एवं संरचनाका हिसाबले समेत सम्पन्न मानिएको शहर । त्यसमाथि गण्डकी प्रदेशकै राजधानी । तर, त्यही शहरमा भएको विमान दुर्घटनामा भने उद्धार टोली करिब आधा घन्टापछिमात्रै पुग्न सक्छ ।

बाक्लो फराकिलो र सोहीअनुसार आवश्यक संरचना बनाउनुपर्ने माग पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सुरु हुनुअघिबाटै कुरा उठ्दै आएको थियो । सरोकारवाला निकायले अन्तर्राष्ट्रियस्तरको उडानका लागि पोखराको पूर्वाधारलाई सुधार नगरी सञ्चालन गर्न नहुने बताउँदै आएका थिए ।

(अनलाइन खबर)