१३ वैशाख २०८१, बिहिवार

पार्टीभित्रै रबिको आलोचना–‘मिडियामाथि खनिदा घाटा’

२४ माघ २०७९, मङ्गलवार
Image

झापा, २४ माघ । मिडियामाथि खनिदा पार्टीलाई घाटा भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकमा सभापति रवि लामिछानेको आलोचना भएको छ ।

पार्टीका सभापतिले दिएको अभिव्यक्तिको बचाउ समेत गर्न नसक्ने अवस्था आएको भन्दै रास्वपाका नेताहरुले रविलाई आत्मालोचना गर्न सुझाव दिएका छन् ।।

रास्वपाले आइतबार सरकार छाड्ने, तर समर्थन कायमै राख्ने निर्णय गरेको थियो । लगत्तै पार्टी कार्यालय, बसुन्धरामा आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछाने सञ्चार माध्यममाथि खनिनु भएको थियो । 

सोमबार यही विषयमा पार्टीको बैठक बसेको थियो । जहाँ नेताहरुले रविको आलोचना गरे । बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्य र सांसदहरुले सभापतिले पत्रकार सम्मेलनमा दिनुभएको अभिव्यक्तिले सार्वजनिक वृत्तमा राम्रो सन्देश नगएको बताउनु भएको थियो ।

प्रमुख सचेतक सन्तोष परियारले ‘तपाईँले दिएको अभिव्यक्तिले पार्टीलाई घाटा भयो, आत्मालोचना गर्नुहोस्’ भन्नु भएको थियो । 

अर्का सांसद गणेश पराजुलीले बुद्धिजिवी वर्गलाई चिढ्याउने काम मात्र भएको बताउँदै उहाँ भन्नुभयो–‘तपाईँँको अभिव्यक्तिले हामीप्रति उनीहरु निराश भए । यसले गलत सन्देश गएको छ ।’

सांसद मनिष झाले गृहमन्त्री नपाएकै कारण सरकार छाडेको भनेर सन्देश जानु कमजोरी भएको बताउनु भएको थियो । 

उहाँले भन्नुभयो–‘यही कुरा दुई तीन दिन अगाडि भनेको भए गृह नपाएर सरकारबाट बाहिरियो भन्ने सन्देश जाँदैनथ्यो ।’ 

बैठकमा सभापति रविले रिस धेरै उठेकाले बोलेको स्पष्टिकरण दिनुभएको थियो ।