११ वैशाख २०८१, मङ्गलवार

राजेश ढुंगानाको कविता

'मेरो वर्त्तमान'

२९ माघ २०७९, आइतवार
Image

(यस पटक हामीले सशक्त झापाली कवि राजेश ढुंगानाको कविता छापेका छौं । विगत बयालीस वर्षदेखि कविता लेखिरहनु भएका उहाँको त्यति नै लामो राजनीतिक जीवन र पत्रकारिता जीवन रहेको छ । २०३६ सालतिर मेची क्याम्पसको छात्र नेता हुँदा उहाँको भाषण सुन्न विद्यार्थीहरु लालायित हुन्थे ।

२०३६ सालदेखि नै लेखन र पत्रकारितामा सम्लग्न उहाँ कुनै बेलाका प्रसिद्ध पत्रिकाहरु सुरुचि, देशान्तर, विमर्श, स्पेसटाइममा आबद्ध हुनुहुन्थ्यो भने अफ्सेटबाट निस्केको पहिलो पत्रिका साप्ताहिक जनमञ्चको चाहिँ सम्पादक नै हुनुहुन्थ्यो । उहाँभन्नु हुन्छ–‘राजनीतिमा पत्रकारिता मुछिन्न, साहित्यमा राजनीति र पत्रकारिता मुछिन्न’ –सम्पादक)

मेरो वर्तमान

—राजेश ढुंगाना

टक्...
टक्...टक्...
टक्...टक्... टक्...
टक्...टक्...टक्...टक्...
बुटको
आवाज आएको छ
अन्धकारमा खलनायकको
अँध्यारोमा
नायकको आभाष धुमिल
रातमा केवल
खलनायकको धुमिल
आकृति हुन्छ
केवल खलनायकको राज हुन्छ

Ÿ

अस्पष्ट र
ओझेलमा ऊ रहन्छ दृश्यमा
आउँदैन कहिल्यै
र कहीँ पनि
खलनायक
मेरो वर्तमानको बस्तीमा
लुसुलुुसु पस्छ
र, डसिसकेर मलाई
सर्पले झैं
हिँड्ने बेलामा
बाघले झैँ हुङ्कार बोल्छ
हिजो ऊ मान्छेलाई
पहिरो झैं
भत्काउँथ्यो पक्–पक्ती
अहिले पनि
मान्छेलाई
निबुवा झैं
खोस्टा निचोरिरहेछ
च्याप्–च्याप्ती

Ÿ

न यसको
कुनै निश्चित
रूप छ
न यसको
कुनै स्पष्ट आकृति नै छ
यसलाई
ढोका पनि नचाहिने छिर्न
झ्याल बन्द भए पनि
नरोकिने पस्न
छक्याउँछ मान्छेलाई
यहाँ आउँछु भनेर
पासो थापेर बस्यो
अनायास
पल्लो बस्तीमा पस्छ
त्यहाँ अर्को पल्ट
रातभर
जाग्राम ढुकेर बस्यो
आफ्नै गाउँमा पो
छिर्छ

Ÿ

अहिले पनि
मेरो वर्तमानको
बस्तीमा
रात परेको छ
खलनायक पसेको छ
हरेक पल
वर्तमानको ऐनामा 
मेरो देश
विरूप–वीभत्स रूपमा
छर्लङ्गै
देखिने गरी
मुर्दाघाटको
लावारिस लाश झैं
डङ्रङ्ग लडेको छ
उत्तानो परेर
टक्...टक्...टक्...
बुटको
आवाज आएको छ
निरन्तर
र आजाव सँगसँगै
लामो क्रन्दन र
सहस्र
चित्कार सुनिएको छ
कहीँ कुनै सीता बलात्कृत भइन् कि
कतै कोही रामको हत्या भयो ?
पर–परसम्म
न कतै
कुनै लक्ष्मणको
सुइँको छ
टाढा–टाढासम्म
न कतै
कुनै हनुमानको
चालचुल देखिन्छ
चुपचाप
नेपथ्यमा म
कानले
लाचार क्रन्दन
सुनिरहेछु निरन्तर
र चित्कार भोगिरहेछु
छातीले–छातीमा
तर
म एक्लो मान्छे
कसको के नै
भत्काउन सक्छु ?
कसको के नै चाहिँ
बिगार्न सक्छु ?

Ÿ


मेरै छेउमा
मेरै वरिपरि
शायद मेरो
नपुङ्सकतासँग
लगातार अट्टहास गरिरहेछ
टक्...
टक्...टक्...
टक्...टक्...टक्...
टक्...टक्...टक्...टक्...
खलनायकको
बुटको आवाज निरन्तर
आइरहेछ
यतिबेला उसले
मेरो इतिहासको
सिङ्गै
पुस्तक पनि
च्यात्न सक्छ
भूगोलको जम्मै
नक्सासमेत नै पनि
मेट्न सक्छ
टक्...टक्...
टक्...टक्...टक्...
निरन्तर आवाज आएको छ
खलनायकको बुटको
लगातार
टक्...टक्...टक्...टक्...

... ... ...